अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

भविष्यका कर्णधार बालबालिकाको विषयमा चर्चा

बिआरटीनेपाल २०७७ फागुन २७ गते ७:४३ मा प्रकाशित

काठमाडौँ । कुनै पनि मानिसको वर्तमान अवस्था र स्वभावलाई उसको बाल्यकाल कस्तो वातावरणमा बितेको थियो र उसको लालन–पालन तथा स्याहार सम्भार कसले गरेको थियो भन्ने विषयले निर्धारण गर्ने वक्ताहरूले धारणा राखेका छन् । बुधवार राजधानीको संवाद डबलीमा हिमाली समाजले आयोजना गरेको ‘बालबालिकाको लागि परिवार’ विषयक छलफल कार्यक्रममा उनीहरूले देशको भविष्य नै बालबालिकाको भविष्यसँग जोडिएर आउने हुनाले उनीहरूको लालन पालनमा ध्यान पु¥याउन आग्रह गरेका छन् ।

राजनीतिक विश्लेषक प्रा.डा.सुरेन्द्र केसीले अहिलेका राजनीतिक बागडोर सम्हाल्ने नेताहरू अनैतिक र धोकेबाज मनोवृत्तिका हुनुमा उनीहरूको बाल्य अवस्थामा राम्रो संस्कारमा नहुर्कनुको परिणाम पनि केही हदसम्म जिम्मेवार रहेको धारणा व्यक्त गरेका छन् । नेपाललाई स्वाधीन र आत्मनिर्भर बनाउन पर निर्भरताबाट आत्मनिर्भर अर्थतन्त्र बनाउन नदिनु पनि उनीहरू दलाल र चाकडी बाच मनोवृत्तिको परिणाम भएको आरोप लगाए । बालबालिकाको स्याहार तथा सम्भार र लालन पालनमा पनि कमाउने ध्ययले विदेशी रिझाउने र ब्यापारीकणको मानसिकताबाट चलाएकोले यो क्षेत्रलाई बदनाम गरेको बताए । बालबालिका जस्तो अति संवेदनशील विषयमा पनि कमाउने र धनी बन्ने सोचले देशलाई झनै पछि धकेल्ने घातक काम भएको केसीको ठम्याई छ । वास्तविक नागरिकहरूबाट जन्मिएका बालबालिकाहरूले भविष्यमा नागरिकता नपाउने र गैर–नागरिकहरूले सजिलै नागरिकता आर्थिक चलखेलमा पाउने गरेको दृष्टान्त दिए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्कीले बच्चा जन्माउने तर लालन पालनमा गैर जिम्मेवार बन्ने परिपाटी नेपाली समाजमा बढ्दै गएको र बालबालिकाको भविष्य र ज्येष्ठ नागरिकहरुप्रतिको जिम्मेवारीबाट टाढिनु नेपालीहरू मौलिक संस्कारबाट च्युत हुनु दुर्भाग्य भएको बताए । प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्षसमेत रहेका कार्कीले बालबालिकाको विषयमा मिडिया जगतले उठाउनै पर्ने भएकोले यसलाई व्यापकता दिनुपर्ने धारणा राख्दै भने, “नेपालको संविधानमा बालबालिकाको शिक्षा, दीक्षा, उचित लालन पालन, मनोरञ्जन, पौष्टिक आहारहरूको बारेमा र उनीहरूको सामाजिक सुरक्षाको विषयमा प्रस्ट रूपमा उल्लेख गरिएको भए पनि त्यसको कार्यान्वयनमा कति पनि ध्यान नभएकोले मिडियाले दबाब दिनुपर्छ ।”

आधार नेपालका कन्ट्री डाइरेक्टर प्रह्लाद ढकालले नेपालमा अत्यधिक मात्रामा बालबालिकाको ओसार–पसार भएको र उनीहरू मानिस होइन, एउटा वस्तुको रूपमा दुरुपयोग भइरहेकोप्रति चिन्ता व्यक्त गरे । नेपालको राजनीतिमा बालबालिका पढाउने लेखाउने नाममा अभिभावकसँग आर्थिक लाभ लिनुका साथै त्यसै मार्फत राजनीतिक भोट बैङ्क बलियो बनाउने टे«नको विकास भएको र त्यसलाई रोक्न सबै लाग्नुपर्ने धारणा पनि राखे ।

हिमाली नवीन समाजका कार्यकारी निर्देशक धनबहादुर लामाले बालबालिकाको अवस्थाबारे आँकडा सहितको पावर पाइन्ट प्रस्तुत गर्दै नेपालमा ४ सय ८९ संस्थागत स्याहार(बाल गृह)मा ११ हजार ३ सय ५० बालबालिका रहेको र उनीहरूको अवस्था त्यति राम्रो नभएको बताए । आफ्नो संस्थाले देशका ६७ ओटा जिल्लामा पुगेर बालबालिकाको अभिभावकको अवस्थाबारे बुझेको र कैयौँलाई परिवार पुनर्मिलन समेत गरिसकेको जानकारी दिए । उनका अनुसार बालगृह अर्थात् संस्थागत स्याहारमा हुर्केका बालबालिकाहरू भावनात्मक तथा मनोसामाजिकरुपले निकै कमजोर हुने भएकाले समुदायमा आधारित स्याहारमा जोड दिनुपर्ने बताए ।

समाजकी सञ्चार अधिकृत तोया होमा राईले बालबालिकालाई आमाबाबुले स्याहार गर्न नसकेको खण्डमा समुदायमा आधारित नातेदार, संरक्षक परिवार स्याहार र आन्तरिक धर्म पुत्र–पुत्रीका रूपमा स्याहार गर्दा उनीहरूको सामाजिक तथा मानसिकरुपमा विकास हुने बताइन ।

परिवर्तनको संवाहक कार्यक्रमका व्यवस्थापक केबी रानाले पछिल्लो समय आफूहरूले परिवार पुनर्मिलन कार्यक्रमलाई सहयोग पुग्ने कार्यलाई जोड दिँदै हिमाली नवीन समाजले १ हजार ३४ जना बालबालिकाहरूलाई परिवार पुनर्मिलन गराइसकेको जानकारी दिए । सो अन्तर्गत ६७ जिल्लामा जैविक अर्थात् आमाबुबा समक्ष ५१ प्रतिशत, नातागोतामा ३२ प्रतिशत र संरक्षक परिवारमा २.४ प्रतिशत बालबालिकालाई पुनर्मिलन गराएको बताए । परिवर्तनको संवाहक कार्यक्रम अधिकृत दीपेन्द्र पाण्डे, परिवार पुनर्मिलन वरिष्ठ अधिकृत तेन्जिङ लामा, मङ्गल लामा, फुन्जोक लामाले पनि बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरूको बारेमा परिवार, समाज र राज्यले विशेष ध्यान दिनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू