अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५७ | Colorodo: 23:12

महाशिवरात्री पर्वको सम्पूर्ण तयारी पूरा, बिहान ३ बजे नै पशुपतिका चारवटै ढोका खोलिने

बिआरटीनेपाल २०७७ फागुन २६ गते ८:५१ मा प्रकाशित

बिहीबार महाशिवरात्री, भगवान महादेवको पूजा आराधनाको विशेष दिन । पशुपतिनाथ लगायत देशैभरीका शिवालयहरूमा महाशिवरात्री पर्वको भव्य तयारी भइरहेको छ ।पशुपति क्षेत्र विकास कोषले पनि महाशिवरात्रीको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । देशका विभिन्न स्थानका साथै छिमेकी देश भारतबाट पशुपतिनाथ दर्शनका लागि साधुसन्तहरू आइसकेका छन् ।

कोरोना महामारी नसकिएकाले पशुपति क्षेत्र विकास कोषले यस पटक शिवरात्रीमा भीडभाड र तामझाम कम गर्ने कोसिस गरेको छ । तर, झण्डै ९ महिना बन्द भएर गत पुस १ गते देखि खोलिएको पशुपतिनाथको मन्दिरमा दशनार्थीको भीड लाग्ने निश्चित छ ।महाशिवरात्रीको पूर्वसन्ध्यामै पाशुपत क्षेत्रमा मानिसहरूकोे चलहपहल बढेको छ । महाशिवरात्रीको तयारी गरेको पशुपति क्षेत्र विकास कोषले सुरक्षा सावधानी अपनाएर पूजा आराधना गर्ने व्यवस्था मिलाएको जनाएको छ ।

बिहिबार बिहान ३ बजे देखि नै मन्दिरका चारै वटा ढोका खुला हुनेछन् भने भक्तजनहरूलाई मन्दिरमा प्रवेश गर्न तीन लाइनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।प्रत्येक स्थानमा स्यानिटाइजरको व्यवस्था गरिएको र भक्तजनहरूले अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्ने कोषले बाध्यकारी व्यवस्था गरेको उपनिर्देशक अधिकारीले बताउनुहुन्छ । भीडभाड र तामझाम नहोला भन्ने ठानेर कोषले तयारी पनि सोही अनुसार गरेको छ ।

यसपटकको परिवेश फरक भएकाले पाशुपत क्षेत्रमा साधुसन्तहरू समेत गत वर्षहरूको तुलनामा कम मात्र आएका अधिकारीको भनाइ छ । महाशिवरात्रीका लागिसुरक्षाकर्मी, स्वयंसेवक र स्काउट गरी ४ हजार जना परिचालन गरिने भएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनासहित ३० वटा संस्थाले स्वास्थ्य शिविर पनि सञ्चालन गर्दैछन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू