अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०६ | Colorodo: 08:21

मिथिला महोत्सव अमेरिका अप्रिल १४-१७, २०२१ सम्म हुने

बिआरटीनेपाल २०७७ फागुन ९ गते ९:५५ मा प्रकाशित

न्युयोर्क, सेन्टर यु. एस. ए. को आयोजनामा मिथिला महोत्सव अमेरिका (Mithila Festival USA with Art & Culture Celebration) २०२१ आगामी अप्रिल महिनाको १४ देखि १७ तारिख, २०२१ सम्म अमेरिकाको न्युयोर्क सहरमा आयोजना गरिनेछ ।

मिथिला कला र संस्कृतिको प्रवर्द्धन र प्रदर्शन गर्नुको साथै मिथिला कलाको माध्यमबाट संयुक्त राष्ट्रसङ्घीय दिगो विकास लक्ष्य (United Nations Sustainable Goals-SDGs) को प्रदर्शन गर्ने मिथिला महोत्सवको यो निरन्तर प्रयास हो । यस वर्षको मिथिला महोत्सव अमेरिकाको मूल नारा “दिगो विकास लक्ष्य को लागी कला: मिथिला सम्पदा (Art for SDGs: the Mithila Heritage)” भएकोले दिगो विकास लक्ष्यको लक्ष्य ३ (सुस्वास्थ्य तथा समृद्ध जीवन) लाई केन्द्रित गरी कोभिड-१९ विरुद्ध सावधानी र निरोधात्मक उपायहरू सम्बन्धीमा सामुदायिक जागरूकता बढाउने तर्फ अग्रसर हुनेछ । तसर्थ, यो कार्यक्रममा सहभागी हुन चाहने सबै इच्छुक कलाकारहरूलाई यस वर्षको मुख्य नारालाई ध्यानमा राखी तयार पारिने आफ्नो चित्रकलाको नमुना र आफ्नो संक्षिप्त परिचय हाम्रो इमेल mithilafestivalusa@gmail.com मा ६ मार्च २०२१ सम्ममा पठाई सहयोग गर्नुहुन मिथिला महोत्सवले अनुरोध गरेको छ ।

प्रथम मिथिला महोत्सव अमेरिका (Mithila Festival USA) सन् २०१९ को अप्रिलमा संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा Arts for SDGs: the Mithila Heritage शीर्षकमा प्रारम्भिक चित्रकला प्रदर्शनी उच्च सफलताकासाथ सम्पन्न भएको थियो । यो प्रयासलाई निरन्तरता प्रदान गर्न मिथिला महोत्सव अझ क्रियाशील भएको छ । मिथिला महोत्सव र कला प्रदर्शनीको आयोजनाले युएसए तथा अन्य राष्ट्रहरूस्थित मिथिला महोत्सव समुदायले सांस्कृतिक पर्वको रूपमा मनाउने मात्र नभई संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य हासिल गर्ने सन्दर्भमा मिथिला सम्पदाबाट हुनसक्ने योगदानबारे सामुदायिक चेतना बढाउन पनि सहयोग पुग्ने मिथिला महोत्सवको विश्वास रहेको छ । साथै, मिथिला राजा सलहेश जयन्ती समारोह, नव वर्ष तथा जुड़ शीतल चाड र मिथिला साहित्य सम्बन्धी कार्यक्रमहरू पनि यसवर्षको मिथिला महोत्सव अमेरिकामा समावेश गरिनेछ ।

दक्षिण एसियामा मिथिला संस्कृतिले आफ्नो एक विशेष संस्कृतिको पहिचान बनाएको छ, किनकि रामायण र अन्य हिन्दु साहित्यमा वर्णन गरिएझैँ प्राचीन नेपाली र भारतीय संस्कृतिको मिश्रण मिथिला संस्कृति हो । देवी सीता र भगवान् रामको जीवन गाथाले यस संस्कृतिमा विशेष महत्त्व ओगटेको छ । हजारौँ वर्षअघि मिथिला राज्यको राजधानी रहेको जनकपुरधाम जन्मभूमि भएकी सीता (जानकीको नामले पनि चिनिने) को विवाह भारतको अयोध्याका राजकुमार भगवान् रामकासाथ सम्पन्न भएको थियो । मिथिला संस्कृति एक जीवन्त संस्कृति पनि हो, किनकि नेपाल र भारत एवम् अन्य देशहरूमा बस्ने मिथिला समुदायका व्यक्तिहरूले आफ्नो सांस्कृतिक मूल्य र मान्यताहरूलाई दैनिक जीवन र व्यवहारमा अँगालेका छन् ।

यस प्रकारले यस समुदायले आफ्नो धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्पदालाई समृद्धिशाली बनाउन योगदान गर्दै आएको र मानवता, मित्रता, शान्ति र समृद्धिको मूल्य मान्यताको प्रवर्द्धन गरेको छ । युएसएमा सबैभन्दा बढी मिथिला समुदायका व्यक्तिहरू दशकौँदेखि बसोबास गरेका न्युयोर्क र न्यूजर्सी सहरहरू हुन् । मिथिला कला संसारभर प्रख्यात छ । महिला आर्टिस्टहरुको विशेष योगदानले नै मिथिला चित्रकला विभिन्न रुपमा शताब्दीऔं देखि अस्तित्वमा छ । घरको भित्तामा बनाइने चित्रकलाकालागि महिला आर्टिस्टहरु प्रख्यात छन् र सो सम्बन्धी ज्ञान उनीहरूबाट नै नयाँ पिढीहरुमा हस्तान्तरण हुँदै आएको छ । मिथिला कलाले पौराणिक र धार्मिक विषयहरूका अतिरिक्त सामाजिक टिप्पणी एवम् सिँगार सजावट सम्बन्धमा पनि प्रस्तुत गर्दछ । मिथिला चित्रकलालाई समकालीन र संकलनीय कलाको रूपमा हाल मान्यता दिइएको छ । महिला वा पुरुष आर्टिस्टका हातहरूले बनाएका कागजका तैलीय चित्रहरू (Canvas) माटोका भित्तामा बनाइएका चित्रहरू जस्तै छन् ।

विश्वका विभिन्न आर्ट ग्यालरीहरूमा मिथिला चित्रकलाको प्रदर्शन भएको छ र यसबाट ग्रामीण समुदायका विपन्न महिलाहरुकालागि आय आर्जनको श्रोत पनि बढाउने नयाँ किसिमको घरेलु उद्योग फस्टाउने सम्भावना बढेको छ । हामी अहिले कोभिड-१९ को महामारीको कारणले एकदमै कठिन समयबाट गुज्रिरहेका छौँ । मिथिला महोत्सव पूर्ण विश्वस्त छ कि यस्ता सांस्कृतिक चाडपर्व मनाउने कार्यबाट सामन्जस्यता, सौजन्यता, धैर्यता र साहस बढाउन र शान्ति र समृद्धिकोलागि सामुदायिक एकता सुदृढ गर्न तथा कोभिड-१९ महामारीको विरुद्धमा सावधानी र निरोधकालागि सामुदायिक जागृति बढाउन पनि मद्दत पुग्नेछ । विगतमाझैं, मिथिला महोत्सव अमेरिका (Mithila Festival USA) २०२१ को पनि सफलतापूर्वक आयोजना गर्न यहाँहरूको सराहनीय सहभागिता, सहयोग, समर्थन तथा सुझाव हामीलाई प्राप्त हुने नै छ भन्ने मिथिला महोत्सवले विश्वास लिएको छ ।

प्रतिक्रिया