अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५६ | Colorodo: 20:11

संसद पुनर्स्थापनाको सम्भावना बढ्दै गएपछि दबाबमा प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७७ फागुन ८ गते ८:१४ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनस्थापना हुनसक्ने संकेत गर्नुभएको छ । संसद विघटनको निर्णयप्रति चौतर्फी विरोध भैरहेका बेला प्रधानमन्त्री ओलीले संसद विघटन अदालतबाट सदर नभए आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।

शनिबार विराटनगरमा आयोजित आफूपक्षको आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो चेतावनी दिनुभएको हो । ओलीको चेतावनीपूर्ण सम्बोधनले संसद पुनस्थापनाको पक्षमा मुलुकमा बढ्दो जनदबाबको परिणामका रुपमा विश्लेषण गर्न थालिएको छ ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापनाका लागि ‘सेटिङ’ भइरहेको दाबी गनुभयो । उहाँले भन्नुभयो , ‘कुनै सेटिङफेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन । ’

ओलीले अहिलेको जनअपेक्षा चुनाव भएको भन्दै त्यसविपरीत निर्णय आए आन्दोलनका लागि तयार रहन समेत कार्यकर्तालाई आग्रह गर्नुभयो । यसअघि काठमाडौं र बुटवलमा आयोजित आफू पक्षधर नेकपाको आमसभामा पनि प्रधानमन्त्री ओलीले संसद विघटनको विरुद्ध आन्दोलनरत पक्षधर नेकपाको बहुमत रहेको अप्रत्यक्ष स्वीकार गर्नुभएको थियो ।

विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको १३ रिट निवेदनमाथि संवैधानिक इजलासमा वहस जारी छ । हालसम्म रिट निवेदकका साथै पक्ष र विपक्ष दुर्वतर्फका अधिवक्ताहरुले वहस गरिसकेका छन् । यस्तै एमिकस क्युरीका सदस्यहरुले समेत धारणा राखिसकेका छन् । संवैधानिक इजलासमा पनि वहुमतले संसद विघटनको विपक्षमा वकालत गरेपछि संसद पुनस्थापनाको सम्भावना प्रबल बन्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू