अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०१ | Colorodo: 20:16

मिथिला महोत्सव अमेरिका २०२१ कला प्रदर्शनीका लागि १० जना महिला सहित ११ कलाकारहरूको कलाकृति छनौट

बिआरटीनेपाल २०७७ फागुन २४ गते ११:४५ मा प्रकाशित

‘दिगो विकास लक्ष्यको लागी कला: मिथिला सम्पदा’ मूल नारा सहित अप्रिल १४ देखि २१ सम्म न्युयोर्कमा हुने मिथिला महोत्सव अमेरिका २०२१ मा ११ कलाकारहरूको कलाकृति प्रदर्शन गरिने भएको छ । ११ कलाकारमध्ये १० जना महिला छनौट गरिएको छ ।

नेपालबाट छनौट गरिएका कलाकारहरूमा अमृता दत्त, मधुमाला मण्डल, मनीषा साह, मञ्जुला ठाकुर, नम्रता सिंह, पानो दास, एससी सुमन, सुधिरा कर्ण र सुनैना ठाकुर रहेका छन् । त्यस्तै अन्य कलाकारमा भारतीय मूलकी अमेरिका निवासी नुपुर निसिथ र सिंगापुरबाट श्वेता झा रहेका छन् ।

प्रदर्शनीका लागि नेपाल, सिंगापुर र अमेरिकामा रहेका कलाकारको कलाकृति छनौट गरिएको आयोजक अमित शाहले जानकारी दिए । अधिकांश महिला सहभागी कलाकारहरू दुर्गम ग्रामीण क्षेत्रबाट रहेको र यसबर्ष महिला उद्यमशीलतालाई प्रवर्द्धन गर्नुसमेत आफूहरूको उद्देश्य रहेको शाहले जानकारी दिए ।

मिथिला सेन्टर युएसएको आयोजनामा मिथिला महोत्सव अमेरिका गर्न लागिएको हो । मिथिला कला र संस्कृतिको प्रवर्द्धन र प्रदर्शन गर्नुका साथै मिथिला कलाको माध्यमबाट संयुक्त राष्ट्रसङ्घीय दिगो विकास लक्ष्यको प्रदर्शन गर्ने निरन्तर प्रयास स्वरूप कार्यक्रम आयोजना गरिने आयोजकको भनाई छ । यस वर्षको मिथिला महोत्सव अमेरिकाको मूल नारा ‘दिगो विकास लक्ष्यको लागी कला: मिथिला सम्पदा’ रहेको छ।

यस पटक सुस्वास्थ्य तथा समृद्ध जीवनलाई केन्द्रित गरी कोभिड १९ विरुद्ध सावधानी र निरोधात्मक उपायहरूसम्बन्धीमा सामुदायिक जागरूकता बढाइने भएको छ । तसर्थ यो कार्यक्रममा सहभागी हुन चाहने इच्छुक कलाकारहरूलाई मुख्य नारालाई ध्यानमा राखी तयार पारिने आफ्नो चित्रकलाको नमुना र आफ्नो संक्षिप्त परिचय मार्च ६ सम्म इमेलमा पठाउन अनुरोध गरिएको थियो । त्यसै अनुसार प्राप्त कलामध्येबाट ११ कलाकारका कलाकृति छनौट गरिएको छ ।

प्रथम मिथिला महोत्सव २ वर्ष अगाडि सन् २०१९ को अप्रिलमा संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा चित्रकला प्रदर्शनीसँगै सम्पन्न भएको थियो । मिथिला महोत्सव र कला प्रदर्शनीको आयोजना गर्दा अमेरिका तथा अन्य राष्ट्रहरूमाझ सांस्कृतिक पर्वको रूपमा मनाउने मात्र नभई संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य हासिल गर्ने सन्दर्भमा समेत मिथिला सम्पदाबाट हुनसक्ने योगदानबारे सामुदायिक चेतना बढाउन पनि सहयोग पुग्ने आयोजकको विश्वास छ । साथै मिथिला राजा सलहेश जयन्ती समारोह, नव वर्ष तथा जुड़ शीतल चाड र मिथिला साहित्य सम्बन्धी कार्यक्रमहरू पनि यस वर्षको मिथिला महोत्सव अमेरिकामा समावेश गरिनेछ ।

दक्षिण एसियामा मिथिला संस्कृतिले आफ्नो एक विशेष संस्कृतिको पहिचान बनाएको छ । रामायण र अन्य हिन्दु साहित्यमावर्णन गरिएझैँ प्राचीन नेपाली र भारतीय संस्कृतिको मिश्रण मिथिला संस्कृति हो । देवी सीता र भगवान् रामको जीवन गाथाले यस संस्कृतिमा विशेष महत्त्व ओगटेको छ । हजारौँ वर्षअघि मिथिला राज्यको राजधानी रहेको जनकपुरधाम जन्मभूमि भएकी सीता (जानकीको नामले पनि चिनिने) को विवाह अयोध्याका राजकुमार भगवान् रामकासाथ सम्पन्न भएको थियो ।

मिथिला संस्कृति एक जीवन्त संस्कृति पनि हो । किनकि नेपाल र भारत एवम् अन्य देशहरूमा बस्ने मिथिला समुदायका व्यक्तिहरूले आफ्नो सांस्कृतिक मूल्य र मान्यताहरूलाई दैनिक जीवन र व्यवहारमा अँगालेका छन् ।

यस प्रकारले यस समुदायले आफ्नो धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्पदालाई समृद्धिशाली बनाउन योगदान गर्दै आएको र मानवता, मित्रता, शान्ति र समृद्धिको मूल्य मान्यताको प्रवर्द्धन गरेको छ। अमेरिकामा सबैभन्दा बढी मिथिला समुदायका व्यक्तिहरू दशकौँदेखि बसोबास न्यु योर्क र न्युजर्सीमा बसोबास गर्दै आएका छन् ।

मिथिला कला संसारभर प्रख्यात छ । महिला आर्टिस्टहरुको विशेष योगदानले नै मिथिला चित्रकला विभिन्नरुपमा शताब्दीऔंदेखि अस्तित्वमा छ ।

घरको भित्तामा बनाइने चित्रकलाकालागि महिला आर्टिस्टहरु प्रख्यात छन् र सो सम्बन्धी ज्ञान उनीहरूबाट नै नयाँपिढीहरुमा हस्तान्तरण हुँदै आएको छ । मिथिला कलाले पौराणिक र धार्मिक विषयहरूका अतिरिक्त सामाजिक टिप्पणी एवम् सिँगार सजावट सम्बन्धमा पनि प्रस्तुत गर्दछ । मिथिला चित्रकलालाई समकालीन र संकलनीय कलाको रूपमा हाल मान्यता दिइएको छ । महिला वा पुरुष आर्टिस्टका हातहरूले बनाएका कागजका तैलीय चित्रहरू माटोका भित्तामा बनाइएका चित्रहरू जस्तै छन् । विश्वका विभिन्न आर्ट ग्यालरीहरूमा मिथिला चित्रकलाको प्रदर्शन भएको छ र यसबाट ग्रामीण समुदायका विपन्न महिलाहरुकालागि आय आर्जनको श्रोत पनि बढाउने नयाँ किसिमको घरेलु उद्योग फस्टाउने सम्भावना बढेको छ ।

‘हामी अहिले कोभिड १९ को महामारीको कारणले एकदमै कठिन समयबाट गुज्रिरहेका छौँ । हामी पूर्ण विश्वस्त छौँ कि यस्ता सांस्कृतिक चाडपर्व मनाउने कार्यबाट हामीबिच सामन्जस्यता, सौजन्यता, धैर्यता र साहस बढाउन र शान्ति र समृद्धिकोलागि सामुदायिक एकता सुदृढ गर्न तथा कोभिड १९ महामारीको विरुद्धमा सावधानी र निरोधकालागि सामुदायिक जागृति बढाउन पनि मद्दत पुग्नेछ ।’ –आयोजकले बताएका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू