अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०८ | Colorodo: 20:23

चुनाव केन्द्रीत हुन सभापति देउवाको कार्यकर्तालाइ निर्देशन

बिआरटीनेपाल २०७७ चैत ७ गते ८:०८ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा केन्द्रीत हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसमा रत्ननगरमा भएको युवा तरुण जागरण अभियानमा देउवाले कांग्रेसलाई सरकारको लोभमा नभएको बताउँदै प्रधानमन्त्रीको पद काँधमा आए पछि नहट्ने बताउनुभयो ।

अबको २० महिनापछि नियमित चुनाव हुने भन्दै उक्त चुनावमा बहुमत प्राप्त गरेर प्रधानमन्त्री सहित पूर्णरूपमा कांग्रेसको सरकार चलाउने देउवाको दावी छ । जनताको दुःखसुखमा साथ दिएमात्रै कांग्रेसको पक्षमा मत आउने बताउँदै उहाँले कम्तीमा पनि वर्षको तीनपटक जनताको घर–घरमा पुग्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

देउवाले मध्यावधि निर्वाचनको कुरा फेरि पनि उठिरहेकाले निर्वाचनका लागि जुनसुकै बेला पनि तयार रहन निर्देशन दिनुभयो । तरुण विना कांग्रेस बलियो नहुने भएकाले यसको नेतृत्वलाई पूर्णता दिने गरी आफूले काम गरिरहेको उहाँको भनाइ छ ।

कार्यक्रममा बोल्दै सहमहामन्त्री डा प्रकाश शरण महतले अंकगणितले मात्रै सरकार बन्ने भएकाले अहिले कांग्रेसको संसदमा प्रतिनिधित्व कम रहेकाले सरकारमा जाने भन्दा चुनावमा केन्द्रीत हुनुपर्ने बताउनुभयो । कम्युनिष्ट जनतालाई धोका र सपना मात्रै बाँडेको भन्दै यही मौकामा कांग्रेसले जनताको मत जितेर सबै एक ढिक्का भइ बहुमत प्राप्त गर्नेगरी लाग्नुपर्ने बताउनुभयो ।

कांग्रेस भित्र व्यक्ति ठूलो हुने गरी राजनीति नगर्न आग्रह गर्दै सवै मिलेर अघि बढे मात्रै आगामी चुनावमा जित हुने उहाँको दावी थियो । विश्वका कयौँ देशमा कम्युनिष्ट कहिल्यै चुनाव नजित्ने भन्दै नेपालमा भने गाइजात्रा भएको टिप्पणी गर्नुभयो । कार्यक्रममा बोल्दै तरुण विभागका प्रमुख एवम केन्द्रीय सदस्य शंकर भण्डारीले तरुणका सबै तहमा नेतृत्वले पूर्णता पाउने गरी काम गर्न सभापति देउवासँग आग्रह गर्नुभयो । अन्यथा आफू तरुण विभागको प्रमुख नै छोडिदिने उहाँको चेतावनी छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू