अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३२ | Colorodo: 14:47

“म माथि आक्रमण हुनसक्छ” –प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७७ फागुन १७ गते ६:५५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि भौतिक आक्रमण हुन सक्ने बताउनुभएको छ । सोमबार पोखरामा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणमा प्रधानमन्त्री ओलीले आफूमाथि भौतिक आक्रमण हुनसक्ने आशंका व्यक्त गर्नुभएको हो । देश विकासको बाटोमा तीव्र गतिमा अघि बढेकाले आफूमाथि आक्रमण हुन सक्ने उहाँको भनाइ छ ।

ओलीले योजनाबद्ध ढङ्गले विकास गर्ने प्रयासमा सरकार रहेको पनि दाबी गर्नुभएको छ । उहाँले विप्लव माओवादी सँगै छिट्टै वार्ता हुने पनि जानकारी गराउनुभयो । देशी विदेशी शत्रुहरूले गम्भीर षड्यन्त्र गरिरहेको बताउँदै उहाँले पटक–पटक सरकारविरुद्ध हमलासमेत भएको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री ओलीले देशको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको रक्षार्थ सरकार उभिँदा हमला भइरहेको बताउनुभएको छ । उहाँले सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्पलाई जसरी पनि प्राप्त गरिछाड्ने दृढता समेत दोहोर्याउनुभएको छ । देशको भविष्य र पार्टीलाई तलमाथि पार्न दिन नहुने भन्दै उहाँले कार्यकर्तालाई प्रतिगमनविरुद्ध नझुक्न समेत निर्देशन दिनुभयो ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएर पार्टी एकतामा सहयोग पुर्याउन प्रचण्ड—नेपाल समूहलाई आग्रह गर्नुभएको छ । उहाँले प्रचण्ड र नेपाल सच्चिने यो अन्तिम अवसर भएको समेत बताउनुभएको हो । अदालतको फैसलाले अवसरवादीहरूलाई सच्चिने मौका दिएको समेत थापाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू