अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०७ | Colorodo: 22:22

प्रधानमन्त्रीले नैतिक दायित्व लिँदै मार्ग प्रशस्त गर्नुपर्छ – प्रमुख सचेतक खाँड

बिआरटीनेपाल २०७७ चैत ६ गते ८:२२ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रतिनिधि सभा पुनर्स्थापना भएपछि विघटन गर्न प्रस्ताव गर्ने प्रधानमन्त्रीले नैतिक दायित्व लिँदै मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै प्रमुख सचेतक खाँडले प्रतिनिधि सभा विघटन गर्न प्रस्ताव गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्स्थापना गर्ने सर्वोच्चको आदेशसँगै नैतिक उत्तरदायित्व लिएर सरकार गठनको मार्ग प्रशस्त गरिदिनुपर्ने बताउनुभएको हो । उहाँले त्यस कार्यतर्फ सदनको ध्यान जानुपर्ने धारणा राख्नुभयो ।

संविधानको जगमा नै बनेको सरकार भएकाले संसद्को गतिविधिलाई गतिशील बनाउने र सम्मान गर्ने दायित्व सरकारको पनि भएको खाँडले बताउनुभयो । तर सरकार बनेदेखि नै वर्तमान सरकारले निरन्तर संविधानमाथि प्रहार गर्ने काम गरेको उहाँको भनाइ छ । सरकारले सामान्य शिष्टाचार पनि नगरि भूमिगत शैलीमा जनप्रतिनिधिको स्थल संसद्को अधिवेशन नै अन्त्य गरेको र हिउँदे अधिवेशन कुर्दै गर्दा आलोचना सुन्नुपर्छ भनेर एकलौटी ढङ्गले प्रतिनिधि सभा नै विघटन गरेको तर्क उहाँले गर्नुभयो ।

उहाँले महिला हिंसा तथा एसिड आक्रमणका अपराधीलाई कारबाही गर्ने सवालमा सरकारलाई आफ्नो पार्टीको सधैँ साथ रहेको बताउनुभयो । संविधानको प्रावधान विपरीत वर्तमान सरकारले प्रतिनिधि सभा विघटन गर्ने कदमलाई पार्टीले असंवैधानिक, अलोकतान्त्रिक, सर्वसत्तावाद, निरङ्कुशता प्रेरित कार्य भनेको स्मरण गर्दै उहाँले संविधानलाई सफल बनाउनेबाहेकको विकल्प कसैसँग नभएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू