अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१२ | Colorodo: 19:27

संसद् विघटन संसदीय व्यवस्था असफलताको अभिव्यक्ति – मोहन वैद्य

बिआरटीनेपाल २०७७ माघ २९ गते ७:३८ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले प्रतिनिधिसभाको विघटन संसदीय व्यवस्था असफलताको अभिव्यक्ति भएको बताउनुभएको छ । बिहीबार चार कम्युनिस्ट पार्टीको रणनीतिक संयुक्त मोर्चा घोषणा कार्यक्रममा महासचिव वैद्यले प्रतिनिधिसभाको विघटन संसदीय व्यवस्थाको असफलताको अभिव्यक्ति भएको बताउनुभएको हो । सरकारले समाजवाद र समृद्धिको कुरा गरिरहेको भएपनि साम्राज्यवादी नवउदारवादको सिरानी हालेको उहाको भनाइ छ । बैद्यले नेपालमा संसदीय व्यवस्था असफल भएको र त्यसको फाइदा लिन वैदेशिक प्रतिक्रियावादी शक्तिहरू लागेको बताउनुभयो ।

वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेकपा, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालले रणनीतिक संयुक्त मोर्चा घोषणा गरेका छन् । मोर्चाले वर्तमान प्रतिक्रियावादी राज्यसत्ताको अन्त्य, संसदीय व्यवस्थाको अन्त्य गरी जनगणतन्त्र र वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्य राखेको नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव वैद्यले जानकारी दिनुभयो ।

मोर्चाले क्रान्तिकारी कम्युनिस्टहरूलाई गोलबद्ध गरी पार्टी एकता गरेर राष्ट्रियता, राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने र जनजीविकाको समस्या समाधान गर्न निरन्तर संघर्ष गर्ने पनि उहाँको भनाइ छ । रणनीतिक संयुक्त मोर्चाले पहिलो चरणको आन्दोलन पनि घोषणा गरेको छ । घोषित कार्यक्रम अनुसार, भोलि काठमाडौंमा मोर्चाको घोषणासभा, ६ फागुनमा बुटवल, १४ फागुनमा धनगढी र १८ फागुनमा इटहरीमा जनसभा गर्ने भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू