अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५८ | Colorodo: 17:13

थ्री स्टारलाई ४–० ले हराउँदै पुलिस आहा रारा गाेल्ड कपकाे अन्तिम चारमा

बिआरटीनेपाल २०७७ चैत २४ गते ९:१९ मा प्रकाशित

पोखरामा भइरहेकाे १९ औँ संस्करणको आहा रारा गोल्ड कप प्रतियोगिताकाे सेमिफाइनल समीकरण पूरा भएको छ । पोखरा रङ्गशालामा मङ्गलवार नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई चार–शून्यले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्दा सेमिफाइनल समीकरण पूरा भएको हो । वाग्मती गोल्ड कपको उपाधि जितेर पोखरा भ्रमण गरेको टोली थ्री स्टारलाई पुलिसले पराजित गरेर अफ्रिकन रुटसँगकाे भेट पक्का गरेको हो ।

सुरुवातबाट नै दबाब दिएर खेलेको पुलिसले खेलकाे २९ औँ मिनेटमा बुद्धबल तामाङले ‘वान टच’ मा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक–शून्यले पछि परेको थ्री स्टारले दोस्रो हाफमा थप तीन गोल खान पुग्यो ।खेलकाे ६८ औँ मिनेटमा पुलिसले दोस्रो गोल थप्यो । सुमन लामाले बायाँ डीबक्सतर्फ उपलब्ध गराएको पासलाई निरकुमार राईले तेज तामाङको लागि ब्याक पास उपलब्ध गरे । तामाङले क्रस बार च्याप्दै गोल गरेपछि पुलिस अग्रता दाेब्बर भयाे ।

खेलकाे ७४ औँ मिनेटमा सुमन लामाको व्यक्तिगत दोस्रो क्रस पासमा बुद्धबल तामाङले नेपाल पुलिसका लागि तेस्रो गोल गर्दा टाेली फराकिलो नजितातर्फ अगाडि बढ्यो । ८६ औँ मिनेटमा सुमन लामाको पासमा सौजन राईले क्लिन फिनिशिङ गर्दै नेपाल पुलिसलाई चार–शून्यकाे अग्रतासँगै जित सुनिश्चित बनाए । म्यान अफ दि म्याचको हकदार भने तेज तामाङ घोषित भए । बुधवार पहिलाे सेमिफाइनल खेल सङ्कटा र एपीएफबीच हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू