अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३० | Colorodo: 06:45

नेपालीघर कोलोराडोको दाताहरुमा हार्दिक अनुरोध

बिआरटीनेपाल २०७७ माघ २० गते १०:४१ मा प्रकाशित

कोलोराडोमा स्थापना गर्न लागिएको सम्पूर्ण नेपालीभाषीहरुको आफ्नै सामुदायिक भवन किन्नको लागि हालसम्म $१,000 (एक हजार डलर) भन्दा धेरै डोनेसन रकम एकमुस्ट जम्मा गरिसक्नुभएका अथवा नियमित डोनेसन प्रक्रिया (ACH) मा आबद्ध भई प्रतिबद्धता जाहेर गर्नुभएका दाताहरूमा हार्दिक आभार व्यक्त गर्दै सबै दाताहरूको नाम र फोटो सहितको पहिलो लिस्ट छिट्टै प्रकाशन गरिँदै छ । साथै यस अभियानमा निरन्तर थपिँदै जाने दाताहरूको लिस्ट पनि सोही अनुसार अपडेट गर्दै क्रमशः प्रकाशित गरिँदै जानेछ ।

तसर्थ हालसम्म डोनेसन जम्मा गरिसक्नुभएका, प्रतिबद्धता जाहेर गर्नुभएका र अहिले डोनेसन अभियानमा जोडिन चाहनु हुने सम्पूर्ण महानुभावहरूले यथाशीघ्र आफ्नो विवरण र फोटो उपलब्ध गराइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ ।

यो हामी सबैको आफ्नै सामुदायिक भवन स्थापना गर्ने अभियानमा कम्तीमा पनि कोलोराडोमा वसने कोही पनि नेपाल भाषी नछुटुन् भन्ने हाम्रो धारणा रहेको छ । हाम्रा थुप्रै स्वयंसेवकहरू सक्दो समय दिएर यसमा लाग्नु भएको छ । यदि तपाईंहामी मध्ये कोही यस अभियानको बारेमा थाहा पाएका छैनौँ अथवा जोडिन भ्याएका छैनौँ भने तुरुन्तै जोडिनुहुन अनुरोध गर्दछौँ । मलाई कसैले सोधेन, बोलाइएन अथवा सम्पर्क गरेन भनेर चुप लागि बस्ने होइन कि यो मेरो पनि अभियान हो, मेरो सन्ततिको लागि पनि एउटा सांस्कृतिक चिनो हो, मैले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने त भन्ने किसिमको भावना लिएर स्व स्फूर्त रूपमा अगाडि बढ्नुहुन हार्दिक अनुरोध गर्दछौँ । हो, सकिन्छ भने आफ्नो इच्छा र मान प्रतिष्ठा अनुसार जति सकिन्छ धेरै दिनुहोस् किनकि त्यसै अनुसार भवनभित्र दाताहरूको सम्मानको स्थान रहनेछ होइन भने पनि कम्तीमा १ हजार डलर (एकै पटकमा अथवा २४ महिना भित्र किस्तामा) डोनेसनको प्रतिबद्धता गरेर यो सामुदायिक भवनको एउटा महत्त्वपूर्ण हिस्सा बन्नुहुन सबैमा विनम्र अनुरोध गर्दछौँ ।

यस सहयोग सङ्कलन प्रकृयालाई अझबढि प्रभावकारी तुल्याउन निवर्तमान अध्यक्ष योगराज गौतमको अध्यक्षतामा ५ सदस्सीय एउटा विशेष कोर्डिनेशन समिति गठन भएको कुरा पनि जानकारी गराउँदछौँ । समितिका अन्य सदस्यहरूमा संस्थापक अध्यक्ष नारायण श्रेष्ठ, फाइनान्स कोर्डिनेटर डा सङ्गीता श्रोत्रिया र उपाध्यक्ष द्वय जगदीश ढकाल तथा सञ्जय सिंह के सी रहनुभएको छ। समितिलाई कोलोराडो भित्रै र बाहिर अन्य ठाउँमा रहेका विभिन्न नेपाल भाषी सामाजिक सङ्घ संस्था, बुद्धिजीवी र समुदायका सदस्यहरूसँग समन्वय गरी सबैलाई यस अभियानमा जोडने साथै सरकारी तथा गैर-सरकारी निकायहरू र अन्य दाताहरूको पहिचान गरी नयाँ आर्थिक श्रोतहरू जुटाउने जिम्मेवारी दिइएको समेत जानकारी गराउँदछौँ ।

त्यसैले हामीहरू जहाँ रहे पनि आफ्नो संस्कृति र पहिचान जोगाइ राख्नुपर्छ भन्ने मूल उद्देश्यका साथ कोलोराडोमा स्थापना गर्न लागिएको यो नेपालिभाषीहरुको सामुदायिक केन्द्रको लागि प्रपर्टी किन्ने अभियानमा कोलोराडोभित्र रहनुभएका नेपालीभाषीहरु मात्रै नभएर अरू स्टेट र विश्वका कुनै पनि ठाउँमा बस्नुहुने नेपालीभाषीहरुबाट समेत सहयोगको लागि हार्दिक अनुरोध गर्दछौँ ।

धन्यवाद ।

नेपालीघर परिवार
कोलोराडो, अमेरिका

 

प्रतिक्रिया