अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१३ | Colorodo: 00:28

मन्दिर रहस्य

विद्याप्रसाद घिमिरे २०७७ माघ २२ गते १२:३९ मा प्रकाशित

निबन्ध

मानिस जन्मनु संयोग हो । कुनै शिशुले आफ्नो इच्छा अनुसार म यही सम्प्रदाय वा धर्ममा जन्मन्छु भनी रोजेर जन्म लिँदैन । तसर्थ नवजात शिशु हिन्दु, मुस्लिम वा इसाई हुँदैन । उसले शुद्ध मानवको रूपमा यस धर्तीमा जन्म लिन्छ । जन्मपछि मातापिताले आफू आबद्ध रहेको परम्परा र रीतिरिवाजमा शिशुलाई समाहित गराउँछन्, धर्म र सम्प्रदायमा आबद्ध गराउँछन् । संस्कारको नाममा त्यस बालकमाथि नाम, थर, गोत्र आदि अनेकौँ रिवाज थपिँदै जान्छ । त्यो शिशु बिस्तारै श्याम, मोहम्मद वा जोन बन्छ । यही नाम, संस्कार र धर्म नै श्याम, मोहम्मद र जोनबिच कलहको कारक बन्छ । हजारौँ वर्षदेखि मानिसले समाजमा द्वन्द्व र झगडाको बिरुवा यसै गरी रोप्दै आएको छ र आउने पुस्तालाई त्यो बिरुवा हुर्काउने जिम्मेवारी सुम्पेको छ । हिजो आफूमाथि पनि अभिभावकले यसै गरी संस्कार थोपरिदिएका थिए ।

कुनै धर्मशास्त्र वा कानुनले झगडा, हत्या, झुट आदिलाई प्रोत्साहन दिएको पाइन्न, तर सबैभन्दा बढी हत्या धर्मको नाममा हुने गरेको तथ्याङ्क छ । भर्खर धर्ती टेकेको शिशुले आफ्नो साथमा नाम, धर्म, मद, घृणा, द्वेष, लोभ, अहम् लिएर आएको हुँदैन । उसको मन यस्ता सांसारिक प्रभावले दूषित भएको हुँदैन । निष्कपट, निश्चल, शान्त त्यस बालकमा वास्तविक मानवको छवि देख्न सकिन्छ । हुर्कने क्रममा जब उसले भाषा, धर्म, सम्प्रदायजस्ता कुरा सिक्छ, मानव–मानवबिच अन्तर विरोध र हिंसा बढ्न थाल्छ ।

यसरी धर्म र सम्प्रदायसँग आबद्ध बन्दै जाँदा मानिस धर्म र सम्प्रदायको दाश बन्छ । यो अम्मल बनेर नशामा फैलिन्छ । अन्त्यमा एक समय यस्तो आउँछ, चाहेर पनि परम्परारूपी यस अम्मलबाट ऊ बाहिर निस्कन सक्दैन । यस स्थितिमा आफू मरेर भए पनि मानिसले परम्परा बचाउँछ । मानिसलाई यो स्थितिमा पुर्‍याउने यहीँको समाज हो । उसले मान्दै आएको परम्परालाई त्याग्दा के क्षति व्यहोर्नु पर्छ र जोगाउँदा के उपलब्धि हुन्छ ? भन्ने विषयमा केही नबुझी केवल परम्परा बचाउने नाउँमा उसले आफूलाई मारिरहेको हुन्छ । हाम्रो समाजमा यस्ता अनगिन्ती रिवाज छन्, तिनको वास्तविकता के हो ? त्यस परम्परालाई अँगाल्नुको पछाडि कुनै वैज्ञानिक कारण पनि छ कि बेअर्थ त्यो बोझ बोकेर हिँडिरहेका छौँ ? यसतर्फ कसैले ध्यान गएको देखिन्न ।

“भीड” भेडो धातुबाट आएको हो । भेडोको प्रकृतिसँग मेल खाने समूहलाई भीड भनिन्छ । भेडो एकोहोरो हुन्छ । यही सोचले गर्दा अगाडिको भेडो जता जान्छ भेडाको पुरै समूह उसकै पछि लाग्छ । नाइके भेडो भिरबाट खस्यो भने साराका साराका सारा भेडा त्यही भिरबाट खसेर मर्छन् । नेता ठिक छ भन्ने मान्यतामा हिँडेका विवेक शून्य भेडाहरू अगुवा भेडो भिरबाट खसेको देख्दादेख्दै उसकै साथमा सती जान्छन् ।

मानव भीडको स्वभाव पनि भेडोभन्दा भिन्न देखिन्न । कुनै धार्मिक कार्यक्रममा हेर्नुभयो भने त्यहाँ धर्मगुरुको पछाडि हजारौँको भीड देखिन्छ । त्यस भीडमा कसैलाई तिमी किन यहाँ हिँडिरहेका छौ भनी सोध्नुहोस् । म बिना प्रयोजन कसैको पछि लाग्ने मानिस होइन भन्ने शैलीमा ऊ भन्छ, “म एक्लै हिँडेको छैन, देखेनौ यो विशाल समूह ? यो समूह त कुरो नबुझी पक्कै हिँडेको छैन !” अब धर्मगुरुतिर फर्किएर यो विशाल समूहलाई कता लैजाँदै हुनुहुन्छ ? भनी सोध्नुहोस् । ऊ भन्छ, “म सही छु कि गलत भन्ने प्रमाण यही भीडले दिन्छ । यदि म गलत छु भने यो विशाल समूह मेरो पछि किन हिँडिरहेको छ ?” यहाँ अनादिकादेखि यही नै चलिरहेको छ ।

धर्ममा मात्र होइन, यहाँ जताततै भीड छ । राजनीतिमा नै हेरौँ, नेताले हजारौँ कार्यकर्ता परिचालन गर्छ, जुलुस निकाल्छ । कार्यकर्ताहरू नेताको पछि लाग्छन् । वास्तविकता कसैलाई थाहा हुँदैन । नेता भन्छ म ठिक छु, त्यसैले यो विशाल समूह मेरो पछि छ । कार्यकर्ता ठान्छ, यो नेता ठिक छ, नभए यति ठुलो भीड उसको पछि किन हुन्थ्यो ? पछिबाट भीडले ठेल्दै जान्छ । नेतासहितको भीड अघि बढिरहन्छ । किन हिँडेको ? न कार्यकर्तालाई थाहा छ न नेतालाई ।

हामीले अँगाल्दै आएको परम्पराको स्थिति योभन्दा भिन्न छैन । हामीले नितान्त अनुत्पादक मानिएका कर्मलाई परम्पराको नाम दिएर त्यही बचाउने नाउँमा अथाह समय र पैसा बरवाद गरिरहेका छौँ । त्यो परम्परा हाम्रो लागि कति आवश्यक छ ? के हामीले त्यसको वास्तविक विज्ञान पत्ता लगाएका छौँ ? एउटै आधार छैन भने औचित्यहीन त्यसलाई त्याग्ने हिम्मत किन गर्दैर्नौं ?

परम्परासँग सम्बन्धित एउटा प्रसङ्ग यहाँ उल्लेख छ । नामको पछाडि “पानीदाता” लेख्ने मैले चिनेका एक भद्र छन् । सुत्ने कोठामा उनले भित्ताभरिको दराज राखेका छन्, सिसाको खापा रहेको त्यस दराजभित्र उनले एउटा मुढोमा रङ् दलेर राखेका छन्, साथमा चाँदीको एउटा कलात्मक करुवा देखिन्छ । सुरुमा मलाई यो सजावटकै एउटा उपाय होला भन्ने थियो । केही दिनपछि म उनको घरमा पुग्दा त्यही दराजभित्र धूप बलिरहेको देखेँ । साथमा ताजा फूल थियो । यसमा केही रहस्य छ भन्ने लाग्यो र सोधेँ । यसको बारेमा केही थाहा नभएको जानकारी मिल्यो । साथै “पानीदाता” लेख्ने चलन कहाँबाट आयो ? भन्नेमा पनि उनी अनभिज्ञ रहेछन् ।

आफूले अँगाल्ने परम्पराको रहस्य उनलाई नै थाहा छैन त सोध्न कहाँ जाने ? कलिलै उमेरमा मातृ वात्सल्य गुमाएका उनी आमा गएको केही वर्षमा पिताविहीन बन्न पुगेका थिए । पिताको देहान्तपछि पुरै टुहुरो बनेका उनलाई दाजुले हुर्काए र अध्ययनका लागि काठमाडौँ पठाए । पढाइमा तेज उनले आफ्ना सबै आवश्यकता छात्रवृत्तिबाट पूरा गरे । अध्ययनपछि रोजगारी राम्रो मिल्यो । आर्थिक स्थितिमा क्रमिक सुधार आयो । गाउँ तिरै विवाह गरेर उनले दाजुलाई भनेर जिल्ला सदरमुकाममा एउटा घर बनाउन लगाए । त्यही घरमा दाजु र आफ्नो परिवार राख्दै आएका उनले हालै ललितपुरस्थित एउटा आवास क्षेत्रमा घर बनाएका छन् । गाउँको मूल घरमा सानो दराजमा काठको डन्डी र तामाको करुवा राख्ने चलन रहेको उनले बताए । जिल्ला सदरमुकाममा बनेको घरमा समेत दाजुले यो परम्परालाई अँगालेको हुँदा आफूले पनि त्यसैको अनुसरण गरेको स्पष्टोक्ति दिए ।

त्यति बेला यत्तिमै कुरो टुङ्गियो । केही समयपछि कामको सिलसिलामा म उनको गाउँ पुगेँ । त्यहाँ “पानीदाता” थर भएकाहरूको बसोबासबारे पुराना मानिससँग सोधखोज गरेँ । त्यहाँ सबैकी सम्मानित एक वृद्धसँग कुराकानी गर्ने अवसर जुर्‍यो । उनी मेरा मित्र पानीदाताकी माहिली हजुरआमा परिछन् । अब भने केही सहज हुने भयो ।

मेरा मित्रका पिताको युवाकाल खोतल्दै ती आमाले भनिन्,–“बिचरा दुई लालाबाला छोडेर जहान गई, निकै दुःखले दुई छोरा हुर्कायो । बिहान सबेरै उठेर एक्लै सबै काम भ्याउँथ्यो ।” उनको कुराकानीमा म “पानीदाता” को प्रसङ्ग खोज्दै थिएँ, तर मैले खोजेको उत्तर आएको थिएन । मैले कुरो थपेँ, “साँचै उनीहरूको सुत्ने कोठामा काठको डन्डी र पानीको लोटा राख्ने चलन रहेछ नि ! तपाईँ त्यही परिवारको हुनुहुन्छ । आफ्नो कुलको यो चलन उनीहरूलाई थाहा छैन । यसको रहस्य बताइदिनु न ..।” मेरो कुरो सुनेर उनी आश्चर्यमा परिन् । “हैन कहाँ देख्नुभयो बाबु, यस्तो चलन ? हाम्रोमा त छैन” भन्दै उनी केही बेर अन्य कुराकानीमा अलमलिइन् ।

उमेरले परिपक्व उनमा इशाराबाट नै धेरै बुझ्न सक्ने क्षमता थियो । कुरैकुरामा उनी पुराना दिन सम्झन पुगिन् । मेरो “पानीदाता” मित्रको घरको स्थिति र यो चलनबिचको कडी जोड्नका लागि होला । केही अनुमान गरेझैँ उनले कुरो अघि बढाइन्, “बिहान झिसमिसेमा गाग्रीबाट पानी सार्दा निस्कने आवाजले बच्चाहरूको निद्रा बिथोलिए काममा बाधा पुग्छ भन्नेमा ऊ निकै होसियार थियो । अहिलेजस्तो तयारी मन्जन र बुरुस थिएन । ऊ अघिल्लो साँझ बारीतिर पस्थ्यो र दतिवनको छेस्को खोजेर लैजान्थ्यो । दाँत माझ्ने त्यो छेस्को र पानी सुत्ने कोठाको खोपोमा राखेर सुत्थ्यो । दौँतरीहरूले दतिवन र पानीसित जोडेर उसलाई “पानीदत्ते” भन्थे, कसैले “दत्तापानी” भन्थे । यस्ता ठट्टा त मैले धेरै सुनेकी थिएँ, तर के वास्ता हुनु ?

बिचरा साह्रै मिहिनेती र सिधा थियो । साँझ सुतेको मान्छे, के भयो ? सुतेकै ठाउँमा गएछ । ऊ बित्दा ठुलो छोरो चौध वर्षमा थियो, सानो आठमा । बाबु बितेपछि ठुलोले घर धानेर बस्यो र सानोलाई पढ्न पठायो । त्यै दतिवनको छेस्को र पानी…भन्दै बूढी आमा कुरोलाई अघि बढाउने तरखरमा थिइन् ।

यति सुनेपछि मलाई थप बुझ्नु थिएन । बाबुले सुत्ने कोठामा सधैँ पानी र काठको छेस्को राखेको देख्दै आएको छोरोले के प्रयोजनका ती सामान लागि राखिएको हो बुझ्न नपाउँदै बाबु गुमायो । उसले यो क्रमलाई फरक तरिकाले अँगाल्यो । गाउँमा “पानीदाता”को खलक भनी चिनिएको सो परिवारले बाबुलेझैं खोपोमा काठको छेस्को र एक लोटा पानी राख्यो । आर्थिक हैसियत बढेसँगै सदरमुकाममा घर बनाउँदा मूल कोठामा कलात्मक दराज बनाई काठको डन्डी र पित्तले करुवामा पानी राख्यो । उही परिवार जब राजधानी छि-यो भित्ताभिरको दराज बनाएर गज्जबको मुढोमा रङ् दलेर आकर्षक ढङ्गले राख्न थाल्यो, साथमा चाँदीको कलात्मक करुवाले स्थान पायो । त्यसमाथि सुगन्धित धूप र फूल थप्यो ।

माथिको प्रसङ्गले परम्परा कसरी सुरु हुन्छ भन्ने देखाउँछ । हामीले अँगालेका कतिपय परम्पराको वैज्ञानिक आधार नभएका हैनन् । हाम्रा केही रीतिरिवाज कुनै समय निकै महत्त्वपूर्ण थियो होला, तर समयले त्यसको औचित्य समाप्त पारिसकेको हुन सक्छ । माथिको प्रसङ्गसँग मेल खाने परम्परा हाम्रो समाजमा छन् भने तिनको वास्तविकता केलाउन आवश्यक छ । हामीले मान्दै आएका कतिपय चाडपर्व र जात्रा व्यक्ति–व्यक्तिबिच सद्भाव बढाउने, सामाजिक सेवामा आर्थिक टेवा दिने र आध्यात्मिक भाव जगाउने दृष्टिले निरपवाद महत्त्वपूर्ण छन्, तर धेरैजसो माथिको प्रसङ्गसँग मेल खाने खालका छन् ।

यो एक्काइसौँ शताब्दी हो । अहिलेको पुस्ताले कुनै पनि पुस्तक वा धर्मग्रन्थमा लेखिएको छ भन्दैमा त्यो कुरोलाई आँखा चिम्लेर विश्वास गर्दैन । ऊ हरेक पक्षमा प्रमाण र आधार खोज्छ । उसले खोजेको प्रमाण उपलब्ध गराइदिनु पुरानो पुस्ताको कर्तव्य हो । त्यसैले अबका दिनमा धर्म, संस्कृति र परम्परासँग सम्बन्धित हरेक पक्षमा नयाँ व्याख्याको खाँचो छ । यदि नयाँ पुस्ताले खोजेको आधार र प्रमाण दिन हामी सक्दैनौँ भने उसले सिङ्गो परम्परालाई नै खोक्रो ठान्छ । यसमा उसलाई दोष दिनु उचित होइन । यस स्थितिमा परम्परा वा संस्कृतिको लक्ष्मण रेखा देखाएर उसलाई यो सीमारेखा भित्र बाँधिएर बस्नुपर्छ भन्न सकिँदैन । ऊ परम्पराका सारा सीमालाई नाघेर बाहिर निस्कन्छ र स्वतन्त्र हुन्छ । त्यसैले अबका दिनमा कलम चलाउनेहरूले नयाँ पिँढीलाई सही दिशानिर्देश गर्नेतर्फ सचेत रही तर्कसहित उनीहरूको जिज्ञासा मेटाउन गम्भीर बन्न जरुरी छ ।

नयाँ पुस्तामा मन्दिरको औचित्य र अवधारणाबारे प्रशस्त जिज्ञासा छ । मन्दिर वैदिक सनातन धर्म र पूर्वीय सभ्यताको उपज हो । हिन्दु समाजले मन्दिरलाई पवित्र स्थान मान्दै आएको छ । यद्यपि हिन्द मात्र नभई हरेक धर्म सम्प्रदायले मन्दिरजस्तै स्थान बनाएको छ । आखिर मानिसले किन मन्दिरको आवश्यकता ठान्यो ? के प्रयोजनका लागि यस्ता स्थान स्थापित भए ? यस जिज्ञासामा प्रवेश गर्नुअघि पूर्वीय सभ्यतामा मन्दिरको अवधारणा कसरी विकास भयो भन्नेबारे चर्चा गरौँ ।

मन्दिरको सुरुआत कहिले, कहाँबाट भयो ? यसको ठोस आधार हामीसँग छैन । यसको रहस्य पत्ता लगाउन पश्चिमाहरूले वैज्ञानिक समूह बनाई व्यापक खोज र अनुसन्धान गरेका छन् । रहस्य बुझ्न वैज्ञानिकहरूले वैदिक साहित्य अध्ययन सुरु गरे । उनीहरूले जब अङ्ग्रेजीमा अनूदित वैदिक साहित्य पढे, साहित्यको भावभन्दा भाषामा अल्झिन पुगे । किनकि वैदिक साहित्यको मर्म उनीहरूले सुन्दै आएभन्दा फरक थियो । यस बेला उनीहरूमा अर्को जिम्मेवारी थपियो । अब उनीहरूले शास्त्रको उत्पत्ति, अर्थ र यसले मानिसको मनमस्तिष्कमा उत्पन्न गर्ने तरङ्ग आदिको विषयमा केही समय मिहिनेत गर्नुपर्ने भयो । यो समूहले पूर्वीय महिषीहरूको भनाइ र वेदका ऋचामा भेटिएको वास्तविक पक्षलाई केलाउँदै भनेको छ-

“परापूर्वकालमा गुरु मन्त्रद्वारा शिष्य दीक्षित हुन्थ्यो । यसरी दीक्षा दिँदा अरूले नसुन्ने गरी सुटुक्क कानमा सुनाउने गरिन्थ्यो । एउटै मन्त्र पचासौँ शिष्यलाई सुटुक्क कानमा सुनाउने, तर अरूले सुन्न हुँदैन भन्दै लेखेर दिने यो परम्परा ढोँगी भएको अनुमानमा हाम्रो अनुसन्धान केन्द्रित रह्यो । पछि सम्बन्धित विद्वानहरूबाट बुझ्दा मन्त्रको लिपि एउटै भए पनि उच्चारणमा भिन्नता रहेको पाइयो । मन्त्रको महत्त्व लिपिभन्दा श्रुतिमा रहेको रहस्य खुल्यो । संस्कृतका ऋचाको लिपि पढेर वास्तविक अर्थ खुल्न सक्दैन भन्ने पूर्वीय विद्वानहरूको भनाइमा सत्यता पाइयो । “संस्कृत शास्त्र” अर्थसहित अनुवाद गरेर बजारमा बिक्री गर्न राखिने कोरा पुस्तक होइन, यो अत्यन्त गहिराइको साहित्य हो । त्यसैले वैदिक शास्त्रको मर्मलाई “श्रुति” को माध्यमबाट मात्र बुझ्न सकिन्छ । वैदिक साहित्यको निर्माण नै श्रुतिलाई महत्त्वमा राखेर भएको छ । यसलाई सुनेर जति बुझ्न सकिन्छ त्यति लिपिका अक्षर पढेर बुझ्न सकिन्न । हरेक शब्दको उच्चारणमा अक्षरमाथि जोडदार धक्का दिँदै लय, आरोह–अवरोह आदिलाई विशेष ध्यानमा राखी साहित्य निर्माण गरिएको छ । ऋचा तयार गर्दा यसको उच्चारणले सुन्ने व्यक्तिको मस्तिष्कको व्यायाम हुन सकोस् भन्नेमा प्रशस्त ध्यान दिइएको छ । तसर्थ यो साहित्य सुन्ने व्यक्तिले जति लाभ लिन सक्छ, त्यो लाभ अनुवादित साहित्यको अध्ययन गर्नेले उठाउन सक्दैन ।”

करोडौँ डलर खर्चेर शोध र अनुसन्धान गरिएको मन्दिरको विषयमा अहिलेसम्म बाहिर आएका तथ्य र रहस्यले हामीलाई धेरै जानकारी दिएको छ । हरेक धर्म र सम्प्रदायले पूर्वीय परम्पराको सिको गरेर मन्दिरजस्तै पवित्र स्थान बनाएको छ । यो तथ्य पूर्वीय सभ्यतामा हुर्केकाहरूलाई सुखद लाग्न सक्छ ।

मन्दिर मनसँग सम्बन्धित शब्द हो । “जहाँ मन आनन्द, त्यहीँ मन्दिर” भन्ने कथन हाम्रो समाजमा प्रचलित छ । मन आनन्दित हुने स्थानलाई मन्दिर मानिने भए पनि “मन्दिर” जस्तो पवित्र शब्दको परिभाषा यति सङ्कीर्ण भने छैन । मानिसको एउटै मन कहिले सुराको नशामा आनन्द खोज्छ त कहिले पदको नशामा । नशा पनि एउटै कहाँ र ? कहिले धनको नशा त कहिले शक्तिको । यही मन कहिले सुन्दर नारी र पुरुषमा आनन्द खोज्न थाल्छ भने कहिले जुवाघरमा । यसरी मन आनन्दित हुनका लागि भिन्नभिन्न समयमा फरक–फरक विषय खोज्दै जाँदा मानिसले कहिल्यै आनन्द प्राप्त गर्न सक्दैन । मनको यो विचित्र स्वभावले गर्दा मानिसलाई कहिल्यै सन्तुष्टि मिल्दैन र सधैँ अतृप्त रहन्छ ।

पूर्वीय दर्शनले धन, पद, नशा, सुरा, शक्तिजस्ता वासनामा आनन्द खोज्नुलाई “विषय भोग” भनेर व्याख्या गरेको छ । यस्तो भोगले मनको तल्लो केन्द्रलाई प्रभावमा पार्ने हुँदा यसले मानिसलाई क्षणिक आनन्द मात्र दिन्छ । पूर्ण आनन्द दिलाउन नसक्ने यस्तो विषय भोगमा आशक्त हुँदै जाँदा यसले मानिसको मन, बुद्धि, धन र शक्तिलाई क्षीण बनाउँदै लैजान्छ भनी अध्यात्मदर्शन भन्छ । विषयभोगले केही समय मानिसलाई तृप्ति मिलेजस्तो भ्रम हुन्छ । केही क्षणमा पुनः सोही भोगका लागि मन आतुर हुन्छ । यसले मानिसलाई आनन्द दिनुभन्दा भोगको प्यासलाई अरू बढाउँछ ।

मनको तल्लो केन्द्रलाई प्रभावित बनाई आनन्द प्राप्त गर्ने उपायलाई पूर्वीय मनिषीहरूले “क्षुद्र उपाय” भनेका छन् । दिगो आनन्दका लागि मानिसलाई उर्ध्वमुखी उपाय आवश्यक रहेको तथ्यमा बल दिँदै मनिषीहरूले उर्ध्वगमनको मार्ग पत्ता लगाउन हजारौँ वर्ष खर्चेका छन् । “उर्ध्वगमनको यात्रा नैतिक यात्रा हो” भन्ने सूत्र पछिल्लो पुस्तालाई दिएका मनिषीहरूले समाजलाई माथि उठाउने प्रयत्न गरे । मनलाई आत्म जागरणको उचाइमा पुर्‍याउन आत्मचिन्तन र ध्यानको प्रयोग गरी उनीहरूले मनलाई स्थिर राखी आनन्दित हुने उत्तम माध्यम ध्यान नै रहेको प्रमाणित गरे ।

सुरुआती दिनमा विशेष आकारलाई सामुन्नेमा राखी उनीहरूले ध्यानलाई अघि बढाए । ध्यान गर्दा सामुन्ने राखिएको वस्तुको गुण र अवगुणमा विचार जाने र यसले ध्यानमा बाधा दिने समस्या आयो । ध्यानको यो विधिबाट चाहेको उपलब्धि हासिल हुन नसकेपछि कम उपयोगमा आउने वस्तुमाथि चिन्तन गर्न सके ध्यानमा एकाग्रता आउने अनुमानमा मनिषीहरूले ध्यानका लागि पत्थर रोजे । ढुङ्गोमाथि विचार केन्द्रित गरी बिस्तारै ध्यानलाई शून्यतिर एकाग्र गराउन ध्यानको प्रयोग गरे ।

यसरी बिस्तारै आकारबाट निराकारमा प्रवेश गर्दा ध्यानले आत्मजागरणमा सहजता ल्यायो । एकाग्र भई गर्नुपर्ने ध्यानको यो विधि कोलाहलयुक्त वातावरणमा सम्भव नहुने ठानी उनीहरूले निर्जन स्थल रोजे । डाँडाको निर्जन टुप्पो र नदीको किनार उनीहरूको रोजाइमा प-यो । यिनै स्थानमा आश्रम बनाई उनीहरूले ध्यानको समाधि बसाए । महापुरुषहरूले वर्षौँ आत्म जागरण अभ्यास गरेको सो स्थान समाजका लागि श्रद्धाको केन्द्र बन्यो । मनलाई स्थिर राख्ने यो स्थानलाई “मनस्थिर” भन्न थालियो । समय बित्दै जाँदा “मनस्थिर” “मन्दिर” बन्न पुग्यो र ध्यानका लागि राखिएको पत्थरचाहिँ पुजनीय मूर्ति बन्यो ।

“विज्ञान सिकाउने विषय हो भने कला सिकाउने विषय होइन ।” कोही व्यक्ति अध्ययन र अभ्यासबाट चिकित्सक बन्न सक्छ, तर कवि वा साहित्यकार बन्न सक्दैन । चिकित्सक बन्नु विज्ञानको पाटो हो भने साहित्यकार हुनु कला हो, जुन मानिसको अन्तर गर्भबाट स्वतः जागृत हुन्छ । मन्दिर पनि एउटा कला हो, मानिसले मन्दिरको कला स्वतः सिक्छ । मानिस हुर्केको सामाजिक प्रभावबाट उसले स्वतः मन्दिरलाई पुज्न थाल्छ । कुन बेला मन्दिर जाने, मन्दिरमा कुन विधिबाट प्रार्थना गर्ने, धूप र बत्ती कुन स्थानमा कसरी बाल्ने आदि ज्ञान विद्यालयमा गएर सिक्नु आवश्यक छैन । जब मानिसलाई मन्दिरको आवश्यकता महसुस हुन्छ, ऊ मन्दिरमा पुगेर हात जोडी प्रार्थनामा बसेको आफैले थाहा पाउँदैन ।

अर्को अर्थमा मन्दिर मनलाई शुद्ध बनाउनका लागि मन्त्र उच्चारण गर्न छुट्टाइएको पवित्र स्थल हो । वैदिककालका मानिसले मन्त्रलाई शास्त्र मान्थ्यो, मन्दिर प्रयोगशाला थियो । मन्त्र तयार भएपछि त्यसले के कति प्रभाव पार्छ भन्ने परीक्षण उनीहरूले मन्दिरमा गएर गर्थे । वैज्ञानिकहरूले प्रयोगशालामा पदार्थको परीक्षण गरेजस्तो पूर्वीय मनिषीहरूले मन्दिरलाई मन्त्र परीक्षण गर्ने प्रयोगशाला बनाएका थिए । यो प्रयोग गर्नका लागि मन्दिरको संरचनालाई विशेष महत्त्व दिइन्थ्यो ।

पुराना मन्दिरमा पुस्तौँदेखि हाम्रा पुर्खाहरू पुगेर शुद्ध भावनाका साथ प्रार्थना गर्थे । अहिले हामी पनि मन्दिर पुगेर प्रार्थना गर्छौ र आशीर्वाद माग्छौँ । कुनै उपायले हाम्रो काम बन्यो भने परमात्माले हाम्रो इच्छा पूरा गरिदिएको ठान्छौ । वास्तवमा मन्दिरमा रहेको मूर्तिले हामीमाथि कुनै कृपा गरेको हुँदैन न त चमत्कारिक वरदान नै दिएको हुन्छ । यसमा पनि अलग्गै विज्ञान छ । मन्दिरले हाम्रा पुर्खाको पवित्र आत्मा र हामीलाई एकै स्थानमा ल्याउने काम गरेको हुन्छ । हाम्रो सङ्कल्प पूरा गरी सहयोग गर्ने कृपा तिनै महान् आत्माहरूले गर्छन्, जुन हजारौँ वर्षदेखि पवित्र आत्मा बनेर मन्दिर परिसरमा घुमिरहेका हुन्छन् ।

मन्दिरको प्रसङ्गमा विश्वमा पाइने मन्दिरहरूको संरचनाबारे चर्चा गरौँ । हालसम्म विश्वमा तीन संरचनाका मन्दिरहरू निर्माण भएको पाइन्छ । पहिलो पशुपतिनाथ मन्दिरको शैली हो भने दोस्रो भारतको केदारनाथ मन्दिरको शैली हो । त्यस्तै तेस्रो शैली पनि भारतकै काशीस्थित विश्वनाथ मन्दिरको हो । आजसम्म जति पनि हिन्दु मन्दिर निर्माण भएका छन्, ती सबैको संरचना यिनै तीन शैलीमा छन् । यसमध्ये नेपालमा निर्मित अधिकांश मन्दिरको संरचना पशुपतिनाथ मन्दिरसँग मिल्दोजुल्दो छ भने भारतमा निर्मित मन्दिरहरू केदारनाथ र विश्वनाथसँग मेल खाने छन् । पछिल्लो समयमा निर्माण भएका केही मन्दिरहरूमा नयाँ प्रविधि देखाउने प्रयत्न भए पनि परम्परागत संरचनालाई त्यागेको देखिँदैन । पछि आएर मन्दिरका यी शैलीहरूको वर्गीकरण गरी शिखर शैली, पगोडा शैली र गुम्बज शैली भनी नामकरण भएको पाइन्छ ।

सन् १८४७ मा कलकत्तामा निर्मित दक्षिणेश्वर मन्दिर अन्यभन्दा थोरै भिन्न शैलीमा निर्माण भएको मन्दिर मानिन्छ। महारानी ह्रासमणिले बनाउन लगाएकी यस मन्दिर भिन्न शैली भएकै कारण पछिसम्म विवादित रह्यो । यहाँ पूजा गर्न कोही पुजारी मन्जुर नभएपछि ह्रासमणि चिन्तित भइन् । अन्त्यमा मन्दिरको अस्तित्व बचाउनका लागि प्रसिद्ध विचारक रामकृष्ण परमहंस लागि परे । उनले यस मन्दिरको प्राङ्गणमा लामो समय प्रवचन गरे भने केही अवधि त्यहाँ पुजारी बनेर बसे । यस मन्दिरलाई हालको सम्मान दिलाउन रामकृष्ण परमहंसको भूमिका छ ।

आज संसारभर नयाँ ढाँचाका संरचना निर्माण हुँदा पनि मन्दिरको स्वरूप भने हजारौँ वर्षदेखि उस्तै छ । आखिर मन्दिरको संरचनामा थोरै मात्र फेरबदल हुनासाथ विवादमा पर्नु र संरचनामा कहिल्यै सुधार हुन नसक्नुमा के रहस्य हुनसक्छ ? यससम्बन्धी लामो खोज गरी खोजकर्ताहरूले हालै नयाँ तथ्य बाहिर ल्याएका छन् । खोजबाट पूर्वीय सभ्यतामा निर्माण गरिएको मन्दिरको स्वरूप अत्यन्तै वैज्ञानिक रहेको तथ्य हात लागेको छ ।

मन्दिरमा उच्चारण गरिने मन्त्रध्वनिले मन्दिर परिसरको वातावरण गुञ्जायमान भइरहोस् भनी निर्माण पूर्व नै विशेष ध्यान दिइन्छ । सिलिन्डर आकारका निकै अग्ला देखिने हिन्दु मन्दिर बाहिरबाट हेर्दा धेरै तलाका देखिन्छन्, तर भित्र पुगेर हेर्दा तलाविहीन खोक्रो हुन्छ । भित्री भाग खोक्रो बनाउनुको अर्थ मन्दिरभित्र उच्चारण हुने मन्त्र ध्वनि लामो समयसम्म मन्दिरभित्रै तरङ्गित भइरहोस् भन्ने हो । मन्दिरभित्र उच्चारित मन्त्रको ध्वनि बाहिरी वातावरणमा विलीन हुन नपाओस् र मन्दिरभित्रै गुन्जिएर प्रतिध्वनि भइरहोस् भन्ने उद्देश्यले पुराना मन्दिरमा झ्याल राखिँदैन । मन्दिरभित्र गुन्जिने मन्त्र ध्वनि झ्यालको बाटो हुँदै बाहिर नजाओस् र सो ध्वनि तरङ्गले मानिसको मस्तिष्कमा पटक पटक चोट दिई मस्तिष्कको व्यायाममा सहयोग पुगोस् भन्ने सोचले यो व्यवस्था मिलाइएको हो ।

कृष्ण र शिवको मन्दिरमा चारैतिर ढोका राखिने भए पनि राम, देवी आदि देवीदेवताको मन्दिरमा एउटै मात्र सानो आकारको ढोका राखिएको हुन्छ, तर कुनै पनि मन्दिरमा झ्यालको व्यवस्था गरिएको हुँदैन । मन्दिरभित्र गुन्जिएको मन्त्रध्वनीको तरङ्ग बाहिर निस्किन नपाओस् भनी यस्तो गरिएको हो । मन्त्र ध्वनि ढोकाको बाटो हुँदै बाहिर निस्किएमा खुल्लामा पुग्नासाथ त्यो तरङ्ग विलीन हुन्छ । यो हुन नपाओस् भनी मन्दिरको छानोलाई जमिनतिर फर्काइन्छ । जमिनतिर फर्किएको छानोले मन्दिरबाहिर निस्किएको तरङ्गलाई मन्दिर परिसरमै गुन्जाइ रहन मद्दत गर्छ ।

मन्दिर परिसरमा घण्टहरू राखिन्छन् । घण्ट र मन्दिरका धेरै गुण समान छन् । एक त मन्दिरको स्वरूप जसरी तल्लो भाग मोटो र माथिल्लो भाग साँघुरो हुँदै गएको छ, घण्ट पनि यस्तै हुन्छ । मन्दिरको भित्र खोक्रो भएजस्तै घण्टभित्र पनि खोक्रो हुन्छ । यसको अर्थ घण्टलाई पनि मन्दिरकै प्रतीकको रूपमा देखाउन खोजिएको हो । घण्ट बजाउँदा निस्कने ध्वनि जसरी लामो समयसम्म गुन्जिरहन्छ, मन्दिरको स्वरूप पनि घण्टजस्तै भएको हुँदा मानिसले उच्चारण गरेको मन्त्र ध्वनि मन्दिरभित्र यसै गरी गुन्जिइरहन्छ भनी साङ्केतिक रूपमा बुझाउन यस्तो व्यवस्था गरिएको हो । घण्टको अर्को महत्त्वपूर्ण पक्ष भनेको मानिसमा रहेको सोचाइको धारमा बाधा पुर्‍याउनु हो । विचारशील मानिस स्वभावैले अनेकौँ विषयमा सोचेर हिँडिरहेको हुन्छ । मन्दिर प्रवेश गर्नुअघि विचारको तरङ्गलाई नतोड्ने हो भने अध्यात्म चिन्तनमा एकाग्रता आउँदैन । मन्दिरमा पुगेपछि जब व्यक्तिले घण्टको आवाज सुन्छ, एक्कासि सोचाइको प्रवाह टुट्छ र उसको ध्यान मन्दिरमा केन्द्रित हुन्छ ।

मन्दिरभित्र दीप प्रज्वलित गर्ने परम्परा छ । दीप बाल्नुको अर्थ झ्याल, ढोका कम भएको अन्धकार कोठामा प्रकाशको व्यवस्था गर्नु नै हो । मन्दिरमा दियो बाल्दा गाईको शुद्ध घिउमा बाल्ने धार्मिक नियम छ । अन्य ज्वलनशील तेलीय पदार्थले मानव स्वास्थ्यका लागि प्रतिकूल हुने रसायन उत्सर्जन गर्छ, जसले आँखा, नाक पोल्ने समस्या ल्याउँछ । गाईको शुद्ध घिउमा औषधिजन्य तत्त्व हुने र यसले आँखाको ज्योति बढाउने हजारौँ वर्षदेखिको हिन्दु मान्यता छ, जुन मान्यतालाई आज विज्ञानले समेत पुष्टि गरेको छ । यस्तो प्रकाशमा लामो समयसम्म हेर्न सकिने, जसले आँखाको दृष्टि क्षमतालाई बलियो बनाउने विश्वास छ । पूजा वा यज्ञको दीपलाई हातमा सेकेर आँखामा लगाउने प्रचलन अद्यापि छ । प्रकाशमा एकोहोरो हेर्दै गरिने दीपध्यान अहिले निकै प्रचलनमा छ ।

मन्दिर परम्परामा मानव हृदयलाई शान्त बनाई शारीरिक स्फूर्ति बढाउन सहयोग गर्ने धेरै वैज्ञानिक पक्ष छन् । विशेष गरी पुराना मन्दिर डाँडाको टुप्पोमा वा नदी किनारमा स्थापित छन् । मन्दिर जानका लागि के कारणले प्रातः काललाई महत्त्व दिइयो भन्ने अलग्गै विज्ञान छ । डाँडाको टुप्पोमा मन्दिर राख्दा मन्दिर जाने क्रममा मानिस हरेक बिहान उकालो चढ्छ र स्वस्थ हुन्छ । मानव स्वास्थ्यलाई विचार गरेर मन्दिरको स्थान चयन भएको देखिन्छ । नदीको किनारमा मन्दिर स्थापना गर्नुको अर्थ मन्दिर जानुअघि मानिसले बाध्य भएर स्नान गर्छ । बिहानीपख नदीको स्वच्छ पानीमा स्नान गर्दा मानिसमा स्फूर्ति बढ्ने सोचले नदी किनारमा मन्दिर स्थापना गरिएको पाइन्छ ।

कतिपय मन्दिरमा चढाउन मिल्ने र नमिल्ने गरी फूलको वर्गीकरण गरिएको हुन्छ । फूल भनेको रङ् र गन्धको स्रोत हो । रङ् र गन्धले मानिसको मन मस्तिष्कमा अत्यन्त गहिरो प्रभाव छोड्छ । यस विषयमा पूर्वीय समाजले धेरै पहिला नै खोज गरिसकेको छ । अहिले विज्ञानले समेत कतिपय रङ् र गन्धलाई कामवासना जगाउन प्रयोगमा ल्याएको छ । लामो खोज गरी ल्याइएका सयौँ पर्फ्युमहरू अहिले बजारमा बिक्री भइरहेका छन् । रङ् र गन्धले मानिसलाई बेहोस पनि बनाउँछ । यी सबै पक्षलाई विचार गरी ध्यानमा एकाग्र गराउने र मनलाई शान्त पार्ने खालको रङ् र फूल मात्र मन्दिरमा चढाउने चलन छ । मानिसको मनलाई विचलित बनाउने रङ् र दुर्गन्धयुक्त फूल मन्दिरमा वर्जित छ ।

सनातन वैदिक परम्परा अहिले विश्वका सम्पन्नशाली मुलुकहरूले समेत शोध र अनुसन्धान गर्ने विषय बन्दै गएको छ । पश्चिमाहरूले करोडौँ डलर खर्च गरी खोज र अनुसन्धान गरेको मन्दिर परम्परा पूर्णतः विज्ञानमा आधारित रहेको निष्कर्षहरू बाहिर आइरहेका छन् । यस परम्पराप्रति अहिले पश्चिमाहरूको विश्वास र आकर्षण बढ्दै गइरहेको छ । पूर्वीय वैदिक परम्पराको प्रभावले अन्य धर्म सम्प्रदायमा पनि पर्न गई मन्दिरजस्तै पवित्र स्थलहरू निर्माण भएको पाइन्छ । यस्ता स्थलहरूमा भड्किलो पोसाकमा जान नहुने, प्रकाशका लागि दीप प्रज्वलन गर्दा मैनबत्ती वा स्वास्थ्यमा प्रतिकूल असर नगर्ने खालका सामग्री बाल्नुपर्ने, सामूहिक भावना अभिवृद्धि गराउनका लागि समूहमा प्रार्थना गर्ने परिपाटी रहेको पाइन्छ ।

प्रतिक्रिया