अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५९ | Colorodo: 03:14

प्रचण्ड नेपाल समूहका नेताहरु निर्वाचन आयोगमा, आधिकारिकता विवाद छिटो टुङ्ग्याउन आयोगलाई ध्यानाकर्षण

बिआरटीनेपाल २०७७ फागुन २० गते ७:१६ मा प्रकाशित

नेकपाको प्रचण्ड नेपाल समूहका नेताहरुले आधिकारिकता विवाद छिटो टुङ्ग्याउन निर्वाचन आयोगलाई ध्यानकर्षण गराएका छन् । पार्टीको आधिकारिकता दिन ढिलाइ गरेको भन्दै निर्वाचन आयोगको भूमिकाप्रति आपत्ति जनाएको प्रचण्ड नेपाल समूहका नेताहरु आयोग पुगेरै ध्यानकर्षण गराएका हुन् । हिजो बसेको यो समूहको केन्द्रीय कमिटी बैठकले आयोगको पुनः ध्यानाकर्षण र ताकेता गर्ने निर्णय गरेको थियो । त्यसैअनुसार स्थायी कमिटी सदस्य लिलामणि पोखरेल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डे लगायत नेता आयोग पुगेको समूहका कार्यालय सचिव श्रीराम ढकालले बताउनुभयो ।

हिजोको बैठकमा केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र समेत संकलन गरिएको थियो । बैठकले आयोगको कार्यशैलीप्रति आपत्ति जनाउँदै राज्यको कानुन, नेकपाको विधान, लोकतान्त्रिक प्रणाली र मान्यता बमोजिम तत्काल निष्पक्ष एवम् न्यायसङ्गत निर्णय गर्नपर्ने ठहर गरेको थियो । प्रचण्ड नेपाल समूहले गत माघ २० मा राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ को प्रक्रिया अनुसार आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिएको छ । तर आयोगले उक्त निवेदनमाथि के गर्ने भन्ने निर्णय गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू