अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५७ | Colorodo: 07:12

फेवातालको नयाँ क्षेत्रफल सार्वजनिक

बिआरटीनेपाल २०७७ फागुन १६ गते ६:५९ मा प्रकाशित

पोखरास्थित फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिले अध्ययन अनुसन्धानबाट तालको क्षेत्रफल ५ दशमवल ७२ वर्गकिलोमिटर अर्थात् ११ हजार २ सय ५५ रोपनी ११ आना एक पैसा कायम गरेको हो ।

समितिले तालको क्षेत्रफल यकीन गरी संघीय सरकारलाई सिफारिस गरेकामा गत फागुन ११ गतेको मन्त्रिपरिषद् बैठकले सो सम्बन्धमा निर्णय गरेपछि गण्डकी प्रदेश सरकारले आज समितिको प्रतिवेदन पोखरामा सार्वजनिक गरेको हो । नयाँ सीमांकनअनुसार फेवाताल सीमारेखाको परिधि १८ किलोमिटर हुनेछ ।

फेवातालको चार किल्ला पूर्वमा ‘ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खपौँदी–चंखपुरबीचको दम्किलो र दक्षिणमा चिसापानी रानी वन’ कायम गरिएको छ । यसैगरी फेवातालको तल्लो तटीय क्षेत्रमा वर्षायामको अधिकतम पानीको किनारालाई तालको सिमाना मानिने छ । फेवातालबारे अहिलेसम्म तयार पारिएका विभिन्न अध्ययन प्रतिवेदनमा तालको क्षेत्रफल फरक फरक देखाइएको छ ।

हालसम्म विभिन्न समयमा गठन भएका ९ वटा अध्ययन समितिले भिन्नभिन्न प्रतिवेदन बुझाएका छन् । पहिलो पटक गठन भएको ब्रिटिस सर्भे अफ इन्डियाले फेवातालको क्षेत्रफल ३ दशमलब ४३ वर्ग किलोमिटर उल्लेख गरेको थियो ।त्यस्तै नेपाल भारत सहयोग मिसनले वि.स. २०१८ सालमा गरेको अध्यक्षमा १० वर्ग किलोमिटर क्षेत्रफल उल्लेख गरेको थियो भने केन्द्रीय नापी विभागले वि.स. २०६४ मा गरेको सर्भे अनुसार ४ दशमलब २० वर्गकिलोमिटर उल्लेख गरिएको थियो ।

प्रतिवेदन सार्वजनिक गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अब फेवातालको संरक्षणमा उल्लेखनीय कार्य गर्न सहयोग पुग्ने बताउनुभयो । पोखरा महानगर प्रमुख मानबहादुर जिसीले तालको सीमाङ्कनपछि सबैले देख्ने गरी किल्ला गाडिने जानकारी दिँदै तालको पनि संरक्षण हुने र स्थानीयवासीको समेत उठिबास नहुने गरी काम गरिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू