अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१६ | Colorodo: 19:31

देशका विभिन्न स्थानमा वायु प्रदूषण, फोक्सो र आँखा जोगाउन विज्ञको सुझाव

बिआरटीनेपाल २०७७ चैत १५ गते ७:४८ मा प्रकाशित

पोखरा काठमाण्डौ उपत्यकालगायत देशका धेरै ठाउँमा वायु प्रदूषण बढेकाले सतर्कता अपनाउन डाक्टरहरूले सुझाव दिउका छन् । वायु प्रदूषणको मात्रा निकै बढेकोले आफ्नो फोक्सो र आँखा जोगाउन डाक्टरहरूले सुझाव दिएका हुन् ।

वायु प्रदूषणले आँखाको नानी र कर्निआको बाहिरको सतहमा गम्भीर असर पार्नुका साथै छाती, घाँटी, फोक्सो र नाकसम्बन्धी विभिन्न सङ्क्रमण हुने भएकोले सावधानी अपनाउनुपर्ने छाती रोग विशेषज्ञ डाक्टर सुबोधसागर ढकालले बताउनुभयो । प्रदूषण बढेको बेलामा सकेसम्म घरबाहिर ननिस्कन र घरमा बस्दा पनि झ्याल, ढोका थुनेर बस्न डाक्टरहरूको सुझाव छ ।
बाहिर निस्कनै पर्ने भएमा उच्च गुणस्तरको मास्क र आँखामा चस्मा वा सन–ग्लास लगाउन डाक्टर ढकालको सुझाव छ । प्रदूषण बढेका बेलामा कन्ट्याक्ट लेन्सले आँखा थप सुख्खा बनाउने र घाउ बनाउने भएकोले कन्ट्याक्ट लेन्स प्रयोग गर्न नहुने उहाँले बताउनुभयो ।

सबैभन्दा बढी प्रदूषण बिहान पाँच बजेदेखि आठ बजेसम्म हुने भएकाले त्यसबेला सकेसम्म घरबाहिर नै ननिस्कन विज्ञहरूको सुझाव छ । यही शुक्रवारदेखि पोखरा काठमाण्डौ उपत्यकालगायतका ठाउँको आकाशमा देखिएको बाक्लो तुवाँलो अझै केही दिन रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

धेरैजसो जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नुका साथै हावा नचेलेका कारणले बढेको प्रदूषण अझै दुई÷तीन दिन रहने मौसमविद् विभूति पोखरेलले बताउनुभयो । प्रदूषित वायुमण्डल सफा हुनका लागि कि वर्षा हुनुपर्छ वा हावा चल्नुपर्छ तर अहिले त्यो भएको छैन ।

गएको शुक्रवार जमिनमा तातेको हावा माथि जान नपाएकाले वायुमण्डलको तल्लो तहमै सीमित रहेको र देशका विभिन्न स्थानमा लागेको आगलागीका कारण प्रदूषण बाहिर जान नपाएकाले मौसम धुम्मिँदा प्रदूषण बढेको बताईएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू