प्रतिपक्षी दल जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार दिउँसो एक बजे दलको बैठक बोलाएको जसपाका नेता राजकिशोर यादवले जानकारी दिनुभयो । पछिल्लो राजनीतिक अवस्था र आगामी दिनमा संसदमा खेल्ने भूमिकाबारे छलफल गर्न बैठक बोलाएको यादवको भनाई छ ।
प्रतिनिधिसभा पुनःस्थापनापछि बसेको संसद् बैठक र सरकारको नेतृत्व गरिरहेको नेकपामा आएको विवादपछि आफ्नो दलले संसद् र सरकारमा कस्तो भूमिका खेल्ने भन्ने रणनीतिबारे छलफल गर्न दलको बैठक बोलाएको नेताहरुले जनाएका छन् ।
सर्वोच्च अदालतले सत्तारुढ नेकपा नामको आधिकारिताबारे आइतबार फैसला गरेको थियो । जसमा नेकपा दल ऋषि कट्टेलको हो भनेको थियो । त्यसका साथै साविककै एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् ।
यस्तो अवस्थामा संसद्मा पनि सरकार निर्माणका लागि नयाँ गठबन्धन बन्न सक्ने अवस्था बनेको छ । यसबारे पनि दलहरू आन्तरिक र द्विपक्षीय छलफलमा जुटेका छन् । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण गरेर जसपा बनेपछि पहिलो पटक संसदीय दलको संयुक्त बैठक बस्न लागेको हो ।