अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५८ | Colorodo: 13:13

“राजनीतिक दलहरूबीच समझदारी आवश्यक” – प्रचण्ड

बिआरटीनेपाल २०७७ चैत २५ गते ७:५६ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान र व्यवस्था बचाउनका निम्ती राजनीतिक दलहरूबीच समझदारी आवश्यक रहेको बताउनुभएको छ । सल्यानमा आयोजित कार्यक्रममा उहाँले कम्युनिस्ट एकताका साथै राजनीतिक दलहरूबीचको समझदारी जरुरी रहेको बताउनुभएको हो ।
कम्युनिस्ट आन्दोलनको एकता अहिले पनि जरुरी रहेको उल्लेख गर्दै उहाँले मुलुकमा विभिन्न जालझेल रहेकाले जनता र राष्ट्रको पक्षमा शक्ति निर्माण गर्ने आफ्नो उद्देश्य रहेको बताउनुभयो । राजनीतिक दलहरूबीच सरकार गठनका लागि एकता नभइरहेका बेला प्रचण्डको यो अभिव्यक्ति आएको हो ।

त्यस्तै, अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले फागुन २३ गते नेकपा नामसम्बन्धि विवादको फैसलामा भन्नै नहुने कुरा भनेको टिप्पणी गनुृभयो । सर्वोच्च अदालतले नेकपा नामको पार्टीमा ऋषि कट्टेलको हक लाग्ने भन्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँताइदिएको थियो । नेकपाको संसदीय दलको बैठकको बहुमतले दलको नेताबाट ओलीलाई हटाएको सूचना संघीय संसद् सचिवालयमा बुझाएको एकछिनमा सर्वोच्चले त्यस्तो फैसला गरेको र उक्त फैसलाले गर्दा मात्रै एमाले र माओवादी नेताहरू विभाजित हुनुपरेको प्रचण्डले बताउनुभयो ।

असंवैधानिक रूपमा प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटनको लडाइँ जितेको तर त्यसपछि भने पार्टी विभाजन हुन पुगेको उहाँले बताउनुभयो । दलको नेताबाट हटाएपछि प्रधानमन्त्री हट्ने संवैधानिक व्यवस्था भएको भएपनि एमाले र माओवादी ब्युँताउनु बिडम्बना भएको प्रचण्डको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू