अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५७ | Colorodo: 00:12

युरोपमा कोरोनाको खोप दिने गति कम भएको भन्दै डब्ल्यूएचओको आलोचना

बिआरटीनेपाल २०७७ चैत १९ गते ८:२५ मा प्रकाशित

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले युरोपमा कोभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाउने गति ’अस्वीकार्य रूपमा’ ढिलो भएको भन्दै आलोचना गरेको छ । डब्ल्यूएचओले यस क्षेत्रको स्थिति केही महिनादेखि निकै चिन्ताजनक रहेको जनाएको छ । युरोपको अधिकांश क्षेत्रमा खोप लगाउने अभियानमा ढिलाइ हुँदा कोरोना सङ्क्रमणको सङ्ख्या बढ्दो छ ।

‘यस महामारीमा खोप नै उत्तम तरिका हो । यद्यपि खोप अभियानमा अस्वीकार्य रुपमा ढिलाइ भएको छ र युरोपमा महामारी फैलिरहेको छ’, युरोपका लागि डब्ल्यूएचओका निर्देशक हान्स क्लुजले एक विज्ञप्तिमा भन्नुभएको छ ।गएको हप्ता डब्ल्यूएचओको युरोपेली क्षेत्रका अधिकांश देशमा कोभिड–१९ सङ्क्रमणमा वृद्धि देखिएको छ जसमा ५० भन्दा धेरै देश समावेश छन् र ग्रीनल्याण्डदेखि पूर्वी रुससम्म फैलिएको छ ।

युरोपका लागि डब्ल्यूएचओका निर्देशक हान्स क्लुजले यस क्षेत्रका जम्मा १० प्रतिशत जनसङ्ख्याले खोपको एक डोज पाएको र चार प्रतिशतले पूरै डोज पाएको बताउनुभयो । ‘हामीले खोप उत्पादनलाई तीव्र बनाउनुपर्छ । ओप अभियानमा अवरोध कम गर्न पर्याप्त मौज्दात चाहिन्छ’, उहाँले भन्नुभयो ।

युरोपमा कोरोनाविरुद्धको खोप लगाउने गति बेलायत र अमेरिकाको तुलनामा निकै ढिलाइ देखिएको छ । युरोपमा ८० वर्षभन्दा माथिका उमेर समूहलाई छोडेर सबै उमेर समूहमा नयाँ सङ्क्रमण बढिरहेको उहाँले बताउनुभयो । कोरोना भाइरसको नयाँ प्रकारको सङ्क्रमण अस्पतालमा चिन्ताको विषय बनेको छ । यही कारण समस्या बढ्दै गएको हो । यसका साथै खोपको कम आपूर्ति हुँदा पनि डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू