अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०७ | Colorodo: 19:22

नेपालमा थप १ सय ७६ जनामा कोरोना सङ्क्रमण, चीनले उपलब्ध गराएको खोप आउँदो बुधवारदेखि लगाउन सुरु गरिने

बिआरटीनेपाल २०७७ चैत २२ गते ८:२२ मा प्रकाशित

पछिल्लो २४ घण्टामा एक सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३४ सय ५६ जनाको पीसीआर परीक्षण गर्दा १ सय ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७७ हजार ९ सय ४४ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा एक सय १७ जना निको भएसँगै निको हुनेको सङ्ख्या २ लाख ७३ हजार २ सय ४० पुगेको छ । अहिले नेपालमा १६ सय ७२ जना सक्रिय सङ्क्रमित छन् । गएको २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान नगएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म तीन हजार ३२ जनाको ज्यान गएको छ ।

यसैबीच चीन सरकारले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आउँदो बुधवारदेखि काठमाण्डौका विभिन्न खोप केन्द्रबाट लगाउन सुरु गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । चीनबाट प्राप्त खोप अत्यावश्यक सेवामा संलग्न व्यक्ति, चीन सरकारको छात्रवृत्तिमा पढिरहेका तथा चीनमा पढ्न जान तयारी गरिरहेका विद्यार्थी, हिमालय व्यापारमा संलग्न व्यक्तिलगायतले लगाउन पाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । चीन सरकारले नेपाललाई आठ लाख डोज भेरोसेल खोप उपलब्ध गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू