अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०६ | Colorodo: 13:21

हिंसाको सवालमा अपराधलाई पार्टीले संरक्षण गरेको महिला अधिकारकर्मीहरूको आरोप

पुनम गौतम २०७७ फागुन २४ गते १२:०२ मा प्रकाशित

महिलाका सुरक्षा र चुनौतीको बारेमा विदेशबाट शीर्ष नेताहरूलाई नारीहरूको प्रश्न?

पोर्चुगल । महिलाको विषयलाई लिएर सरकार संवेदनशील नभएको अधिकारकर्मी महिलाहरूले आरोप लगाएका छन् । महिला हिंसाका सवालमा अपराधलाई पार्टीले कहिलेसम्म संरक्षण गर्ने भन्दै अधिकारकर्मी महिलाहरूले परदेशबाट महिलाका सुरक्षा र चुनौतीको बारेमा शीर्ष नेताहरूलाई प्रश्न गरेका छन् ।

नेपाली नारी समाज पोर्तुगलले आयोजना गरेको १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आइतबार पोर्तुगलको राजधानी लिस्वनमा आयोजना गरेको “महिला सुरक्षा र चुनौती” विषयक जुम भर्चुअल विचार गोष्ठीमा बोल्दै अधिकारकर्मी महिलाहरूले सदनमा महिलाको विषय सही तरिकाले उठान गर्न नसकेको आरोप लगाएका हुन् । पछिल्लो समय दिनानुदिन बढ्दै गएको बलात्कार पछिका हत्याले आम नेपाली महिलाहरू त्रासपूर्ण जीवनयापन गर्न बाध्य भएका छन् । अपराध र अपराधीलाई कुनै पनि पार्टीले संरक्षण गर्न नहुने पूर्व परराष्ट्र मन्त्री तथा नेपाली काङ्ग्रेसकी केद्रिन्य सदस्य सांसद सुजता कोइरालाले बताउनुभयो ।

कार्यक्रमकी प्रमुख अतिथि समेत रहनु भएकी सांसद कोइरालाले नेपालमा महिलाहरूको अवस्था अत्यन्त नाजुक रहेको बताउदैं कोरोनाका कारण महिलाहरूमाथि घरेलु हिंसा झन् बढेको बताउनुभयो । साथै उहाँले नाबालक बालिका देखि वृद्धाहरु सम्म हुने बलात्कारका घटना बढ्दै गइरहेको जानकारी दिदैं यसको लागि सरकारले कुनै पनि पहल कदमी नचालेको र अहिलेसम्म कसैलाई पनि कारबाही नभएको बताउनुभयो । त्यस्तै उहाँले संसद् र अन्य निकायबाट महिलाहरूले धेरै आवाज उठाएता पनि यसलाई रोक्न नसकिएको जानकारी दिनुभयो । ३३ प्रतिशत महिलाहरूले संसद्मा प्रतिनिधित्व गरेता पनि विकट ठाउँका गाउँका महिलाहरू माझ भने पहुँच पुग्न नसकेको उहाँको भनाई छ । पार्टीगत महिलाहरूको विभिन्न सङ्गठनहरू मार्फत आवाज उठाएर त्यसलाई सशक्त बनाएर लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । महिलाले महिलालाई नै सहयोग गर्नुपर्ने बताउंदैं उहाँले जबसम्म महिलाले महिलालाई सहयोग गदैनन् तबसम्म पनि महिला अगाडी बढ्न नसक्ने बताउनुभयो । महिलाको नेतृत्व नभए महिलाको आवाज दबाइने बताउदैं उहाँले एकजुट हुन आग्रह गर्नुभयो ।

त्यसै गरी बलात्कार जस्तो जघन्य अपराध गर्नेलाई सरकारले मृत्युदण्डको कानुन ल्याउनुपर्ने नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष सांसद उमा रेग्मीले बताउनुभयो । सरकारको प्राथमिकतामा महिलाको ज्यान नपर्ने भन्दै सांसद रेग्मीले पछिल्लो समय सुराकी बनेर आफन्तबाट नै छोरीहरू सुरक्षित नरहेको बताउनुभयो । यौन शिक्षा दिन हिचकिचाउन नहुने भन्दै सांसद रेग्मीले दीर्घकालीन कानुनको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । नारी दिवस मनाईरहंदा नारी माथि हुने हिंसाका कारण भारी मनले दिवस मनाउनुपर्ने बाध्यता रहेको उहाँको भनाई थियो ।

त्यस्तै बलात्कृत महिलालाई संरक्षण गर्न छाडेर राजनीतिक कार्यकर्तालाई ढाकछोप गर्ने प्रवृत्तिको अन्त्य नभएसम्म महिलाहरू सुरक्षित नहुने नेपाल ल क्याम्पस उपप्राध्यापक अधिवक्ता विष्णु बस्यालले बताउनुभयो । महिलाका पक्षमा वकालत भएता पनि विषयलाई सही तरिकाले उठान गर्न नसकेको अधिवक्ता बस्यालको भनाई छ । सहभागी महिलाहरूले परदेशबाटै भएता पनि एकजुट भएर महिला हिंसाका विरुद्धमा लाग्ने अठोट गरेका छन् । गोष्ठीमा सहभागीहरूले हरेक दिन हुने बलात्कार र हत्याका घटनाले विदेशमा बस्ने नेपालीहरूको मन बिछिप्त भएको बताएका छन् । हाम्रो आवाज सदन सम्म पुर्‍याइदिनु हुन आग्रह गर्दै उनीहरूले बलात्कारीको कुनै नाता नहुने भन्दै अपराधीलाई फाँसी दिनुपर्ने माग समेत गरेका छन् ।

नेपाल, स्पेन, अमेरिका, लन्डन, अस्ट्रिया, नर्वे, जर्मन, स्विजरल्याण्ड, कतार, साउदी अरब, इजरायल, साइप्रस लगायत १५ देशका महिलाहरूको सहभागीतामा रहेको जुम भर्चुअल गोष्ठीमा करिब १५० जना भन्दा बढिको सहभागिता रहेको थियो । गोष्ठीमा नेपाली काँग्रेस महिला विभागकी केन्द्रीय सचिव लक्ष्मी खतिवडा, समाजकी वैधानिक सल्लाकार तथा लैड्डिक विशेषज्ञ डाक्टर ज्योति तुलाधर, नेपाल सरकार पोर्तुगलका लागि पर्यटनदुत रमेश गुरुड्ड, व्यस्तताका कारण गैर आवासीय नेपाली सङ्घकी उपाध्यक्ष रबिना थापाले एस ए मेस मार्फत शुभकामना सन्देश पठाउनु भएको थियो । त्यस्तै गरी गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्तुगलका अध्यक्ष तिलक गैरे, नेपाल पत्रकार महासङ्घ तथा प्रेस युनियनकी केन्द्रीय सदस्य सिर्जना अर्याल, चेली माइती समूहकी संयोजक इन्दिरा निरौला, जी.पी फाउन्डेसन पोर्तुगलका सभापति सुशील शर्मा गैरे, जनसम्पर्क समिति पोर्तुगलका कार्यकारी सभापति वकिल के.सी, जनसम्पर्क समिति बेल्जियमकी सभापति तथा क्याट बेल्जियमकी पूर्व अध्यक्ष सिता सापकोटा लगायत पोर्तुगलका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्देश्यबारे नेपाली नारी समाज पोर्तुगलकी संस्थापक अध्यक्ष तथा सम्मानित सदस्य सिता बरालले प्रकाश पार्नु भएको गोष्ठीको समाजकी उपाध्यक्ष विद्या आर्चाय (विमला) ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । महासचिव सिता श्रेष्ठ (शिवानी) ले सञ्चालन गर्नुभएको कार्यक्रम समाजfकी कार्यवाहक अध्यक्ष मिनामाया खरेलको अध्यक्षतामा गरिएको हो । ८ मार्चका दिन मनाइने नारी दिवस यस वर्ष भने परिस्थितिलाई मध्यनजर गर्दै पोर्तुगलमा लकडाउनको अवस्था भएता पनि भर्चुअल जुम मार्फत समयानुकूलता मिलाए अघिल्लो दिन आइतबार मनाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू