अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३५ | Colorodo: 19:50

परिवर्तन उल्टाउन मविरुद्ध घेराबन्दी गर्ने षड्यन्त्र भइरहेकाे छ : प्रचण्ड

बिआरटीनेपाल २०७७ फागुन २८ गते २:३८ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूमाथि घेराबन्दी गर्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।

बुटवलमा भइरहेको राष्ट्रिय दलित पत्रकार सङ्घको पहिलो महाधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले प्राप्त परिवर्तनलाई उल्टाउन परिवर्तनका लागि सङ्घर्ष गर्ने नेताहरूको बदनाम गर्ने र घेराबन्दी गर्ने काम भइरहेको दाबी गर्नुभयो ।

१२ बुँदे समझदारी र शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला जीवित नरहेको भन्दै अहिले आफू जीवितै भएको र परिवर्तन उल्ट्याउन सबैभन्दा धेरै घेराबन्दी आफूमाथि नै भइरहेको महसुस गरेको उहाँले बताउनुभयो ।

राजनीतिमा धेरै अस्वाभाविक घटना भइरहेको भन्दै अध्यक्ष प्रचण्डले अझै के–के अस्वाभाविक घटना देख्नुपर्ने हो भन्ने चिन्ता रहेको बताउनुभयो । जन्माइसकेको बच्चालाई फेरि आमाको गर्भमा लगिदिने अनौठो र अस्वाभाविक परिघटना देख्नुपरेको उहाँको भनाइ छ । तर पनि विद्रोह गर्ने वा हिंसामा जाने नभइ शान्तिपूर्ण सङ्घर्ष गर्ने उहाँले प्रष्ट पार्नुभयो ।

‘मैले फेरि विद्रोहमा जाने कुरा गरेको होइन तर पाएको उपलब्धि कसैले कुल्चिन नपाओस् भन्नाका लागि शान्तिपूर्ण रङ्गीन क्रान्ति आवश्यक छ’, उहाँले भन्नुभयाे ।

अध्यक्ष दाहालले शान्तिपूर्ण आन्दोलनका लागि तयार रहन दलित समुदायलाई आग्रहसमेत गर्नुभयो । ‘दलितको साथ नभएको भए आन्दोलन सफल हुने थिएन’, उहाँले भन्नुभयो, ‘त्यसैले अब फेरि प्रतिगमनतिर लैजान खोज्नेविरुद्ध दलित समुदायको एकता आवश्यक पर्नेछ ।’ 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू