अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५५ | Colorodo: 11:10

नेकपा संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन

बिआरटीनेपाल २०७७ फागुन २१ गते ७:२४ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी नेकपाको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ । सिंहदरबारमा जेष्ठ सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा बसेको आजको बैठकले विधिवत रुपमा संसदीय दलको नेता परिर्वतन गरेको हो । संसदीय दलको नेता चयन भएपछि प्रचण्डले सबै सांसदहरुलाई धन्यवाद दिनुभएको छ । बैठकअघि प्रचण्ड–नेपाल पक्षले आफू पक्षीय सांसद्हरुको हस्ताक्षर सङ्कलन समेत गरेको थियो ।

नेकपाको संसदीय दलका बहुमत सदस्य आफ्नो पक्षमा रहेको उनीहरुको दाबी छ । आज ११४ जना सांसदहरुको हस्ताक्षर संकलन भएको नेताहरुले दाबी गरेका छन् । ओली पक्षले पनि आफुहरुको पक्षमा बहुमत सांसद रहेको दाबी गर्दै आएका छन् । दुबै पक्षले आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिरहेका बेला आधिकारिक रुपमा कसको पक्षमा कति सांसद छन् भन्ने बारेमा औपचारिक सङ्ख्या आइसकेको छैन । प्रतिनिधिसभामा नेकपाका १७३ सांसदहरु रहेका छन् ।

यसैबीच, नेकपा प्रचण्ड–नेपाल समूहले नेकपाको अधिकारिकता विवाद अविलम्ब निरुपण गरिदिन निर्वाचन आयोगलाई आग्रह गरेको छ । अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको पाँच पृष्ठ लामो पत्र लिएर राजेन्द्र पाण्डे सहितका नेताहरु आयोग पुगेका थिए । तत्काल विवाद निरुपण सम्बन्धी प्रक्रिया सुरु गर्न भनेर निवेदन दिएको पाण्डेले बताउनुभयो । जवाफमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पर्सि आइतबार आयोगको बैठक बस्ने र त्यही दिनबाट प्रक्रिया सुरु गर्ने आश्वासन दिएको पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू