अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४७ | Colorodo: 11:02

फेवातालको बाँध मर्मत सकियो, पानी भरिन एक महिना लाग्ने

बिआरटीनेपाल २०७७ फागुन १८ गते ७:४२ मा प्रकाशित

बाँध मर्मत सकिएसँगै फेवातालमा पानीको सतह पुरानै अवस्थामा फर्काउन सुरु गरिएको छ । गत हप्ता शुक्रबारदेखि फेवातालमा पानी भर्न थालिएको हो । फेवातालको मुहान हर्पन खोला र आकासे पानी नै अहिले तालको सतह पुरानै अवस्थामा फर्काउन प्रयोग गरिएको कार्यालय प्रमुख इन्जिनियर किरण आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार अबको २२ दिनदेखि एक महिनाभित्र तालमा पानीको सतह पुरानै अवस्थामा आउने छ ।

ताललाई पुरानै स्वरुपमा फर्काउन १ दशमलव ४५ मिटर पानी भर्नुपर्ने हुन्छ । पछिल्लो ५ दिनमा ० दशमलव ५ मिटर पानी भरिएको इन्जिनियर आचार्यले जानकारी दिनुभयो । फेवातालबाट गत २४ माघमा करिब ६ करोड लिटर पानी बगाइएको थियो । ‘पानीको सतह बढ्न सुरु भइसकेको छ । पछिल्लो ३–४ दिन पानी पर्यो । खास १५ दिनमा ० दशमलव ५ मिटर पानी बढ्नुपर्ने हो,’ उहाँले भन्नुभयोे, ‘पानी परेकाले ३–४ दिनमै ० दशमलव ५ मिटर भयो । अब २२ दिनदेखि एक महिनामा पुरानै अवस्थामा फर्किन्छ ।’

फेवाताल पुरिएको क्षेत्रबाट माटो झिक्ने काम सुरु भएकाले तत्काल पानी नभरिने भएको हो । पछि आवश्यक परे नहर हुँदै सेती नदीको पानी तालमा मिसाएर सतह बढाइने इन्जिनियर आचार्यले बताउनुभयो । २०३४ सालमा बाँधिएको बाँध पहिलोपटक ठूलो खर्चमा मर्मत गरिएको हो । तालको बाँध र सिँचाइ नहर मर्मत गर्न दुई करोड रुपैयाँमा पर्वतको हरिबसु निर्माण सेवा प्रालिले ठेक्का लिएको थियो । बाँधको सामान्य मर्मत भने आवश्यकता अनुसार वर्ष–वर्षमा भइरहन्छ ।

फेवातालको आकार बढाउन पहिलोपटक २०१८ सालमा बाँधिएको बाँध २०३१ सालमा फुटेको थियो । त्यसपछि हाल प्रयोगमा रहेको बाँध बनाइएको हो । अब २५ वर्षसम्मलाई ठूलो खालको मर्मत गर्नु नपर्ने इन्जिनियर आचार्यले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू