अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४१ | Colorodo: 05:56

नेपाली साहित्यकार विश्व संजालको ‘रचना वाचन तथा सरस्वती सम्मान कार्यक्रम २०७७’ सम्पन्न

बिआरटीनेपाल २०७७ फागुन ७ गते ८:१० मा प्रकाशित

नेपाली साहित्यकार समूहले विश्वभरका नेपाली भाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वती सम्मान कार्यक्रम सम्पन्न ग-यो। जुम प्रविधिको प्रयोग गरेर गरिएको उक्त कार्यक्रममा विश्वभरबाट नेपाली भाषी साहित्यकारको व्यापक सहभागिता रहेको थियो। अग्रज साहित्यकार तथा नियात्राकार प्रतीक ढकाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा नेपाली साहित्यकार विश्व सञ्जाल समूहका संयोजक स्पन्दन विनोदले अध्यक्षता गरी कार्यक्रम सञ्चालन गरेका थिए।

विश्वभर छरिएर रहनु भएका नेपालीभाषि साहित्यकारहरूलाई नेपाली साहित्यकार नामक विश्व सञ्जालले फेसबुक मार्फत यौटै छाता मुनी जोडेर म्यासेन्जरमा नेपाली साहित्यका विविध विधाका अग्रज प्रशिक्षकहरूद्वारा निरन्तर अभ्यास गराइरहेको छ र नेपाली साहित्यका विविध विधा नबुझेर वा बाटो बिराएर अन्योलमा परेका र सिक्न चाहने सर्जक का लागि नमुना पाठशाला बनेको छ। हालसम्म करिब 1८३ औँ अङ्कमा पुगिसकेको पाठशालामा २५० जना जोडिएर निरन्तर साहित्य साधनारत छन्। विश्वका कुना कुनामा रहेका नेपाली-भाषी साहित्यकारहरूको अवस्था अवलोकन गरी सम्मान तथा सहयोग गर्ने, अग्रज साहित्यकारको सम्मान तथा रथारोहण गर्ने, नेपाली भाषा साहित्य, कला र संस्कृतिको विकास तथा पुस्तान्तरण, अन्तर्राष्ट्रिय बजारमा नेपाली भाषाको पौँच, सर्जकहरूलाई आर्थिक, सामाजिक तथा शैक्षिक सहयोग गर्ने, प्रेरक पुरस्कार तथा सम्मान दिने र अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने मूल उद्देश्यका साथ स्वतन्त्र रूपमा फेसबुकबाट खोलिएको सामूहिक समूह ‘नेपाली साहित्यकार’ कवि तथा गजलकार स्पन्दन विनोदको परिकल्पना भए पनि नेपाल र नेपाल बाहिर रहने सम्पूर्ण नेपालीभाषि सर्जकको साझा थलोको रूपमा विकसित भएको छ। विभिन्न विधाका ख्यातिप्राप्त नेपाली अग्रज प्रशिक्षकबाट दैनिक प्रशिक्षण दिँदै अभ्यास गराउँदै आएको नेपाली साहित्यकार समूहले नेपाली भाषा र साहित्यको बाटोलाई मजबुत बनाउँदै दरिलो खम्बाहरू थप्ने कार्य गरिरहेको छ।

यसरी प्रशिक्षण दिने नेपाली साहित्यकार समूह विश्वकै नमुना भएको सबैको बुझाइ छ। पाठशालामा अभ्यास गरिएका रचना समायोजन गर्न सहयोग गर्दै आउनु भएकी कमल महतले कार्यक्रमको सुरुवात सरस्वती वन्दना पाठ गरेर /गराएर कार्यक्रम अगाडि बढेको थियो। पाठशालाका प्रशिक्षक, अग्रज तथा अनुजनहरू समेटेर गरिएको करिब ४ घण्टा लामो कार्यक्रम भव्य भएको र साहित्यिक माहौल सिर्जना गरेको सबैको बुझाई छ। प्रमुख अतिथिको वरिष्ठ साहित्यकार तथा नियात्राकार प्रतीक ढकालले भन्नुभयो-‘ हामी हाम्रो देशलाई माया गर्न सिकौँ, सम्मान गर्न सकौँ । नेपाल १२५ जातजातिको देश जहाँ १२९भाषा बोलिन्छ। यो भन्दा ठुलो गौरवको विषय के हुन सक्छ? विश्वमा रहेका १४अग्ला हिमाल मध्ये ८वटा त नेपालमै छन्। सन्सार भर नेपाललाई चिनाउने भनेकै हिमाल, गोर्खा, शेर्पा र बुद्ध हुन्, अव नेपाली साहित्यकारको काँधमा पनि यो जिम्मेवारी थपिएको छ।’ उहाँको भनाइ अनुसार शब्द ब्रह्म हो,शब्द मन्त्र हो, शब्दमा अथाह शक्ति हुन्छ।यही सुन्दर शब्द मार्फत नेपाली साहित्यकार साहित्यका माध्यमबाट हाम्रो देशलाई विश्वभर चिनाउन सक्छ।’नेपाली साहित्यकार समूहले यो विषम परिस्थितिमा प्रविधिको प्रयोगबाटै विश्वभर छरिएर रहेका नेपाली भाषीहरूलाई एकै थलोमा एकताबद्ध गर्न सकेकोमा यस समूहका परिकल्पनाकार स्पन्दन विनोद ज्यू प्रति अत्यन्त कृतज्ञता जाहेर गर्दछु।’ भन्नुभयो।

यसै गरी कार्यक्रम सभापति स्पन्दन विनोदका अनुसार सरस्वतीको बास रहेका हरेक नेपाली भाषी सर्जकको सम्मानार्थ हरेक वर्ष वसन्त पञ्चमीका दिन ‘नेपाली साहित्यकार’ समूहले वार्षिक रचना वाचन तथा सरस्वती सम्मान कार्यक्रम गर्ने छ। ‘ कोरोना कहरका कारण यो पटक प्रविधिको सहयोग लिनु परेको भए पनि कोरोना कहर पछि यी कार्यक्रमहरू तपाई हाम्रा भौतिक दूरी मेटेर गरिनेछ।’ स्पन्दन विनोदले भन्नु भयो।

कार्यक्रममा सोमबार प्रशिक्षण रहने गजलका प्रशिक्षक गजविद्वच्छिरोमणि डा. घनश्याम परिश्रमी न्यौपाने, सोमबार प्रशिक्षण रहने चारु/राग/विरागका प्रशिक्षक गजल सचेतक देवी पन्थी, मङ्गलवार प्रशिक्षण रहने गद्य कविताका प्रशिक्षक कवि कलानिधि दाहाल, बुधवार प्रशिक्षण रहने मुक्तकका प्रशिक्षक मुक्तककार सुनिल अधिकारी, बिहीबार प्रशिक्षण रहने छन्द कविताका प्रशिक्षक छन्द अभियन्ता माधव वियोगी तथा छन्द कवि हरिप्रसाद रिमाल,शुक्रवार प्रशिक्षण रहने गीत/सङ्गीतका प्रशिक्षक गीतकार ज्ञानेन्द्र गदाल तथा गीतकार सुनिल सङ्गम, शनिवार प्रशिक्षण रहने हाइकुका प्रशिक्षक हाइजिन पुरु सुवेदी, आइतबार प्रशिक्षण रहने बाछिटाका प्रशिक्षक अमर त्यागी तथा कोपिलाका प्रशिक्षक गिरीराज डल्लाकोटी उपस्थित भई आफ्ना आफ्ना विधाका रचना वाचन गरेका थिए। शनिवार प्रशिक्षण रहने कथा/लघुकथाका प्रशिक्षक राजन सिलवाल लगायत केही प्रशिक्षकहरू उपस्थिति जनाउन सकेका थिएनन्।

कार्यक्रममा करिब ९० जना भन्दा बढी नेपाली साहित्यकारहरूले आफ्ना रचना सुनाएका थिए। कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरूलाई मायाको चिनो, अग्रज प्रशिक्षकहरूलाई ‘सरस्वती साधना सम्मान २०७७’ र पाठशालामा आबद्ध अन्य सर्जकहरूलाई ‘सरस्वती सिर्जना सम्मान २०७७’ प्रदान गरिएको थियो।

कार्यक्रममा पाठशालामा आबद्ध हाइजिन तथा गीतकार कल्पना सुवेदीको गीति भिडियो विमोचन पनि गरिएको थियो । कार्यक्रम दुई चरणमा गरिएको थियो । पहिलो चरणमा सञ्जीव साहले प्रविधिमा साथ दिएका थिए भने दोस्रो चरणमा सर्वज्ञ वाग्लेले प्रविधिमा साथ दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू