अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४१ | Colorodo: 22:56

ईरान अफगान ब्यापार नाकामा एक सयभन्दा बढी तेल ट्यांकरमा आगलागी

बिआरटीनेपाल २०७७ फागुन २ गते ७:०८ मा प्रकाशित

इरानसँगको अफगानिस्तानको सबैभन्दा ठूलो व्यापारिक नाकामा कम्तीमा एक सय तेल र ग्यास ट्याङ्करमा आगलागी भएको छ । स्थानीय अधिकारीहरुका अनुसारआगलागीबाट लाखौं डलर बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।अफगानिस्तानको पश्चिमी शहर हेरातबाट करिब १ सय २० किलोमिटर टाढा इरानसँगको सीमा इस्लाम क्वालामा शनिबार अपराह्न उक्त आगलागी भएको थियो । आगो नियन्त्रणमा ल्याइए पनि उक्त घटनाको छानबिन र अनुसन्धान शुरु भइसकेको अधिकारीहरुले बताएका छन्।

हेरात प्रान्तका गभर्नरका प्रवक्ता जैलानी फरहादले आगलागीबाट सयदेखि २ सय ट्याँकर ध्वस्त भएको खबर प्राप्त भएको जनाउँदै आगलागीबाट सोचेभन्दा बढी नोक्सानी भएको बताउनुभयो । उहाँले घटनाको अनुसन्धानबाट मात्र यथार्थ विवरण प्राप्त हुनसक्ने जानकारी दिनुभयो । आगलागीका कारण करिब २० व्यक्ति घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको पनि बताउनुभयो । सामाजिक सञ्जालमा राखिएका भिडियो फुटेजमा आकाशमा धुँवाको ठूलो मुस्लो देखिएको छ ।

अफगान अर्थ मन्त्रालयले आगलागीबाट ठूलै आर्थिक क्षति भएको जनाउँदै इन्धन, ट्याँकर र भन्सार कार्यालयहरुमा क्षति पुगेको बताएको छ। आगलागीको घटना भएलगत्तै नजिकैको सुरक्षा जाँच चौकीमा तालिबान समूहले आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू