अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०८ | Colorodo: 23:23

क्यानडाको प्रतिष्ठित जुनो अवार्डको तीन विधामा छानिए नेपाली मूलका कर्टिस वाटर्स

बिआरटीनेपाल २०७७ चैत ४ गते ८:४८ मा प्रकाशित

क्यानडाको प्रतिष्ठित जुनो अवार्ड-२०२१ को नोमिनेसन हालै सार्वजनिक भएको छ। मङ्गलवार सार्वजनिक गरिएको मनोनयनमा नेपाली मूलका गायक कर्टिस वाटर्स अर्थात् अभि बस्ताकोटी विभिन्न तीन विधामा पहिलो पटक छनौटमा परेका छन्। उनी यस वर्षको “जुनो फ्यान च्वाइस अवार्ड” र “ब्रेक थ्रु आर्टिस्ट अफ द इएर”को प्रतिस्पर्धामा छानिएका छन्। यसका साथै उनको “पिटी पार्टी” एल्बम यस वर्षको “अल्टर्नेटिभ एल्बम अफ द इएर” को लागि छनौटमा परेको छ।

फ्यान च्वाइस अवार्डको लागि उनी विश्व विख्यात गायक जस्टिन बिबर, शन मेन्डेज, लेनन स्टेला, द विकेन्ड, जे पी स्याक्स लगायतका गायक गायिकासँग प्रतिस्पर्धा गर्दैछन। यसै गरी उनीसँगै यस वर्षको ब्रेक थ्रु आर्टिस्ट क्याटेगोरीमा रेल्याण्ड जेम्स्, टेट म्याकरे, पोफुल र जेपी स्याक्स पनि छन्। अल्टर्नेटिभ एल्बम अफ द इएरको लागि कर्टिस वाटर्सको “पिटी पार्टी” सहित अन्य चर्चित कलाकारका चार वटा एल्बम पनि परेका छन्।

यस वर्षको अवार्ड मनोनयनमा द विकेन्ड छ विधामा छनौटमा परेका छन् भने सुपरस्टार जस्टिन बिबर, जे पी स्याक्स र जेसी रियाज विभिन्न पाँच विधामा छनौटमा परेका छन्। आफू पहिलो पटक नै चर्चित कलाकारहरूसंगै तीन विधामा छनौटमा परेपछि खुसी प्रकट गर्दै कर्टिस वाटर्सले आफूले गीत सङ्गीतलाई प्रतिस्पर्धाको लागिभन्दा पनि व्यक्तिगत खुसी र भावना व्यक्त गर्नका लागि गरिने सिर्जनात्मक कामको रूपमा लिएको बताए। यद्यपि उनले यो मनोनयनबाट आफ्नो कामलाई पाश्चात्य सङ्गीतको मूलधारमा स्थापित गर्न थप मदत पुग्ने विश्वास लिएका छन् ।

सन् १९९९ को डिसेम्बरमा काठमान्डुमा जन्मेका अभि बस्ताकोटी साङ्गीतिक क्षेत्रमा कर्टिस वाटर्स नामले चिनिन्छन। आफ्ना अभिभावकसँगै क्यानडा हुँदै हाल अमेरिकाको नर्थ क्यरोलाइना बसोबास गर्दै आएका कर्टिस वाटर्स अघिल्लो वर्ष “स्टनिन” गीत मार्फत विश्वभरि चर्चित भएका थिए। उनको उक्त गीत हालसम्म विभिन्न प्ल्य़ाटफर्ममा ३७५ मिलियनभन्दा बढी पटक स्ट्रिमिङ्ग भैसकेको छ। उनको यो गीत क्यानडामा प्लाटिनम सर्टिफाइड, ब्राजिल र म्याक्सीकोमा गोल्ड सर्टिफाइड भएको छ। यसै गरी “स्टनिन” क्यानडाको उत्कृष्ट ४० गीतको सातौँ स्थानमा र बिल्वोर्ड हट -१०० क्यानडा चार्टको उत्कृष्ट २५ मा परेको थियो।

टिकटक प्रविधिको प्रयोगबाट इन्टरनेटमा गीत सङ्गीतलाई चर्चित बनाउन सफल भएकोले कर्टिस वाटर्स यही मार्च १३ मा टिकटक र लजिटेकले पहिलो पटक प्रदान गरेको “द सङ्ग ब्रेकर अवार्ड” बाट समेत सम्मानित भएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू