अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२२ | Colorodo: 00:37

मुस्कान खातुनलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्रदान गरिने

बिआरटीनेपाल २०७७ फागुन २१ गते ८:०६ मा प्रकाशित

एसिड आक्रमणविरुद्धकी अभियन्ता मुस्कान खातुनलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गरिने भएको छ । अमेरिकी विदेश मन्त्रालयले यस वर्षको पुरस्कार खातुनलाई दिने निर्णय गरेको नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

तेजाब हमला अन्त्यतर्फ लक्षित उनको कार्यका लागि यो पुरस्कार दिइने पनि विज्ञप्तिमा उल्लेख छ । मुस्कान यो पुरस्कार पाउने पहिलो नेपाली हुनुहुन्छ । त्यस्तै उहाँ यो पुरस्कार पाउने सबैभन्दा कम उमेरकी व्यक्ति पनि बन्नुभएको छ । ८ मार्चमा एक भर्चुअल पुरस्कार समारोहमा अमेरिकी प्रथम महिला जिल बाइडेन र विदेशमन्त्री टोनी ब्लिङ्कन सहभागी हुनुहुनेछ ।

१५औँ वर्षमा रहेको आईडब्ल्यूओसी पुरस्कारले व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्दछ । यसका अघिल्ला विजेतामध्ये पाकिस्तानमा महिला तथा किशोरीहरूका लागि वकालत गर्ने कामका लागि सम्मानित मलाला युसुफजई पनि छिन् । जो सबैभन्दा कम उमेरकी नोबेल पुरस्कार विजेता हुन् ।

१५ वर्ष उमेर छँदा एक किशोरको प्रेम प्रस्ताव अस्वीकार गर्दा मुस्कानमाथि एसिड प्रहार भएको थियो । उहाँको अनुहार, छाती र हातमा गहिरो चोट लागेको थियो । धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको लागि वकालत गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू