अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१६ | Colorodo: 19:31

बाल विवाह अन्त्यका लागि प्रदेश २ सरकारको प्रतिबद्धता

बिआरटीनेपाल २०७७ चैत १३ गते ९:१७ मा प्रकाशित

शिक्षा र सामाजिक चेतनाका माध्यमबाट बाल विवाह अन्त्य गर्न सकिने सरोकारवालाको भनाइ

जनकपुर । प्रदेश नम्बर २ सरकारले बाल विवाह लगाएतका हानीकारक परम्परागत अभ्यास अन्त्यकालागि प्रतिबद्धता जनाएको छ । आज प्रदेश २ को राजधानी जनकपुरमा सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराब, सीआईएन र वर्ड भिजनको सहकार्यमा भएको बाल विवाह लगायत हानीकारक परम्परागत अभ्यास विरुद्ध सरोकारवाला बीच भएको प्रदेश स्तरीय हातेमालो कार्यक्रममा कानुनमन्त्री ज्ञानेन्द्र यादवले सबैखाले कुरिति अन्त्यकालागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

बाल विवाह अन्त्यकालागि राज्यलाइ निजि क्षेत्र र नागरिक स्तरबाट पनि उत्तिकै सहयोगको आवश्यक पर्ने पनि उहाँले बताउनुभयो । प्रदेश २ सरकार जातियबिभेद, लैगिंकबिभेद तथा सबै खालका विभेदहरु अन्त्यकालागि प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो । बाल विवाह अपराध भएको भन्दै उहाँले यसलाई पूर्ण रुपमा अन्त्यगर्नको लागि सरकारले कानुन निर्माण गर्ने गरी काम गरिरहेको पनि उहाँले बताउनुभयो । प्रदेशबाट बालबालिका सम्बन्धित कानुन बनिसकेको छ, महिला शशक्तिकरण सम्बन्धित कानुन पनि निर्माण भयो अब बालविवाह पूर्ण रुपमा अन्त्यगर्ने गरी कानुन बनाउने क्रममा सरकार रहेको छ मन्त्रीयादवले भन्नुभयो । बालविवाह अन्त्यका लागि सरकारले विभिन्न योजना तथा कार्यक्रमहरु चलाइरहेको जानकारी दिँदै उहाँले नीति तथा कार्यक्रममा नै हानिकारक अभ्यास हटाउने नीति लिएको बताउनुभयो ।

कार्यक्रममा जनता समाजवादी पार्टी प्रदेश सभाका प्रमुख सचेतक परमेश्वर शाहले बालविवाह लगायत अरू कुरिति अन्त्यकालागि आफु प्रतिबद्ध रहेको बताउनुभयो । प्रदेशसभाबाट बालबालिका सम्बन्धि कानुन बनिसकेको भन्दै उहाँले बालबालिकाको हक कार्यान्वयनको लागि थपगम्भिर हुनुपर्ने पनि बताउनुभयो । बालविवाह अन्त्यकालागि शिक्षा र चेतनाको आवश्यक रहेको भन्दै उहाँले सबै मिलेर मात्रै यसलाई सफल बनाउन सकिने धारणा राख्नुभयो ।

सामुदायिक सूचना नेटवर्क सीआईएनका म्यानेजर दीपक आचार्यले बालविवाह लगाएत हानीकारक परम्परा अन्त्यकालागि सञ्चार अभियान महत्त्वपूर्ण हुने र त्यसमा सरकार, धर्म गुरु र सरोकारवाला सबैको साथ आवश्यक रहेको बताउनुभयो । यस्ता हानिकारक अभ्यासहरू देशबाट पूर्ण रूपमा हटाउनको लागि सीआईएन र सामुदायिक रेडियोहरूले अभियान नै सुरु गरेको बताउनुभयो । आचार्यले धर्मगुरुहरू मार्फत रेडियो कार्यक्रम तयार गरी समुदायमा कुरीति विरुद्धको सन्देश फैलाउने कामगरिरहेको बताउनु भयो ।

कार्यक्रममा प्रदेश २ सभाको महिला बालबालिका तथा सामाजिक न्याय समितिका सदस्य रानीकुमारी तिवारीले प्रदेश २ मा अझै पनि शिक्षा र चेतनाका अभाबका कारण बालविवाहका रोकिन नसकेको बताउनुभयो । किशोरीहरुलाइ पर्याप्त शिक्षादिन सकेको खण्डमा बालविवाह बिस्तारै अन्त्य हुँदै जाने उहाँको भनाइ छ । समितिले बिभिन्न कोण र तहबाट बालविवाह अन्त्यकालागि छलफल, पैरवी र कानुन निर्माणको काम गरिरहेको पनि तिवारीले जानकारी दिनुभयो । प्रदेश सरकारबाट चलेको बेटी पढाऊ बेटी बचाउ, छोरी बीमालगाएत कार्यक्रमले पनि बालविवाह अन्तय र किशोरीहरूको क्षमताबृद्धिमा सहयोग पुर्याएको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस प्रदेश सांसद मञ्जु यादवले बालविवाह उन्मुलनगर्ने हो भने अभिभावक र नातेदारहरुलाइ सचेतना बढाउने गरी कार्यक्रमहरू तयार गर्नुपर्ने बताउनुभयो । बालविवाह अन्त्यकालागि छोरा र छोरीबिचमा समान शिक्षा र स्वास्थ्यको आवश्यकता रहेको धारणा राख्दै यसमा आफु नै गम्भीर हुनुपर्ने धारणा राख्नुपर्छ ।

यस्तै कार्यक्रममा बिभिन्न धर्मका गुरुहरूले पनि बालविवाह अन्त्यको लागि प्रतिबद्धता जनाएका छन् । बालविवाह अन्त्यकालागि आफुहरुको सामूहिकता र नेतृत्व आवश्यक पर्ने उनीहरूले बताए ।

कार्यक्रममा मुस्लिमधर्मका गुरु अब्दुल रहिममिकरानीले सोचमा परिवर्तन ल्याइ छोरीहरुलाइ निरन्तर रुपमा शिक्षामा जोड्न सकेको खण्डमा बालविवाह अन्त्य गर्न सकिने धारणा राख्नुभयो । हाल इन्टरनेटको कारणले पनि आफै बालविवाह गर्ने क्रम बढेको भन्दै उहाँले सचेतना र जिम्मेवार अभिभावकको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । विद्यालय तहमा र बिशेषगरि ग्रामीण स्थानहरुमा पनि यस्ता खालका चेतना मुल कार्यक्रम चलाउनुपर्ने पनि उहाँले बताउनुभयो । २०६८ को अध्ययनअनुसार नेपालमा ४१ प्रतिशत बालविवाह रहेको बताउँदै उहाँले यसको दर अहिले केही घटेको भए पनि कम भने नभएको बताउनुभयो । बालविवाहको मुख्य कारण अशिक्षा नै भएकाले यसलाइ अन्त्यगर्न शिक्षाको भूमिका महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा इसाइधर्मका पाष्टर दिनेश रायले बालविवाह रोक्नको लागि धर्मगुरुहरुका बीचमा एक मतभएर मात्रै नपुग्ने सरकारी तवरबाट कानुन कार्यान्वयनमा पनि जोड दिनुपर्ने बताउनुभयो । बालविवाह घटाउनको सबैभन्दा पहिले दाइजो प्रथा घटाउनुपर्ने र त्यसको लागि शिक्षाको आवश्यकता रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा धर्मगुरु अनिसु रहमानले पनि बालविवाह हटाउनको लागि प्रदेश २ माविद्यमान रहेको दाइजो प्रथा कम गराउनुपर्ने धारणा राख्नुभयो ।
प्रादेशिक बाल क्लबका अध्यक्ष आसुतोष झाले कानुनले बालविवाह अन्त्यकालागि बनेका कानुनहरु कार्यान्वयन नभएकोमा सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा अधिकारकर्मि सुभद्रा आलेले जनचेतना र शिक्षा प्रवाहगर्दै बालविवाह अन्त्यगर्न सकिने र यसको लागि आफुहरु प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा बालअधिकारकर्मि, अधिकारकर्मी, मानवअधिकार कर्मी, प्रदेशसभाका सांसदहरू तथा प्रदेशका सामुदायिक रेडियोका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित सबैले बालविवाह अन्त्यकालागि प्रतिबद्ध रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू