अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०७ | Colorodo: 00:22

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा महिला व्यवसायी सम्मानित

बिआरटीनेपाल २०७७ फागुन २४ गते ७:०९ मा प्रकाशित

नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा एक सय ११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सोमवार चेम्बरअन्तर्गतको नेपाल महिला चेम्बरले चार महिला व्यवसायीलाई सम्मान गरेको छ । सम्मानित हुने महिला व्यवसायीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मानपत्र प्रदान गर्नुभयो ।

आईटी एण्ड इन्नोभेशन अवार्डबाट अदिति गोयल सम्मानित हुनुभएको छ । यस्तै बिजनेस मोटिभेटर अवार्डबाट राधालक्ष्मी श्रेष्ठ सम्मानित हुनुभएको छ । एग्रो आन्टरप्रेनर अवार्ड झापाको कन्काई महिला ग्रुपले प्राप्त गरेको छ । यस्तै महिला उद्यमी अवार्ड रेखा चौधरी शर्माले प्राप्त गर्नुभयो । विशेष समारोह आयोजना गरेको छ । काठमाण्डौमा भएको कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले सामाजिक राजनीतिक रूपान्तरणमा महिलाको महत्त्वपूर्ण भूमिका रहे पनि त्यसको वास्तविक सम्मान हुन नसकेको बताउनुभयो ।

‘संविधानले महिलालाई समान अधिकार दिएको छ, सामाजिक न्यायसहितको समानुपातिक सहभागिताले समाजका सबै क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाएको छ’, उपराष्ट्रपति पुनले भन्नुभयो, ‘विश्वमै नेपाल उदाहरणीय बनेको छ । तर कानुनले दिएका अधिकारहरूको व्यावहारिक कार्यान्वयनका लागि अझ धेरै काम गर्न बाँकी छ ।’ दिनानुदिन बलात्कारका घटना बढ्नु चिन्ताको विषय भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले अपराधीलाई कानुनी कारबाही गर्न नसक्दा समाजमा असुरक्षा बढेको र अन्तर्राष्ट्रियस्तरमा देशको छविसमेत धुमिल भइरहेको बताउनुभयो । ‘कुनै पनि समाजमा महिलाको अवस्था कस्तो छ भन्ने आधारमा त्यस समाजको प्रकृति र चरित्र थाहा हुन्छ’, उहाँले भन्नुभयो । उपराष्ट्रपति पुनले महिलाद्वारा सञ्चालित उद्दमको प्रवद्र्धनका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै जानु चिन्ताको विषय भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिलाद्वारा सञ्चालित फार्म तथा व्यावसायिक प्रतिष्ठानलाई करमा विशेष छुट दिन आग्रह गर्नुभयो । कृषि तथा जलविद्युत् क्षेत्रमा जस्तै महिला सञ्चालित उद्यम व्यवसायलाई बैंकले ब्याजदर घटाउने गरी सरकारले नीति ल्याउनुपर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । सरकारले महिलाद्वारा सञ्चालित व्यवसायलाई १५ लाख रुपैयाँसम्म विना धितो ऋण दिने नीति लिए पनि विभिन्न झन्झट बेहोर्नुपरेको उहाँले बताउनुभयो । ‘जति दिने हो, विना झन्झट, स्वतःस्फुर्त पाउने व्यवस्था मिलाउन अनुरोध गर्दछौँ’, उहाँले भन्नुभयो । अध्यक्ष श्रेष्ठले महिलाले उत्पादन गरेका सामानको प्रयोग गर्न र विदेशसम्म निर्यात हुने वातावरण बनाउन आग्रह गर्नुभयो ।

नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले राजनीतिक, आर्थिक अधिकार पाए पनि कार्यान्वयन फितलो हुँदा महिला लाभान्वित हुन नसकेको बताउनुभयो । महिलालाई आर्थिक रूपले सक्षम नबनाइ कानुनी अधिकारको पूर्ण उपयोग हुन नसक्ने उहाँले बनाउनुभयो । महिलाले गर्ने व्यवसायमा कर छुट तथा सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न अध्यक्ष श्रेष्ठले माग गर्नुभयो । नेपाल महिला चेम्बरले महिलाको क्षमता अभिवृद्धिमा काम गरिरहेको उल्लेख गर्दै उहाँले नीतिगत सुधारमा पनि आफूहरूले आवाज उठाइरहेको बताउनुभयो ।

कार्यक्रममा नेपालका लागि युरोपियन डेलिगेशनकी प्रमुख नोना डेप्रेज, श्रीलङ्काकी राजदूत हिमाली सुभासिनी अरुना तिलका र अस्ट्रेलियाली राजदूत फेलिसिटी जेनिभल्कको पनि उपस्थिति थियो । कार्यक्रममा उपराष्ट्रपति पुनले नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा एक सय ११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर आयोजित तीन दिने ट्रेड फेयरको पनि उद्घाटन गर्नुभयो । सोमबारदेखि सुरु भएको व्यापार मेला बुधबारसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू