अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३३ | Colorodo: 22:48

प्रतिबन्धित नेकपा नेकपा विप्लव समूह र सरकारसँग तीन बुँदे सहमति

सरकारद्वारा समूहमाथिको प्रतिबन्ध फुकुवा, शुक्रबार प्रधानमन्त्री र ‘विप्लव’ले एउटै मञ्चबाट सम्बोधन गर्ने

बिआरटीनेपाल २०७७ फागुन २० गते ७:१२ मा प्रकाशित

प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र सरकारबीच ३ बुँदे सहमति भएको छ । सहमति संगै सरकारले नेत्रविक्रम चन्द ‘विप्लव समूह’लाई लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । हिजोदेखि बालुवाटारमा भएको वार्तामा सरकारले ‘विप्लव समूह’लाई लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । साथै विप्लव समूहका राजनीतिक बन्दी रिहा र मुद्दा खारेज गर्न पनि सरकार सहमत भएको छ ।

दुई दिनसम्म चलेको वार्तामा प्रतिबन्ध फुकुवा लगायत तीन बुँदामा सहमति भएको छ । चन्द समूहसँग सम्पूर्ण राजनीतिक विषयको समाधान संवादबाट गर्ने र राजनीतिक गतिविधि शान्तिपूर्ण रुपमा गर्ने सहमति भएको छ । सहमति पत्रमा सरकारका तर्फबाट गृहमन्त्री राम बहादुर थापा र विप्लव समूहका तर्फबाट खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले हस्ताक्षर गर्नु भएको छ ।

सरकारले २०७५ फागुन २८ मा प्रतिबन्ध लगाएपछि प्रहरीले विप्लव समूहका नेता कार्यकर्तालाई जहाँ भेट्यो त्यही पक्राउ गर्ने नीति लिएको थियो । सहमत्तिको विस्तृत विवरण भने फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहमा गरिने विज्ञप्तिमा जनाइएको छ । उक्त समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव ‘विप्लव’ले सम्बोधन गर्ने कार्यक्रम छ ।

गत हप्ताको बुधबार सरकारले गृहमन्त्री थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको थियो । यस्तै विप्लव समूहले पूर्वमन्त्री ‘प्रकाण्ड’को संयोजकत्वमा केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ सम्मिलित वार्ता टोली गठन गरेको थियो । विप्लव समूहले वार्तामा बस्नु अगावै प्रतिबन्ध फुकुवा र जेलमा रहेका नेता, कार्यकर्ताको रिहाइ हुनुपर्ने माग राखेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू