अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 19:45

बालविवाह अन्त्यका लागि प्रदेश २ सरकारको प्रतिबद्धता

बिआरटीनेपाल २०७७ चैत १३ गते ८:३१ मा प्रकाशित

प्रदेश २ सरकारले बालविवाह लगायत हानिकारक परम्परागत अभ्यास अन्त्यका लागि प्रतिबद्धता जनाएको छ । जनकपुरमा भएको एक कार्यक्रममा कानुन मन्त्री ज्ञानेन्द्र यादवले सबै खाले कुरिती अन्त्यका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।बालविवाह अन्त्यका लागि राज्यलाइ निजी क्षेत्र र नागरिक स्तरबाट पनि उत्तिकै सहयोगको आवश्यक पर्ने मन्त्री यादवको भनाइ छ । प्रदेश २ सरकार जातिय, लैगिंकलगायत सबै खालका विभेदहरू अन्त्यका लागि प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो ।

बालविवाह अपराध भएको भन्दै उहाँले यसलाई पूर्ण रूपमा अन्त्य गर्न सरकारले कानुन निर्माण गर्ने गरी काम गरिरहेको मन्त्री यादवले बताउनुभयो । बालविवाह अन्त्यका लागि सरकारले विभिन्न योजना तथा कार्यक्रमहरू चलाइरहेको जानकारी दिँदै मन्त्री यादवले नीति तथा कार्यक्रममा नै हानिकारक अभ्यास हटाउने नीति लिएको बताउनुभयो ।

कार्यक्रममा जनता समाजवादी पार्टी प्रदेशसभाका प्रमुख सचेतक परमेश्वर शाहले बालविवाह लगाएत अरु कुरिति अन्त्यका लागि आफु प्रतिवद्ध रहेको बताउनुभयो । प्रदेशसभाबाट बालबालिका सम्बन्धी कानुन बनिसकेकाले बालबालिकाको हक कार्यान्वयनको लागि थप गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो । बालविवाह अन्त्यका लागि शिक्षा र चेतनाको आवश्यक रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा प्रदेश २ सभाको महिला बालबालिका तथा सामाजिक न्याय समितिका सदस्य रानी कुमारी तिवारी र नेपाली कांग्रेसकी प्रदेश सांसद् मञ्जु यादवले बालविवाह उन्मुलन गर्न जनस्तरमा सचेतना बढाउने गरी कार्यक्रमहरू तयार गर्नुपर्ने धारणा राख्नाुभयो ।

यस्तै कार्यक्रममा विभिन्न धर्मका धर्म गुरुहरूले पनि बालविवाह अन्त्यको लागि प्रतिबद्धता जनाएका छन् । बालविवाह अन्त्यका लागि आफूहरूको सामुहिकता र नेतृत्व आवश्यक पर्ने उनीहरूको भनाइ छ । बालअधिकारकर्मी, अधिकारकर्मी, मानवअधिकारकर्मी, प्रदेशसभाका सांसदहरू तथा प्रदेशका सामुदायिक रेडियोका प्रतिनिधिले बालविवाह अन्त्यका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू