अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५९ | Colorodo: 20:14

अलास्काको सार्वजनिक मञ्चमै अमेरिकी र चिनियाँ अधिकारीबीच चर्काचर्की

बिआरटीनेपाल २०७७ चैत ६ गते ८:३१ मा प्रकाशित

राष्ट्रपति जो बाइडन सत्तामा आएपछि पहिलो पटक अमेरिका र चिनियाँ उच्च अधिकारीबीच भएको वार्तामा भनाभन परेको छ ।अलास्कामा बसेको बैठकमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन, राष्ट्रिय सुरक्षा सल्लाहाकार जेक सुलिवान र चिनियाँ समकक्षी वाङ यी तथा शीर्ष कूटनीतिज्ञ यांग जेइची सम्मिलित प्रतिनिधिमण्डलबीच चर्काचर्की परेको हो । अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले सार्वजनिक मञ्चमा दुई देशका प्रतिनिधिहरूबीच यस प्रकारको विवाद कमै हुने बताएका छन् ।

बैठकमा चिनियाँ पक्षले अमेरिकाले अन्य देशहरूलाई चीनमाथि हमलाको लागि उक्साइरहेको आरोप लगाएको थियो । अमेरिकाले भने चीनले विना सोचविचार यस्तो निष्कर्षमा पुगेको भन्दै प्रतिवाद गरेको थियो । चिनियाँ अधिकारीहरूले आफूहरू झुक्छौं भन्ने ठानेको भए अमेरिका धोकामा रहेको टिप्पणी गरेका थिए ।

वार्ताको सुरुमै अमेरिकी विदेशमन्त्री ब्लिंकनले सिनजियांग, हङकङ, ताइवान, अमेरिकामाथि भएको साइबर हमला र आफ्ना सहयोगीहरूमाथि बनाइएको आर्थिक दबावका विषयमा चासोका साथ कुरा गर्न खोज्नुभएको थियो ।जवाफमा चिनियाँ शीर्ष कूटनीतिज्ञ यांगले अमेरिकाले आफ्नो सैन्य शक्ति र आर्थिक वर्चश्वको दुरुपयोग गरेको आरोप लगाउनुभयो । उहाँले अमेरिकामै मानव अधिकारको स्थिति अत्यन्त नाजुक रहेको टिप्पणी गर्नुभयो ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहाकार सुलिवानले भने आफूहरू चीनसँग कुनै झगडा गर्न नचाहेको भन्दै आफ्नो सिद्धान्त र मित्रहरूको साथ जहिल्यै पनि उभिने प्रष्ट पानुभयो । विश्वभरका सञ्चार माध्यमको सामुन्ने दुई देशका प्रतिनिधिबीच यो बहस एक घण्टाभन्दा बढी चलेको थियो । विवादपछि अमेरिकी र चिनियाँ अधिकारीहरूले एक अर्कालाई अन्तर्राष्ट्रिय प्रोटोकलको उल्लंघन गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू