अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

“पार्टीलाई एकताबद्ध बनाउन राष्ट्रिय भेला, सबै समस्याको जड ओली”– माधवकुमार नेपाल

बिआरटीनेपाल २०७७ चैत ४ गते ८:१२ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता माधवकुमार नेपालले पार्टीलाई एकताबद्ध बनाउन राष्ट्रिय भेलाको आयोजना गरिएको बताउनुभएको छ । बुधवार आफ्नो समूहले ललितपुरको सानेपामा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टीलाई ध्वंस गर्नका लागि नभइ एकताबद्ध बनाउन राष्ट्रिय भेला गरिएको बताउनुभएको हो ।

उहाँले कम्युनिस्ट आन्दोलनको रक्षा गरी नयाँ उचाइमा पु¥याउन रचनात्मक उद्देश्यका साथ राष्ट्रिय भेलाको गरिएको दाबी गर्नुभयो । नेता नेपालले नेकपा एमालेभित्रको विवादको जड अध्यक्ष केपी शर्मा ओली भएको दाबी गर्नुभयो । केपी ओलीको अहङ्कार, व्यक्तिवाद र गुटगत मनोवृत्तिका कारण एमालेमा विवादको सिर्जना भएको उहाँको भनाइ थियो । अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रसँग एकीकरण गर्ने बेला नागरिकको बहुदलीय जनवादलाई कुनै अडान नलिइ हटाएको भए पनि जबजको हिमायतीको रूपमा प्रस्तुत गरिरहेको उहाँले बताउनुभयो । ओलीले मदन भण्डारीको विरासत बोकेको भनी नक्कली कुरा गरेकाले भ्रममा नपर्न पनि उहाँले नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेता नेपालले प्रधानमन्त्री ओलीले विदेशीको सेवा मात्रै गरेको आरोप पनि लगाउनुभयो । ओलीले पार्टीको लोकप्रियतालाई आफ्नो मात्रै लोकप्रियता ठान्ने गरेको पनि उहाँको भनाइ छ । ओलीमा नेकपा एमालेको नेतृत्वमा आएपछि र माओवादीसँग एकीकरण भएपछि पनि सुरु देखि नै गुटगत प्रवृत्ति मात्रै भएको नेता नेपालले बताउनुभयो ।

नेता नेपालले आफूहरूको लडाइँ पदको निम्ति नभएर नीति र सिद्धान्तको लडाइँ भएको जिकिर गर्नुभयो । आफूहरूको लडाइँ कस्तो पार्टी बनाउने भन्ने विषयमा रहेको भन्दै इमानदारिताको अग्निपरीक्षा उत्तीर्ण गर्न तयार रहेको नेता नेपालले बताउनुभयो । प्रधानमन्त्री ओलीले आधा–आधा समय सरकार चलाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति गरेर सहमतिको उल्लङ्घन गरेको नेता नेपालको भनाइ छ । सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेलाई पूर्ववत् सङ्गठनात्मक संरचना र वैचारिक, राजनीतिक मान्यता अनुरूप चलाउनुपर्नेमा नेता नेपालको जोड छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू