अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३६ | Colorodo: 19:51

सप्ताहव्यापी ‘किताब जात्रा’ सम्पन्न

बिआरटीनेपाल २०७७ माघ २५ गते १५:०३ मा प्रकाशित

काठमाडौँ । किताब यात्रा फाउन्डेसनको आयोजनामा माघ १७ गते शनिवारदेखि जारी ‘नबिल किताब जात्रा’ शुक्रवार सकिएको छ । ‘प्रेम साहित्य सम्मान’, ‘किताब जात्रा बेस्ट सेलर अवार्ड’को घोषणाका साथै विशेष प्रस्तुतिका साथ माघ २३ ‘किताब जात्रा’ सम्पन्न भएको फाउन्डेसनका अध्यक्ष ऋषिराम अधिकारीले जानकारी दिए ।

कोरोना प्रभावका कारण यस वर्ष ‘किताब जात्रा’ मासमिडिया र भर्चुअल मिडियामार्फत प्रसारण गरिएको फेस्टिभल डाइरेक्टरसमेत रहेका अधिकारीले बताए । ‘यस वर्ष हामीले एपीवान एचडी टेलिभिजन र किताब यात्रा एपसँग सहकार्य गरेर किताब जात्रा ग¥यौं । त्यसका साथै किताब जात्राको अफिसियल युट्युब च्यानलमा जहिले पनि किताब जात्रा हेर्न सकिन्छ’, उनले भने ।

उनका अनुसार यस वर्षको ‘प्रेम साहित्य सम्मान’ कवि जसराज किराँतीलाई प्रदान गरिएको छ । उक्त सम्मान नेपाली वाङ्मयमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई ५५ हजार ५ सय ५५ रुपैयाँ राशिसहित हरेक वर्ष प्रदान गरिन्छ । बुईपा– ६, खोटाङका ७५ वर्षीय किराँतीलाई ‘ग्रामीण जीवन स्वयम् आत्मसात् गर्दै त्यहाँका सरल तर शक्तिशाली बिम्ब कविताका अनेकन् आयाममा प्रयोग गरी उच्च काव्यिक मूल्य बोध स्थापित गर्न सफल भएको’ ठहर गर्दै साहित्य सम्मान प्रदान गरिएको फाउन्डेसनले जानकारी दिएको छ । किराँतीलाई ‘किताब जात्रा’मा कलाकार मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ–हरिवंश आचार्य र ‘प्रेम साहित्य सम्मान’की संरक्षक बालकुमारी अधिकारीले दोसल्ला ओढाएर नगद, ताम्रपत्र र सिक्का प्रदान गर्दै सम्मान गरेका थिए ।

सम्मानपश्चात् बोल्दै किराँतीले आफूले कविता लेख्दा कहिल्यै पनि सम्मान वा पुरस्कारबारे नसोचेको बताए । उनले आफ्नो विगत सम्झँदै भने, ‘मैले पढ्न पाएको पनि होइन र लेख्छु भन्ने लागेको पनि थिएन । गाउँमै बसेर स्वअध्ययन गर्दै कविता लेख्न थालियो । राम्रो लेखियो कि लेखिएन भन्ने पनि सोच्दै नसोची लेखियो । यो सम्मान पाउँदा राम्रै लेखिएछ कि भन्ने लागिरहेको छ ।’ सम्मानको संस्कृतिले नयाँ र पुराना पुस्ताबिच निरन्तर सम्बन्ध बनिरहने उनले बताए । गत वर्ष उक्त सम्मान साहित्यकार सरुभक्तलाई प्रदान गरिएको थियो ।

त्यस्तै, यस वर्षको ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ विजयकुमारको किताब ‘सम्बन्धहरू’ले प्राप्त गरेको छ । अनलाइन बुकसेलिङ प्लेटफर्म ‘किताब यात्रा डटकम’ सञ्चालन गरिरहेको किताब यात्रा प्रा.लि.ले ‘किताब जात्रा’को अवसरमा आफ्नो प्ल्याटफर्मबाट सर्वाधिक बिक्री भएको पुस्तकलाई हरेक वर्ष यो अवार्ड दिने गरिएको किताब यात्राका सिइओ विकेश भट्टराईले जानकारी दिए ।

विशेष अवार्डसहित सम्मानित भएका विजयकुमारले भने, ‘कुनै कृति बिक्री हुँदैमा उत्कृष्ट हुने र बिक्री नहुँदैमा नराम्रो हुने होइन । तर, कुनै पुस्तक धेरै पाठकले पढ्छन् भने त्यसको गुणवत्ताको राम्रो मूल्याङ्कन हुन्छ । यस्ता अवार्डले त्यसको परख गर्न सघाउ पुर्याउँछ ।’ पाठकले मन पराएको कृतिलाई विशिष्ट पहिचान दिन यस्ता अवार्डले भूमिका खेल्ने उनको भनाइ थियो ।

उनलाई फाउन्डेसनका अध्यक्ष अधिकारी र लेखक बुद्धि सागरले अवार्ड प्रदान गरेका थिए । गत वर्ष उक्त अवार्ड अमर न्यौपानेको उपन्यास ‘गुलाबी उमेर’ले प्राप्त गरेको थियो । जात्राको सन्दर्भमा किताब यात्रा डटकमले विशेष छुटसहित किताब खरिद गर्न पनि सकिने गरी ‘किताब यात्राको किताब जात्रा अफर’ सञ्चालन गरेको किताब यात्राका निर्देशक कृपेशकिशोर घिमिरेले बताए ।

जात्रामा सात विमर्श सत्र सञ्चालन भएको थियो । पहिलो सत्रमा ‘कहाँ छौँ हामी ?’ शीर्षकमा भूषिता वशिष्ठको सहजीकरणमा लेखक डा. सञ्जीव कुमार उप्रेती, बुद्धि सागर र दुर्गा कार्कीले बहस गरेका थिए । दोस्रो सत्रको बहस ‘शब्द पछ्याउँदै जाँदा’ शीर्षकमा महिला लेखकहरू माया ठकुरी, भुवन ढुङ्गाना र भागीरथी श्रेष्ठ सहभागी थिए । कवि शकुन्तला जोशीले बहस सहजीकरण गरेकी थिइन् ।

तेस्रो सेसनमा ‘पर्दाभित्र, पर्दाबाहिर’ शीर्षकमा निर्देशक प्रकाश सायमीको सहजीकरणमा नायक राजेश हमाल र नायिका करिष्मा मानन्धरले आफ्नो पठन अनुभूति सार्वजनिक गरेका थिए । सेसनअघि बलिउड कलाकार सोनु सूद मन्तव्य प्रसारण गरिएको थियो ।

‘अँध्यारोबाट उज्यालोतिर’ शीर्षक रहेको सेसनमा डा. सन्दुक रुइत, महावीर पुन र कुलमान घिसिङले एपीवान एचडी टेलिभिजनका ‘एडिटर–इन–चिफ’ टीकाराम यात्रीको सहजीकरणमा बहस गरेका थिए ।

अनुसन्धाता तथा राई भाषाका लेखक कैलाश राईको सहजीकरणमा ‘मातृभाषाको लय’ शीर्षकको बहस मैथिली भाषाका लेखक रमेश रञ्जन झा, थारू भाषाका लेखक डा. कृष्णराज सर्वहारी र नेपाल भाषाका लेखक सुलोचना मानन्धर सहभागितामा भएको थियो ।

‘यो कर्मभूमिको आँगनमा’ शीर्षकको सेसनमा चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरी, वल्र्डलिंक कम्युनिकेसनका अध्यक्ष दिलीप अग्रवाल र आइडिया स्टुडियोका अध्यक्ष डा. छिरिङ लामाले एपीवान एचडी टेलिभिजनकी एसोसिएट एडिटर समा थापाको सहजीकरणमा बहस गरेका थिए । अन्तिम सेसन ‘महको अक्षर यात्रा’मा मह जोडी र कलाकार मनोज गजुरेलबिच अन्तरक्रिया भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामनाबाट सुरु भएको ‘किताब जात्रा’मा अर्थमन्त्री विष्णु पौडेल र अन्नपूर्ण मिडिया नेटवर्कका प्रमुख क्याप्टेन रामेश्वर थापाले मन्तव्य राखेका थिए । ‘फिक्सन डिजाइनर’ कुमार नगरकोटीको विशेष प्रस्तुति ‘स्याडोज अफ नगरकोटी’बाट जात्राको अन्त्य भएको थियो ।

कोरोना सन्त्रासका कारण यस वर्ष मास मिडिया र भर्चुअल मिडियामार्फतमात्रै ‘किताब जात्रा’ गरिए पनि अर्को वर्ष भौतिक भेटघाटसहितको कार्यक्रम गर्न सकिने आशा रहेको फेस्टिभल कोअर्डिनेटर कला अनुरागीले बताए । अध्ययनलाई संस्कृतिको रूपमा विकास गर्न गरिएको ‘किताब जात्रा’मा ‘किताब’लाई अध्ययन र ‘जात्रा’लाई संस्कृतिको बिम्बको रूपमा प्रयोग गरिएको बताउँदै उनले नेपालका विभिन्न समुदायको जात्रा संस्कृतिलाई कार्यक्रममा जोड्दै लगिने उनको भनाइ थियो ।

यस वर्षको किताब जात्राको टाइटल नबिल बैङ्क लिमिटेडले स्पन्सर गरेको थियो । ‘नेपाल टेलिकम’को ‘इन एसोसिएसन’मा भएको जात्रासँग ‘पावर्ड बाइ’मा ‘नेपाल बैङ्क लिमिटेड’ र ई–सेवा सहकार्य गरेका थिए । ‘इन्डोर्स बाइ’मा ‘नेपाल दूरसञ्चार प्राधिकरण’ र ‘ब्रट टु यु बाइ’मा ‘किताब यात्रा डटकमः नेपाल्स लार्जेस्ट अनलाइन बुक स्टोर’को सहकार्य गरेका थिए । त्यस्तै गरी ‘मोबाइल पार्टनर’¬–‘नोकिया’, ‘एयरलाइन्स पार्टनर’–‘नेपाल एयरलाइन्स’, ‘नलेज पार्टनर’– ‘एसिसिएः थिंक अहेड’, ‘ड्रिभन बाइ’– ‘फोक्सवागेन’ ‘ब्रोडकास्ट पार्टनर’– एपिवान एचडी टेलिभिजन थिए । ‘सपोर्टेड बाइ’मा ‘रियान्डा बिज सर्भ’, ‘ज्योति विकास बैङ्क लिमिटेड’, ‘राष्ट्रिय सहकारी बैङ्क लिमिटेड’, ‘फिनिक्स कलेज अफ म्यानेजमेन्ट’, ‘युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेज’, ‘नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी’, ‘आशीर्वाद पेन्ट्स’, अर्थ सरोकार, ‘कयो क्रियटिभ स्टुडियो’, ‘जाल्पा फ्रेस’, ‘फ्लोरल इभेन्टस्’, ‘टेक केयर सफ्टवेयर एण्ड रिसर्च सेन्टर’ र ‘भरोसा प्रिन्टः प्रिन्ट विद कज’ जात्रासँग जोडिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू