अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१२ | Colorodo: 19:27

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकको रिठेपानी डाँडा ६ महिनाभित्र कटान गर्न सरकारलाई संसदीय समितिको निर्देशन

बिआरटीनेपाल २०७७ फागुन १३ गते ७:१५ मा प्रकाशित

संसदीय समितिले पोखरा विमानस्थल नजिकको रिठेपानी डाँडा ६ महिनाभित्र कटान गर्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको आजको बैठकले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन तथा अवलोकनको क्रममा देखिएका समस्याको सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गरेपछि विमानस्थलको दक्षिण पूर्वमा रहेको रिठेपानी डाँडा कटान गर्ने कार्य ६ महिनाभित्र सम्पन्न गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयलाई निर्देशन दिएको हो ।

समिति सभापति तारादेवी भट्टले डाँडा कटान भएको प्रगति विवरण समितिमा पेस गर्न समेत मन्त्रालयलाई निर्देशन दिएको बताउनुभयो । समितिको बैठकले विमानस्थलभित्र निर्माण गर्न लागिएको नेपाल आयल निगमको डिपो निर्माण गर्ने कार्य पनि ६ महिनाभित्र सम्पन्न गरी समितिमा जानकारी गराउन निर्देशन दिएको छ । यस्तै पोखरा महानगरपालिकाको ल्याण्डफिल्ड साइट सार्ने सम्बन्धमा समितिले महानगरपालिकासँग छलफल गर्ने निर्णय समेत गरेको छ ।

समितिले विमानस्थल निर्माणका बाँकी रहेका सबै काम समयमै सम्पन्न हुने अपेक्षा समेत गरेको छ । सबै काम छिटोभन्दा छिटो सम्पन्न गर्न सम्बन्धित सबै मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको पनि सभापति भट्टले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू