अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४७ | Colorodo: 18:02

अदालतले पुनःस्थापित गरेको संसदलाई जीवन्त र जनमुखी बनाउँछुः सभामुख सापकोटा

बिआरटीनेपाल २०७७ फागुन १७ गते ७:१४ मा प्रकाशित

सभामुख अग्नि प्रसाद सापकोटाले सर्वोच्च अदालतले पुनःस्थापित गरेको संसदलाई जीवन्त र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा) को तेस्रो स्थापना दिवसको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा सभामुख सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउन आफ्नो वुद्धि, विवेक, योग्यता र क्षमता सम्पूर्ण रुपले लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

संसदको काम कानून निर्माण गर्ने भएको बताउँदै उहाँले फागुन २३ देखि शुरु हुने संसदबाट शुसानका लागि गुणस्तरीय कानून निर्माणमा ध्यान दिने बताउनुभयो । सभामुख सापकोटाले पुस ५ देखि फागुन ११ सम्म नेपाली पत्रकारिताले अग्रवाणी भएर काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज नेपाली पत्रकारिताप्रति गौरव महसुस भएको छ । गत पुष ५ देखि फागुन ११ सम्मको संसद पुनस्थापनाको महान काममा नेपाली पत्रकारिता जगतले भएर काम गरेको छ । लोकतन्त्र बचाउन र संविधानको रक्षाका लागि नेपाली सञ्चार जगतले खेलेको भूमिका प्रशंसनीय छ ।’

सभामुख सापकोटाले यसअघि आणविक युद्ध, जलवायु परिवर्तन लगायतका विषयमा धेरै बहस र चर्चा भइसकेको बताउँदै अब पत्रकारिताको माध्यमबाट ‘आर्टिफिसियल इन्टेलिजेन्स’ले ल्याउने चुनौतिका बरेमा चर्चा गर्नुपर्ने बताउनुभयो । उहाँले परिवर्तनका लागि सामाजिक सञ्जालको भूमिका महत्वपूर्ण भएको धारणा राख्दै यसका चुनौति पनि उत्तिकै रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू