अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४८ | Colorodo: 20:03

‘सामाजिक सञ्जाल व्यवस्थापन’ का नाममा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिँदैछ – कांग्रेस

बिआरटीनेपाल २०७७ फागुन ३ गते ७:३६ मा प्रकाशित

नेपाली कांग्रेसले ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरूपमा बिउँताउन लागेको भन्दै आपत्ति जनाएको छ ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत सामाजिक सञ्जाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमति हुन नसक्ने उल्लेख गर्दै त्यसका लागि विद्यमान कानुनभित्रै आवश्यक प्रावधान रहेको बताउनुभएको छ ।

थप व्यवस्था आवश्यक भए पनि बृहत्तर विमर्शविना, प्रतिनिधि सभा विघटन भएको समयमा निर्देशिकामार्फत जारी गर्नतर्फ लाग्नुले सरकारको नियतमाथि गम्भीर प्रश्न उब्जिएको कांग्रेसको आरोप छ ।

सरकारले नागरिक अधिकारलाई प्रभावित गर्ने गरी कुनै पनि कार्यकारी आदेशबाट निर्देशिका जारी गर्न नहुने, नमिल्ने र नपाइने प्रवक्ता शर्माले उल्लेख गर्नुभएको छ । प्रस्तावित निर्देशिकाको प्रक्रिया अघि नबढाउन सरकारलाई चेतावनी दिँदै कांग्रेसले आजको देशव्यापी प्रदर्शनमा यो मुद्दालाई थप उजागर गर्ने जनाएको छ । यसविरुद्ध समयमै सजग बन्न अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैलाई आग्रह गर्दै कांग्रेसले सञ्जाल प्रयोगकर्ता युवा पुस्तालाई विशेष जागरूकताका लागि आह्वानसमेत गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू