अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५० | Colorodo: 02:05

स्रष्टाहरूको चार दिने भ्रमण सम्पन्न

बिआरटीनेपाल २०७७ माघ २३ गते १०:२६ मा प्रकाशित

हिपमत टेलिभिजनको आयोजनामा दश सदस्यीय नेपाली साहित्यकारहरूको समूहले धार्मिक तथा आध्यात्मिक साहित्य यात्राको उद्देश्यसहित काठमाडौँदेखि नवलपरासीकाे त्रिवेणीधामसम्मकाे चार दिने यात्रा सम्पन्न गरेर फर्केका छन् ।

सम्पदा, सस्कृतिकाे जगेर्ना र आन्तरिक पर्यटन प्रवर्द्धनमा साहित्यले विशेष प्रभाव पार्ने भएकाले नियात्रा, काव्य लेखन तथा स्थलगत अवलोकनबाट सिर्जनामा विविधता आउने र हाम्रो मौलिक दर्शन, जनजीवन पूर्वीय दर्शनको अध्ययन आदिको आस्वादन गर्ने र साहित्यमा अध्यात्मको प्रभाव भन्ने विषय केन्द्रित भ्रमणमा विभिन्न विधाका स्रष्टाहरूको सहभागिता रहेको थियो ।

सो भ्रमण समूहमा कवि एवं साहित्यकार राधेश्याम लेकाली, कवि तथा साहित्यकार बाबा बस्नेत, कवि तथा चलचित्र निर्माता राजेन्द्र के.सी, कवि ऋषभदेव घिमिरे, उपन्यासकार मञ्जिला शर्मा, कवि तथा सञ्चारकर्मी मधु पाठक, साहित्यकार एवं साहित्यिक पत्रकार रञ्जना निरौला, साहित्यकार एवं गायिका कमला रिसाल, गायक अनिलनाथ उप्रेती र कवि एवं शाेधार्थी सुषमा आचार्यले अध्यात्म, दर्शन एवं धार्मिक कविता वाचन गरेका थिए ।

हिपमत टेलिभिजनको आयोजनामा शाश्वत धाम, नवलपरासीको गुरुकुलमा अध्ययनरत बिद्यार्थीहरुसहितकाे कार्यक्रम भएको थियो । चौधरी ग्रामका प्रमुख अशोक घर्तीले स्रष्टाहरूलाई स्वागत गर्दै यस्ता कार्यक्रम नियमित रूपमा गर्नु उपयुक्त हुने धारणा राख्नु भएको थियो ।

हिपमत टेलिभिजनका काठमाडौँ प्रमुख मन्जिला अनिलले सञ्चालन गर्नु भएको सो कार्यक्रममा हिपमत टेलिभिजनका सल्लाहकार राधेश्याम लेकालीले कार्यक्रमको उद्देश्य र महत्त्वमाथि प्रकाश पार्नु भएको थियो भने राजेन्द्र के. सी. ले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रम गुरुकुलका प्राचार्य विष्णु आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।

त्यसै गरी पशुपति वैदिक आश्रम, प्रगतिनगर, देवचुलीकाे गुरुकुलमा आयोजित कार्यक्रममा डिल्ली न्यौपानेले धार्मिक साहित्यिक भ्रमणका सदस्यहरूलाई स्वागत गर्दै यसको सान्दर्भिकताबारे धारणा राखेका थिए ।

सो अवसरमा ९५ वर्षीय श्री १०८ सच्चिदानन्द पुरी गुरु महाराजजीलाई स्रष्टाहरूका तर्फबाट दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यसै गरी स्रष्टाहरूबाट गुरुकुल आश्रमलाई पुस्तकहरूसमेत प्रदान गरिएको थियो । सो कार्यक्रम आश्रमका अध्यक्ष साहित्यकार धर्म बरालको संयोजनमा भएको थियो ।

यसै गरी बुटवलको जानकीनगरमा भ्रमण समूहको स्वागतमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रम स्थानीय समाजसेवी एवं टोल सुधार समितिका सल्लाहकार राममाया घिमिरेको विशेष पहलमा भएको थियो । कार्यक्रममा बागेश्वरी सङगीतालयका कलाकारहरूले नृत्य र गीतहरू प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा बागेश्वरी संगीतालयका संस्थापक सङ्गीतकार – सुरेश सेन्चुरी, नृत्य बागेश्वरीका आरोही काउचा मगर, रितिक, गायक प्रनिस सेन्चुरी, जानकीनगर टोल समितिका अध्यक्ष विष्णु थापासमेतको सहभागिता रहेको थियो ।

त्रिवेणी तथा वाल्मीकि आश्रमको अवलोकन भ्रमणपछि गजेन्द्र मोक्ष धाममा साहित्यिक सभा गरी कार्यक्रम समापन भएको थियो ।

गजेन्द्र मोक्ष धामको विशेष कक्षमा स्वामी कमल नयनाचार्य (मुक्तिनाथ बाबा)ले सर्जकहरू राष्ट्रका गहना हुन । धर्मको रक्षा र अध्यात्म चेतका लागि साहित्य समाजको आदर्श बन्न सकोस् । समय भगवान् हो समय चिन्ने र चिनाउने काम साहित्यले गर्नु पर्दछ भन्ने विचार राख्दै गजेन्द्रमाेक्षधाममा लेखक तथा साहित्यकारलाई अध्ययन तथा लेखन कक्षका रूपमा दुई कोठा छुट्टाउने र आध्यात्मिक पुस्तकालय निर्माणको योजना रहेको बताउनु भयो ।

भ्रमणको समापनका अवसरमा स्वामी कमल नयनाचार्य (मुक्तिनाथ बाबा)का उत्तराधिकारी गुरु कृष्ण प्रपन्नाचार्यको विशेष आतिथ्यमा हिपमत टेलिभिजनले गजेन्द्र मोक्ष धामको सभाकक्षमा आयोजना गरेको कार्यक्रममा गुरु कृष्ण प्रपन्नाचार्यले आध्यात्मिक चेत र गजेन्द्र मोक्ष धामका बारे मन्तव्य राख्नु भएको थियो ।

विराटनगरबाट प्रसारणमा रहेको हिपमत टेलिभिजनले केही समयदेखि राजधानीबाट यस्ता गतिविधिहरू सुरु गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू