अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०८ | Colorodo: 20:23

शिव पौडेलका हत्यारालाई दिइएको आममाफी प्रति परिवारको आपत्ति

बिआरटीनेपाल २०७७ फागुन ९ गते ७:१५ मा प्रकाशित

नेपाल तरुण दल चितवनका तत्कालिन अध्यक्ष शिव पौडेलको हत्यामा दोषी ठहर भई जेल सजाय भोगिरहेका तीन जनालाई बाँकी सजाय मिनाहा भएपछि उहाँको परिवारले आपत्ति जनाएको छ । पौडेलको परिवारले आइतबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै सरकारले नै दोषीलाई मिनाह गर्नु निकै दुःखद भएको बताएको हो ।

पत्रकार सम्मेलनमा पौडेलकी श्रीमती बिनु रायमाझी पौडेलले सरकार र राष्ट्रपति जस्तो संस्थाले आममाफी दिनु देशमा हत्या, हिंसा जस्ता दानवीय प्रवृतिको ढाकछोप गर्ने र अवान्छित कृयाकलापलाई प्रोत्साहित गर्ने कार्य भएको भन्दै यसविरुद्ध आफू अदालतमा जाने बताउनुभयो । एउटै परिवारका दुई भाई मारेर सजाय भोगिरहेकालाई आममाफी दिँदा आफूहरुले देशमा न्याय मरेको अनुभव गरेको पौडेलको भनाई छ । शिव पौडेलका भाई गोविन्द पौडेलको हत्याको आरोपमा उनीहरुले ५÷५ वर्षका लागि कैद सजाय भोगिरहेका थिए ।

उनीहरुले गोविन्दको विसं. २०६६ साल जेठ ३ गते हत्या गरेका थिए । सो आरोपमा उनीहरु कारागारमा थिए । त्यसैबखत केराबारीमा भएको गोली काण्डको अभियोगमा पुरपक्षका लागि कारागारमा रहेका बेला शिव पौडेलको हत्या गरिएको थियो । कारागारमा रहेको समयमा सोही समूहले गोविन्दका दाजु शिव पौडेललाई पनि आक्रमण गरेको थियो । प्रजातन्त्र दिवसका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सय बढी कैदीबन्दीलाई सजाय माफी दिनुभएको थियो ।

मन्त्रिपरिषद्को सिफारिसमा ४ सय १ कैदीको बाँकी कैद र १ सय ७९ जनाको भुक्तान हुन बाँकी कैदमा छुट दिइएको थियो । कारागार विभागले गरेको असल चाल चलनको सिफारिसको आधारमा उनीहरुलाई कैद मिनाह गरिएको बताइएको छ । जेलभित्रै हत्या गर्ने मान्छे भए पनि कानुन अनुसार छुट पाउने व्यवस्था रहेकाले सोही अनुसार सिफारिस गरिएको कारागार विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू