अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३६ | Colorodo: 03:51

काठमाडौँ उपत्यकामा झरेको मेलम्ची पानीको औपचारिक उद्घाटन

बिआरटीनेपाल २०७७ चैत २० गते ९:०८ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाबासीको धारामा झरेको मेलम्ची पानीको आज औपचारिक उद्घाटन गर्नुभएको छ । यही चैत १५ गते मेलम्चीको पानी उपत्यकाबासीको धारामा झरेको भए पनि औपचारिक उद्घाटन भने आज गरिएको हो । काठमाडौँको भृकुटीमण्डपमा आयोजित एक विशेष कार्यक्रममा राष्ट्रपति भण्डारीले तीनवटा ढुङ्गेधारासहित निर्माण गरिएको स्मारकमा धाराको टुटी खोली उद्घाटन गर्नुभएको हो ।

यो ढुङ्गेधाराको पानी सर्वसाधारणाले उपभोग गर्न पाउनेछन् । ढुङ्गेधारा नजिकैको पानीको फोहोराको पनि राष्ट्रपतिले स्वीच थिचेर उद्घाटन गर्नुभएको छ । उद्घाटनपछि आयोजित समारोहमा राष्ट्रपति भण्डारीले मेलम्ची खानेपानी आयोजनाको सपना देख्ने पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई धन्यवाद दिनुभयो । मेलम्ची खानेपानी आयोजनाको परिकल्पना गरी सार्वजनिक कार्यक्रममै सिन्धुपाल्चोकबाट मेलम्चीको खानेपानी काठमाडौँ ल्याउने प्रतिबद्धता पूर्वप्रधानमन्त्री भट्टराईले जनाएको उहाँले सम्झनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना औपचारिक रूपमा काठमाडौं उपत्यकामा भित्रिएसँगै देशमा नयाँ सफलता प्राप्त भएको टिप्पणी गर्नुभयो । उहाँले आगामी तीन वर्षपछि याङ्ग्री र लार्केको पानी काठमाडौ आउने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले विकास निर्माणका कामहरु एक–अर्काेसँग नबाझिने गरि विभिन्न मन्त्रालय र अन्तर–मन्त्रालयहरुसँग प्रभावकारी रुपमा समन्वय गर्दै विकास निर्माणको काम अघि बढ्नुपर्नेमा जोड दिनुभयो । आगामी नयाँ वर्षमा पुननिर्मित धरहरा पनि उद्घाटन हुने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू