अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१७ | Colorodo: 18:32

सुरभि साहित्य प्रतिष्ठानद्वारा स्रष्टा सम्मान, पुरस्कार वितरण तथा कृति विमोचन

बिआरटीनेपाल २०७७ माघ २० गते १५:०७ मा प्रकाशित

काठमाडौँ । सुरभि साहित्य प्रतिष्ठानले स्रष्टा सम्मान, पुरस्कार वितरण तथा कृति विमोचन गरेको छ । प्रतिष्ठानले गत शनिवार आफ्नो १३ औँ स्थापना दिवस मनाउँदै यसअघि घोषणा गरेको विभिन्न आख्यान विषयका पुरस्कार वितरण गरेको हो ।

सो अवसरमा प्रतिष्ठानले १२१ औ आख्यान वाचन, अभिनन्दन, पुरस्कार अर्पण, पुस्तक लोकार्पण तथा प्रमाणपत्र वितरण गरेको कार्यक्रम प्रतिष्ठानका संरक्षक वेदमणि घिमिरेले सभापतित्व मा सम्पन्न भयो । कार्यक्रममा शिक्षा सचिव गोपीनाथ मैनालीज्यूको प्रमुख आतिथ्य थियो भने विशिष्ट अतिथिमा प्रा डा. खगेन्द्रप्रसाद लुइटेल, डा . शैलेन्दुप्रकाश नेपाल, विजय चालिसे, युवराज मैनाली, प्रह्लाद चालिसे थिए । अतिथिमा डा. विदुर चालिसे, नरेद्रराज पौडेल, वसन्त रिजाललगायतको उपस्थिति थियो ।
कार्यक्रममा स्वागत तथा संस्थाको गतिविधिका सम्बन्धमा प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेल प्रकाश परे । डा. विदुर चालिसेले लघुकथा वाचनबाट कार्यक्रम आरम्भ गरे । कार्यक्रम सञ्चालन संस्थाका सहसचिव मेनका पोखरेल आचार्यले गरे ।

प्रमुख अतिथि शिक्षा सचिव गोपीनाथ मैनालीले डा. नवराज चालिसेलाई अभिनन्दन, प्रा माधव भँडारीलाई सुरभि–बाजुराम आख्यान साधना पुरस्कार नगद रु २०००१, तेजप्रकाश श्रेष्ठलाई सुरभि आख्यान पुरस्कार नगद रु २०००१, गोपाल अश्कलाई सुलेख आख्यान प्रतिमा पुरस्कार नगद रु १०००१, समिना खनाल ‘पृथा‘ लाई सुरभि–प्रह्लाद नारी आख्यान पुरस्कार नगद रु ७००१, वर्षा खड्कालाई सुरभि–वेदमणि आख्यान वाचन पुरस्कार नगद रु ५००१ वितरण गरे । त्यसै गरी २०७६ का कथा प्रतियोगिताका पुरस्कृत ‘अक्षान्त‘ ललिता दोषी, केशवराज ज्ञवाली, प्रवीण खड्का र लक्ष्मी रिजाललाई क्रमशः नगद रु १०००१, ७००१, ५००१, ३००१, र ३००१ तथा प्रमाणपत्र अर्पण गरे ।

सोही समारोहमा प्रमुख अतिथिले माधव भँडारीद्वारा लिखित ‘इतिवृत्त र सृजना’ बाजुराम पौडेलको ‘छोडिएका पाइलाहरू’ निबन्ध सङ्ग्रह, पवित्रा अधिकारीको कथासङ्ग्रह ‘देह उत्सव’ र समिना खनाल ‘पृथा’ को कथासङ्ग्रह ‘छोरीको डायरीबाट’ कृतिहरूको लोकार्पण तथा डा. शैलेन्दुप्रकाश नेपालले लोकार्पित कृतिहरूको समीक्षा–सम्बोधन गरेका थिए ।

पुरस्कार निर्णय समितिका संयोजक समेत रहेका प्रष्ठिानका संरक्षक युवराज मैनालीले पुरस्कारका उद्देश्य प्रक्रिया र शुद्धताका बारेमा प्रकाश पारे । अर्का संरक्षक विजय चालिसेले भाषा साहित्य कला संस्कृति र स्रष्टाहरूप्रति राज्यव्यवस्थाले अझे चासो नदेखाएको सन्दर्भ उल्लेख गरे । प्रा डा. खगेन्द्रप्रसाद लुइटेलले सिर्जना तथा पुरस्कार प्रदान प्रक्रियामा देखा परेका विकृतिप्रति व्यङ्ग्य गर्दै सुरभि साहित्य प्रतिष्ठानले गरेको पुरस्कारका पात्र छनोटका सम्बन्धमा प्रशंसा गरे ।

प्रमुख अतिथि शिक्षा सचिव गोपीनाथ मैनालीले भाषा साहित्य कला र संस्कृतिप्रति राज्य व्यवस्थाले क्रमशः सकारात्मक सोच निर्माण गर्दै यस क्षेत्रको समृद्धि र विकासका लागि उल्लेख्य उद्देश्य राखेको सन्दर्भ व्यक्त गर्दै साहित्य कला र संस्कृतिको समृद्धिका सुखद अनुभूतिका दिन चाँडै नै आउने आशा व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू