अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१० | Colorodo: 05:25

भागरथी हत्या प्रकरणका आरोपित दिनेश भट्ट प्रहरीद्वारा सार्वजनिक

बिआरटीनेपाल २०७७ फागुन ५ गते ७:१० मा प्रकाशित

बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ । भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टको प्रकरणमा संलग्नता पुष्टि भएपछि उनलाई प्रहरीले आज सार्वजनिक गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय, बैतडीमा आयोजित पत्रकार सम्मेलनमा प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

घटनास्थलको त्रुटिरहित ढंगले प्रमाण संकलन गरेर प्रयोगशालामा पनि केही प्रमाण पठाइएको सुवेदीले बताउनुभयो । उनी विरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान हुने सुवेदीले बताउनुभयो । भट्टविरुद्ध भागरथीले दाइले किटानी जाहेरी समेत दिएको उहाँले जानकारी दिनुभयो । यही माघ २० गते बिद्यालय घर नफर्के पछि खोजी गर्दा २१ गते बिहीवार साँझ ५ बजेतिर स्थानीय लबलेक सामुदायिक बनमा मृत भेटिनुभएको थियो ।

यसैबीच, भागरथी हत्या प्रकरणको अनुसन्धान गर्ने प्रहरी नायब महानिरीक्षक डीआईजी उत्तम सुवेदी सहितको टोलीलाई स्थानीयवासीले सम्मान गरेका छन् । प्रहरी चौकी, खोचलेकमा बसेर दुई सातासम्म निरन्तर अनुसन्धान गरी दोषीलाई पक्राउ गर्न सफल भएको भन्दै स्थानीयले सुवेदी सहित प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रहरी नायब उपरीक्षक डीएसपी पञ्चकुमार बाखु लगायतलाई सम्मान गरेका हुन् ।

सुवेदी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख समेत हुनुहुन्छ । घटनाको संवेदनशीलतालाई ध्यान दिँदै उहाँ आफैं अनुसन्धानमा खटिनुभएको थियो । डीएसपी सुवेदी सहितको टोली अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय, बैतडी आएको छ । आरोपी सनातन माविमा अध्ययनरत दिनेश भट्टलाई हिरासतमा राखिएको छ ।

हत्या आरोपी भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न आज जिल्ला अदालत बैतडीले अनुमति दिएको प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तराज सुवेदीले जानकारी दिनुभयो । भागरथीका दाइ केशवराज भट्टले आज बिहान आरोपी भट्टविरुद्ध किटानी जाहेरी दर्ता गराउनुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू