अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०० | Colorodo: 20:15

गरिबका डाक्टर

पेशल आचार्य २०७७ माघ २३ गते १०:१६ मा प्रकाशित

कर्मशील चिकित्सक डा.सुमन कर्माचार्यको जीवनी

मानिसहरू यो धर्तीमा एक एक ओटा कामले आएका हुन्छन् । काम विनाका मानिस कोही हुँदैनन् । जन्मिँदै प्राप्त भएका कसैका सीपले, कसैका ज्ञानले र कसै कसैका असीम प्रतिभा शक्तिका कारण जीवनमा मानिस आफ्नो कर्तव्य निर्वाह गर्दै जाँदा संसारबाट जाने बेलामा आफूलाई अमरत्व बनाइसक्छ ।

संसारमा अमर व्यक्तित्वहरूको जीवनी बुझ्दा धेरथोर यो कुरा पत्तो पाइन्छ । उसो त संसारमा जति पनि मानिसहरूको आगमन हुन्छ तिनीहरूको आफ्नो आफ्नो ड्युटी हुन्छ । सो पूरा भएपछि मानिस महाप्रस्थानको यात्री बन्छ ।

संसार हार्ड आर्ट र सफ्ट आर्टले भरिएको छ । मिहिन ढङ्गले प्रवृत्ति र विशेषताहरू केलाउँदा डाक्टर सुमन कर्माचार्य ‘सीप’ले हार्ड आर्ट र ‘सोच’ले सफ्ट आर्टका अतुल हिमायती व्यक्ति हुन् । यिनी आफ्ना माता पिताका चार भाइ छोरामध्ये माहिला छोरा हुन् । जुन बेला यिनी जन्मिए तिनताक साँघुटारमा यिनका पिताजीको सानोतिनो बेपार थियो । अहिले उनका साइँला भाइले बिँडोका रूपमा थामेका छन् ।

डाक्टरी पढेका डा.सुमन कर्माचार्य सोही साँघुटारमा जन्मेका हुन् । साँघुटार रामेछाप जिल्लाका व्यापारिक केन्द्रमध्ये एक र लिखु नदीको किनारमा बसेको बजार हो ।

यिनी सानैदेखि मिहेनती स्वभावका थिए । जीवनमा कहिले पढाउने काम गरेका, कहिले ससाना नाटकमा भूमिका निर्वाह गर्ने काम गरेका, कहिले हेल्थपोष्टमा हेल्थ असिस्टेन्ट भएर काम गरेका अनि हाल चिकित्सक तथा स्वास्थ्य सेवा व्यवस्थापन विशेषज्ञका भूमिकामा विराजमान भएका डाक्टर सुमन (मेरा सङ्गतका आधारमा) भनी नबिझाउने र गरी नदुखाउने मानिस हुन् ।

मैले समानान्तर र समदूरीमा रहेर उनीसँग बर्सौँ सङ्गत गरेको छु । उनी भेटघाटमा समयका अत्यन्त परिपालक, मित भाषी तर चाहिँदो कुरालाई पुष्टिका लागि पुनर्पुष्टिमय शैलीमा व्याख्या र तर्क गर्न रुचाउने स्वभावका छन् ।

गीत सङ्गीतका सौखिन मात्र नभएर उनले धेरै गीत लेखेका र सङ्गीत पनि गरेका रहेछन् । उनका राष्ट्रिय भावनाले ओतप्रोत भएका गीतहरू मैले उनकै सौजन्यमा सुन्ने मौका पाएको छु । हास्य चेतका धनी, सौन्दर्य उपासनामा सचेत व्यक्तित्व डा.कर्माचार्य चिकित्सा पेसालाई आफ्नो जीवन निर्वाहका माध्यम बनाए पनि उनी एमनेस्टी इन्टरनेसनल समूह १९ रामेछापका संस्थापक संयोजक हुन् । रोटरी क्लब इन्टरनेसनलमा आबद्ध उनी रामेछाप जिल्लामा लायन्स क्लब इन्टरनेसनलका संस्थापक अध्यक्ष हुन् ।

केही समय अनमिनको माओवादी सेना भेरिफिकेसन टिमका लागि युएनडिपीमा समेत कार्यरत चिकित्सक डा.सुमन कर्माचार्य यतिखेर भने तामाकोसी अस्पताल, मन्थली, रामेछापमा कार्यकारी निर्देशकका रूपमा कार्यरत छन् । पोखरा विश्वविद्यालय, नेसनल ओपन कलेजमा आंशिक समय बाह्य परीक्षक र प्रशिक्षकका रूपमा तथा सो कलेजको स्वास्थ्य सेवा व्यवस्थापन संकायका सल्लाहकारका रूपमा पनि हाल कार्यरत छन् । त्यस्तै जय नेपाल नामक गैर सरकारी संस्थाबाट सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको बुड गाउँ स्वास्थ्य केन्द्रका लागि सल्लाहकारको भूमिकामा रहेका छन् ।

उनी जिल्लाको समाजसेवा र राजनीतिमा समेत क्रियाशील व्यक्तित्व हुन् । नेपाली काँग्रेसको सिद्धान्त र नीतिलाई अख्तियार गर्दै सो पार्टीका महान् नेता बिपी कोइरालालाई आफ्नो आदर्श नेता मान्ने डा.सुमन मध्यम वर्गीय परिवारमा जन्मेका व्यक्ति हुन् । स्थानीय साँघुटारबाटै २०३६ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरेका कर्माचार्यले आइ एस्सी त्रिचन्द्र कलेजबाट र आफ्नो चिकित्सकीय शिक्षाको हेल्थ असिस्टेन्ट, एम्बीबीएस् चाहिँ टिचिङ हस्पिटल, महाराजगन्जबाट पूरा गरेका हुन् । पोखरा विश्वविद्यालय नेशनल ओपन कलेजबाट स्वास्थ्य सेवा व्यवस्थापन विषयमा स्नातकोत्तर (विशेषज्ञता) हासिल गरेका छन् ।

राजनीतिलाई निष्ठाको व्रत मान्ने कर्माचार्य दुःखी, गरिब, असहाय र छेउ लागेका वर्गप्रति सहानुभूतिशील रहने डा.कर्माचार्य सादा जीवन र उच्च विचारमा विश्वास मात्र राख्दैनन् त्यसलाई व्यवहारमै प्रयोग गर्न पनि पछि नपर्ने व्यक्ति हुन् । आफ्नो ड्युटीलाई पुरापुर कर्तव्य ठान्ने सुमनको काम गराइ एक्सन ओरिएन्टेड हुने गर्छ । ठिक कुरा र ठिक काममा विश्वास राख्ने उनले भनेका साना होस् या ठुला जुनसुकै काम पनि फत्ते गर्न पछि पर्दैनन् ।

उनी सदाचार र आचरणमा पनि निखुर लाग्छन् । उनले धेरै कविता र केही निबन्धहरू लेखेका छन् । उनीद्वारा लेखिएका दुई वटा कविता सङ्ग्रह ‘आत्माहरू बुद्ध भए’ र ‘देश दुखेको बेला’ प्रकाशित भएका छन् । नेपाली साहित्यका क्षेत्रमा क्रियाशील साहित्यिक पत्रिकाहरू मधुपर्क, रचना, अभिव्यक्ति, शारदा, शब्दाङ्कुर र स्वास्थ्य खबर पत्रिकाहरूमा उनका रचनाहरू प्रकाशित भइरहेका हुन्छन् ।

उनी स्वास्थ्य सेवामा उत्कृष्ट सेवा दिए बापत वि.सं २०७१ सालको उत्कृष्ट स्वास्थ्य पुरस्कारबाट समेत सम्मानित भएका छन् । लायन्स इन्टरनेसनल नेपालले सन २००४ मा उत्कृष्ट सभापतिका रूपमा र रामेछाप जिल्ला विकास समितिले वि.सं. २०६४ सालमा त्यस जिल्लामा उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरे बापत उत्कृष्ट चिकित्सकका रूपमा सम्मानित भएका थिए ।

कान्तिपुर लगायत देशका चर्चित राष्ट्रिय दैनिकमा उनका लेख रचनाहरू पढ्न पाइन्छ । उनले लेख्ने लेखहरू प्रायः उनका कार्यक्षेत्र तथा समाज र राजनीतिक विसङ्गति तिरै लक्षित हुन्छन् । उनी किशोर किशोरीका कथा र समस्यालाई आफ्ना तालिममा सगौरव सुनाउन मन पराउँछन् । जिल्ला र जिल्ला बाहिरका विभिन्न स्कुल तथा क्याम्पसहरूमा उनले हजारौँ किशोर किशोरीबिच जीवनोपयोगी शिक्षाका तालिम र वर्कसपहरू चलाइसकेका छन् ।

उनलाई रामेछाप जिल्लाका खास गरी निमुखा र गरिबहरूले ‘गरिबका डाक्टर’ भनेर चिनेका छन् । उनी गाउँ गाउँ गएर शिविर राख्न र निःशुल्क उपचार गराउने सिलसिलामा विभिन्न च्यारिटी र विभिन्न अस्पतालसँग साझेदारीमा काम गरिरहेका हुन्छन् । आफ्नो पेसा र सेवाका सिलसिलामा उनले जर्मनी, स्विटजरल्याण्ड, अस्ट्रिया, सिंगापुर, मलेसिया, ताइवान, दक्षिण कोरिया आदि देशको भ्रमण गरिसकेका छन् । दुई छोराका आदर्श पिता उनी काठमाडौँको जडीबुटीमा बस्छन् । उमेरका हिसाबले यतिखेर उनी फिप्टी प्लसमा हिँड्दै छन् ।

गोष्ठीमा भेटिँदा धेरै रसिक देखिने कवि डा.सुमन कर्माचार्य आफ्नो कार्यकक्षमा जब स्टेथेस्कोपमा सजिएर बिरामीका अगाडि हुन्छन् अनि केही कर्कश लाग्छन् । बिरामीलाई बिरामी तर आफन्तको जस्तो व्यवहार गर्नु उनको विशेषता हो । मैले कतिपय अस्वस्थताका अवस्थामा उनीसँग चिकित्सकीय सेवा लिएर ओखतीहरू लेखाई मागेको छु । उनी हाँस्दै र हँसाउँदै रोग खुट्टाउने काममा लागिरहन्छन् । उनको रोग निदान गर्ने पनि आफ्नै फर्मुला छ जुन सरल र सहज हुने गर्छ । बिरामीलाई उनी मित्रवत् व्यवहार गर्दछन् । यो नै उनको नरमपनाको कडी हो ।

मैले करिब अढाई दशकको समयावधिमा उनलाई चिनेका कुरा मेरो मन ज्ञानले थाहा पाएसम्म यिनै हुन् । छोटकरीमा भन्दा उनको सङ्गतबाट व्यक्तिगत र सामाजिक भावनाहरू पउल रूपमा सिक्न सक्छौँ ।