अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४० | Colorodo: 18:55

भूकम्पले भत्किएको गौतम बुद्ध माबिको पक्की भवनको सांसद मोहन आचार्यद्वारा उद्घाटन

बिआरटीनेपाल २०७७ फागुन १५ गते ८:४६ मा प्रकाशित

रसुवा । रसुवाको नौ कुण्ड गाउँपालिका ३ पाच्र्याङ स्थित गौतम बुद्ध माध्यमिक विद्यालय को पक्की भवन निर्माण भएको छ । २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले भवन भत्किएपछि टहरामा सञ्चालन हुँदै आएको थियो । विद्यालय जापान सरकार र शान्ति भोलेन्टियर एसोसिएसनको आर्थिक तथा प्राविधिक सहयोग एवम् ग्रामीण विकास समाज नेपालको समन्वयमा विद्यालयको १२ कोठे पक्की भवन निर्माण सम्पन्न भएको हो ।

नवनिर्मित भवनको शुक्रवार प्रतिनिधिसभा सदस्य मोहन आचार्यले उद्घाटन गर्नुभएको छ । विद्यालय भवन उद्घाटन गर्दै सांसद आचार्यले अब ग्रामीण क्षेत्रको बिद्यालयहरुलाई क्याम्पस तहमा स्तरोन्नति गर्न आवश्यक पहल गर्ने बताउनुभयो । जनप्रतिनिधिको हैसियतले शिक्षा क्षेत्र मात्र नभएर सडकको बिस्तार, खानेपानी पर्यटन प्रवर्द्धन, कृषि र रोजगारीको क्षेत्रमा समेत आफूले काम गरिरहेको उहाँले बताउनुभयो ।

२०७२ सालको महाभूकम्पपछि विद्यालय टहरामा पठनपाठन भइरहेको थियो । अहिले भूकम्प प्रतिरोधी पक्की भवनमा पठनपाठन गर्न पाउँदा अत्यन्तै खुसी लागेको विद्यालयका प्रधानाध्यापक सुभद्र लामाले बताए ।

४ करोड २२ लाखको लागतमा विद्यालयको भवन निर्माण सम्पन्न भएको ग्रामीण विकास समाजका अध्यक्ष पदम उप्रेतीले बताउनुभयो । भवन उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य प्रेम तामाङ, नौ कुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु साङ्लो घले, शान्ति भोलेन्टियर एसोसिएसन नेपालका निर्देशक ताकाफुमी मियाके लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू