अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५९ | Colorodo: 20:14

अमेरिकामा दुर्व्यवहारमा परेका नेपाली उबर चालकका लागि जुट्न थाल्यो सहयोग

बिआरटीनेपाल २०७७ फागुन २६ गते ८:०३ मा प्रकाशित

अमेरिकामा गत आइतबार यात्रुहरुद्वारा दुर्व्यवहारमा परेका नेपाली उबर चालक शुभाकर खड्काका लागि सहयोग रकम जुट्न थालेको छ। अमेरिकाको सान फ्रान्सिस्कोमा यात्रुहरूले उबर खड्कालाई दुर्व्यवहार गरेका थिए।

गोफण्डमी नामक सहयोग जुटाउने वेबसाइटमार्फत विश्वभरका व्यक्तिहरुलाई खड्काका लागि आर्थिक सहयोग पुर्याउन अपिल गरिएको छ। अपिलमा भनिएको छ, ‘खड्का तनाव र डरले तुरुन्तै काममा फर्कन सक्षम छैनन्।’ खड्काको सहयोगका लागि केही दिनमै २३ हजार अमेरिकी डलर जुटिसकेको छ।

खड्का आठ बर्षअघि अमेरिका पुगेका हुन्। गत आइतबार उनलाई यात्रुहरुले दुर्व्यवहार गरेका थिए। उनको गाडीमा चढेका यात्रुहरुमध्ये एक महिलाले मास्क लगाए पनि बाँकी दुईले मास्क लगाएका थिएनन्। खड्काले अन्य दुई महिलालाई पनि मास्क लगाउन भनेपछि उनीहरुले दुर्व्यहार गरेका थिए। ती महिलाहरुले खड्काको मोबाइल खोस्नुका साथै पेपर स्प्रे गरेका थिए।

ती महिलाहरुले नेपाल चालकमाथि गरेको दुर्व्यवहारको उक्त भिडियो फुटेजमा पहिला अनुहारबाट मास्क झिक्न लगाई पेपर स्प्रेले आक्रमण गरेका थिए। डराउँदै उबर चालक खड्काले भनेका छन्, ‘यदि म दक्षिण एसियाको नभएको भए उनीहरूले मलाई कुटपिट गर्ने थिएनन्।’ एसियन मूलका उबर चालकलाई ‘पेपर स्प्रे’को आक्रमणको घटना अहिले विश्वभरिको सञ्चारमाध्यमहरुमा प्रकाशित भइरहेको छ। घटनाबारे अनुसन्धान गरिरहेको सान फ्रान्सिस्को प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू