अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१० | Colorodo: 04:25

निर्वाचन आयोगद्धारा सातवटै प्रदेशमा प्रदेश निर्वाचन कार्यालय उद्घाटन

बिआरटीनेपाल २०७७ चैत १८ गते ८:२३ मा प्रकाशित

निर्वाचन आयोगले सातवटै प्रदेशमा प्रदेश निर्वाचन कार्यालय उद्घाटन गरेको छ । मन्त्रिपरिषदले गएको माघ २६ गते सात वटै प्रदेशमा प्रदेश निर्वाचन कार्यालय रहने गरी आयोगको संगठन संरचना स्वीकृत गरेपछि आज कार्यालय उद्घाटन गरिएको हो । मोरङ, धनुषा, मकवानपुर, कास्की, दाङ, सुर्खेत र कैलाली जिल्लाका साविकका जिल्ला निर्वाचन कार्यालय खारेज गरी आयोगको प्रादेशिक कार्यालय बनाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भर्चुअल माध्यमबाट प्रदेश निर्वाचन कार्यालयहरुको उद्घाटन गर्नुभएको उहाँको भनाइ छ । प्रादेशिक कार्यालयमा नेपाल प्रशासन सेवा, राजपत्रांकित द्वितीय श्रेणीका उपसचिवको नेतृत्वमा ९ जना कर्मचारी रहने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रादेशिक कार्यालयहरुबाट आगामी दिनमा निर्वाचन व्यवस्थापन, निर्वाचन शिक्षा एवं मतदाता जागरण लगायत आयोगलाई तोकिएका कार्यसम्पादनमा थप सहजता हुने विश्वास व्यक्त गर्नु भएको छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा १६ मा निर्वाचन आयोग आफैंले सम्पादन गर्नुपर्ने कामका लागि आवश्यकता अनुसार प्रदेश तथा तोकिए बमोजिमको अन्य स्थानमा कार्यालय स्थापना गर्न सक्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू