अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०० | Colorodo: 03:15

मित्रसेन दाहाल: सेवा, समर्पण र सक्रियताको नाम

गोपी मैनाली २०७७ फागुन १० गते ८:१७ मा प्रकाशित

(ब्रह्मलीन भएका मित्रमा अर्पित शब्दहरू)

मानिस सामाजिक प्राणी भएका नाताले धेरै प्रकारका व्यक्तिहरूसँग सम्पर्क, भेटघाट र उठबस हुनु स्वाभाविक हो । तर कतिपय क्षण यस्ता हुन्छन्, जुन भुल्न सकिँदैनन्, जीवनभर प्रभाव छाडिरहन्छन् र शिक्षाप्रद पनि हुन्छन् । यस्तै एउटा घटना मेरो जीवनका लागि पनि संस्मरणयोग्य भयो र अरू प्रसङ्ग तन्काउन सघाउँदै ल्याएको छ ।

पाँच–छ वर्ष अघि देखिको कुरा हो, म राष्ट्रिय योजना आयोगमा पूर्वाधार विकास महाशाखा प्रमुखको जिम्मेवारीमा थिए । सार्वजनिक ओहोदामा रहँदा धेरै प्रकारका व्यक्तिहरू मेरो कार्यकक्षमा आउने, छलफल गर्ने, गुनासो राख्ने, मागदावी प्रस्तुत गर्ने गर्दथे । यो प्रक्रिया नियमित जस्तै हुन्थ्यो । पूर्वाधार विकासको जिम्मेवारीमा भएकाले मेरो कार्यस्थलमा आउनेहरूमा राजनीतिकर्मी र समाजसेवीहरू अधिक हुने गर्दथे र उनीहरूको माग, सुझाव, निवेदन, छलफलको विषय बाटोघाटो, पुलपुलेसा, कुलो सिचाई, खानेपानी, बिजुलीका हुने गर्दथे । हातमा केही पुस्तक र ब्रोसर लिएको, फिका कालो कोटमा पातलो तर केही अग्लो कदको व्यक्तिले मेरो कार्यकक्षमा अघिल्तिर शिष्टाचार सहित उभिएर परिचय दिँदै केही अनुरोध गर्नु भयो । अनुरोधमा पूर्वाधारको विषय थियो र निर्माण स्थल निरीक्षणको आमन्त्रण पनि थियो । यसलाई मैले सामान्य रूपमा लिए । कार्य व्यस्तता पनि थियो, अनुरोधप्रति सामान्य सम्मति दिएँ तर धेरै कुराकानी गर्न समय पनि थिएन । उहाँ मित्रसेन दाहाल हुनुहुन्थ्यो, उहाँको अनुरोध जे पी प्रतिष्ठानबाट निर्माण हुँदै गरेको मैत्री सेवाश्रमको सम्बन्धमा थियो ।

मित्रसेनजी मेरो कार्यकक्षबाट जानु भयो, तर मानसपटमा एउटा सामान्य कौतूहल भने बाँकी थियो । जे पी प्रतिष्ठान के हो ? कुन उद्देश्यमा स्थापना भएको हो ? यो पनि अरू गैरसरकारी संस्था जस्तै हो वा भिन्न छ ? पारिवारिक गुठी हो कि समाजसेवी संस्था हो ? के उहाँले भनेका कुरा ठिक छन् ? वा लुकेको रहस्य पनि छ ? नेपाल सरकारले यसलाई कसरी वैधानिकता दिएको छ ? खर्च जुटाउने स्रोत के हो ? आदि आदि ।

अर्को दिन यसखाले संस्थाको सम्पर्क र समन्वय गर्ने नेपाल सरकारको आधिकारिक निकाय महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सहसचिव शङ्कर पाठकजीलाई जे पी प्रतिष्ठान र यसले थालेको मैत्री सेवाश्रमका विषयमा सोधे । (जसरी मानव सेवा आश्रम हेटौडाका विषयमा हेटौडाका एल डी ओ र क्षेत्रीय प्रशासकसँग सोधेको थिए) । साथी शङ्कर पाठकले उदाहरणीय प्रयास हो, समय मिलेमा निर्माणाधीन ज्येष्ठ नागरिक आश्रम (मैत्री सेवाश्रम) को स्थलगत अवलोकन गर्न अनुरोध गर्दै आफ्नो कुरा बताए ।

शङ्कर पाठक र मन्त्रालयका अन्य साथीहरूको सुझावपछि म जेपी प्रतिष्ठानबाट निर्माणाधीन मैत्री सेवाश्रम निरीक्षण गर्न गए । काठमार्डौबाट केही पर शंखरापुर नगरपालिकाको लप्सेफेदी (ऐतिहासिक मणिचूड डाँडाको काख) मा एउटा नवीनतम सोच सहितको ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा छ । पृष्ठभूमिमा उल्लेख गरिएको विषय सन्दर्भ त्यही सेवाश्रमको विकाससँग सम्बन्धित हो र मित्रसेन दाहाल र मेरो सम्बन्ध पनि त्यसैले जुटाएका थियो । मैत्री सेवाश्रम एउटा आदर्श कल्पना सहितको बृहद योजना हो, हाल पहिलो चरणमा ३० साना ठुला भवन÷कुटीहरू बनेका छन् । पहाडको काख, तलतिर सम्म शंखरापुर उपत्यका, हरियाली, वागबगैचा, साधना स्थल, उपचार कक्ष, खुला क्षेत्रको संयोजन गरिएको छ । यसले ज्येष्ठ नागरिकका सबै पक्षलाई संशोधन गर्ने गरी आश्रम र सेवा व्यवस्थापन गर्ने अभीष्ट राखेको छ । सरकार, समुदाय र समाजसेवी मनहरूसँग सहकार्य गरे पनि यसको मियोमा मित्रसेन दाहाल हुनुहुन्छ । सहयोगी मनहरूलाई संयोजन गर्ने काम मित्रसेनजीले नै गर्नु भएको छ । यो एउटा बिम्बका रूपमा रहेको छ र सबै व्यक्तिको जीवनको उपल्लो क्षणमा यस प्रकारका आश्रममा रहँदा आश्रमभन्दा आदर्श आयामलाई भेट्टाउन सकिन्छ भन्ने सन्देश दिएको छ ।

सामाजिक प्रणालीमा आएको परिवर्तन, पुस्तान्तर प्रभाव र जैवनिक यथार्थलाई मैत्री सेवाश्रमले केही गर्न, सोच्न र सामूहिक प्रयासमा लाग्न मनोवैज्ञानिक उत्प्रेरणा पनि दिइरहेको छ । यसले अबको आधा शताब्दी पछिको ज्येष्ठ नागरिकका जीवन प्रणालीलाई विभिन्न पाटा–पटाक्षेपबाट हेर्न, घोत्लिन र केही गर्न त्यहाँ पुग्ने जो कुनैलाई मनोवैज्ञानिक रूपमा दबाब नै दिने गर्दछ । जीवनको पल्लो छेउप्रति सोच्न र जीवनप्रति जिम्मेवार बन्न घचघच्याइछ । जीवनको वास्तविकताप्रति सचेत गराउँछ । आत्मिक रूपमा सोच्न लगाउँछ । जीवन, समाज र कर्मलाई एकत्वीभूत गर्न शिक्षा दिन्छ । मलाई लाग्छ, मित्रसेन दाहाल मैत्री सेवाश्रममा समर्पित हुनुका पछि कुनै घटना, जीवनको अर्थबोध गराउने घटना, जीवनको मोड बदल्ने कुनै घटनाले प्रभाव पारेको हुनुपर्छ । महान् कार्य र त्यसमा समर्पित हुने व्यक्तिलाई कुनै घटनाले त्यहाँ पु¥याएको इतिहास साछी छ ।

मैत्री सेवाश्रमले ज्येष्ठ नागरिकका लागि सेवा पु¥याउदछ । क्षमता सीमित छ, तर यसले विपन्न, गरिब, गैरगरिब सबैलाई समेट्ने आशय राखेको छ । सेवा श्रममा जो कुनै नेपालीले संरक्षकका रूपमा, दाताका रूपमा, ट्रस्टीका रूपमा आर्थिक सहयोग (पटके आििर्थक सहयोग, दान) सहभागी हुनसक्ने व्यवस्था छ । यसले मनकारी भावना भएका, अन्यत्रै कर्ममा रहेका, सेवाप्रति समर्पित सबैलाई सत्कार्य गर्न ढोका खोलेको छ । सेवाश्रममा पुग्ने जो कुनै व्यक्ति मनकारी भावनाबाट द्रवित हुन्छ र सेवाप्रति थप समर्पित हुन्छ । सेवाले थप सेवा र कर्मले थप कर्ममा लाग्ने प्रेरणा दिएर नै मानव सभ्यता यहाँसम्म आइपुगेको हो । मैले त्यहाँ जान सुझाएका मेरा साथीहरू पनि कुञ्ज (सेवाश्रम) प्रति आफ्नो क्षमता अनुरूपको सेवा गर्ने अठोट सहित फर्केको पाएको छु । कतिपय साथीहरू आफ्नो निवृत्त जीवनलाई सेवाश्रम सापेक्ष राखेर योजना बनाएको पनि पाएको छु ।

मित्रसेन दाहाल जे पी प्रतिष्ठान मार्फत मैत्री सेवाश्रममा मात्र संलग्न हुनुहुन्न । सामाजिक रूपमा सचेत रही महान् कार्यमा लाग्ने मानिसका व्यक्तित्व धेरै आयाममा फैलिएको हुन्छ । मित्रसेनजीका सन्दर्भमा पनि यो मान्यता लागू हुन्छ । उहाँको पहिलो व्यक्तित्व वृत्ति राजनीति हो । लोकतन्त्रका आन्दोलन र लोकतान्त्रिक प्रक्रियालाई संस्थागत गर्न उहाँको कुर्वानीको इतिहास साछी छ । राजनीतिमार्फत सामाजिक मूल्यबृत्ति परिवर्तन र मानव कल्याण पहिलो अभीष्ट उहमा देखिन्छ । त्यसैले कतिपयले उहाँलाई राजनीतिकर्मीका रूपमा बुझ्दै आएका छन् । समाजलाई मूल्य दिने, दिशावोध गर्ने र असल संस्कृति बसाल्ने अभियानको नाम राजनीति हो । तर समकालीन समाजमा यो प्रखर छैन, आवश्यकता भने यसैको छ । त्यो नभएकै कारण राजनीति आम समुदायबाट वितृष्ण बन्दैछ । यो समाज निरपेक्ष बन्ला कि भन्ने चिन्ता पनि छ । राजनीतिमा सेवा वा मानव कल्याण अहिलेको आवश्यकता हो र उहाँको यात्रा यसैबाट सुरु भएको हो । विश्वेश्वर कोइरालाको समाजवादी सिद्धान्त उहाँको निष्ठा हो ।

तर यत्ति भनेर उहाँको परिचय पुग्दैन । उहाँ एक असल विचारक, चिन्तक र अभियन्ता पनि हो । यस सन्दर्भमा उहाँका अनेक कृतिहरू प्रकाशित छन् । सार्थक र समृद्ध जीवन (२०७१) मा जीवनको सार्थकता, समृद्धि र सिद्धि प्राप्तिका लागि विचारहरू पस्किएका छन् । भौतिक संसारमा लालसा, तृष्णा, उद्वेग र जिजीविषाबाट सेवा र सिद्धितर्फ जाने बाटो केही रूपमा यस कृतिले देखाउँछ । मान्छे बाचिरहँदैन कविता सङ्ग्रह (२०७२), आमा निबन्ध सङ्ग्रह (२०७३) र अन्य प्रकाशनले साहित्य मार्पmत मानव संवेदना र उद्बुद्धिहरु उद्घाटित छन् । जीवन र जगलाई हेर्ने बिम्ब साहित्य हो, त्यो चेत मित्रसेनमा छ । साहित्य समाजको पुन निर्माणमा परिचालित हुन्छ, विधा जुनसुकै किन नहोस् । मिर्गौला रोग र समाधान (२०६२) मार्फत स्वास्थ्य जीवनका आधारहरू उद्घाटित छन्, खानपान व्यवहार र व्यायाममाथि प्रकाश छ । विभिन्न विधाका ११ कृतिहरूले जीवनका विधागत रूपमा उहाँको दृष्टिकोणलाई प्रकाशमा ल्याएको छ । अव यो सार्वजनिक हो, उहाँको मात्र रहेन, जसरी मैत्री सेवाश्रम सार्वजनिक रहेको छ ।

सामाजिक अभियानको अर्को पाटो सहकारीमा पनि मित्रसेनजीको संलग्नता रहदै आएको छ । सहकारी भावना समाज रूपान्तरणको अर्को अभियान हो । त्यसै गरी शिक्षा र अन्य सामुदायिक क्रियाकलापमा पनि उहाँको सक्रियता छ । लाग्छ यति धेरै विधामा संलग्न (विभाजित ?) रहँदा कतै मैत्री सेवाश्रमले यथोचित समय नपाउला कि १

व्यक्तिवादी सोच र नकारात्मक प्रवृत्तिको हाबी भइरहेको समकालीन समाजमा मैत्री सेवाश्रमले मानव सेवा र आध्यात्मिक सोचलाई विस्तार गर्न थोरै भए पनि योगदान गरेको छ । आउने दिनमा सबै मानिसलाई मानव बन्न, विवेकशील बन्न, सहयोगी बन्न, सकारात्मक बन्न, रचनात्मक बन्न मन अभियानमा लाग्ने प्रेरणा मित्रसेन दाहालको प्रयासले दिइरहने छ र अहिलेको पुस्ता र समाजलाई सकारात्मक बन्न घचघच्याई रहने छ । मानवीयताको कुनै सीमा हुँदैन, सेवाको कुनै सीमा हुँदैन भन्ने सन्देश दिइरहने छ ।

उद्घाटन हुन नपाएका, उद्घाटन हुँदै गरेका अरू थुप्रै आयामहरूको सिङ्गो रूप मित्रसेन दाहाल हो, अन्ततः यो समाजसेवाको धरोहर हो । दाहालका अन्य पक्षलाई समाज सेवाले अधीनस्थ गरेको छ, ओझेलमा पार्दै लगेको छ । यात्रा अविरल रहोस्, यही शुभकामना ।

क्षितिज मार्ग, शंखमूल ।