अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१० | Colorodo: 05:25

अवहेलनासम्बन्धी मुद्दामा पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखसँग सर्बोच्चले लिखित जवाफ माग्यो

बिआरटीनेपाल २०७७ माघ १५ गते ७:४६ मा प्रकाशित

अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ४ जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानासँग लिखित जवाफ माग गरेको छ । आज न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले पूर्वप्रधानन्यायाधिस मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की तथा पूर्वसभामुख ढुंगानालाई ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न भनेको हो ।

पूर्वप्रधानन्यायाधीशहरु विरुद्ध अधिवक्ता धनजीत बस्नेत र लोचन भट्टराईले छुट्टाछुट्टै अवहेलनाको मुद्दा दर्ता गराउनुभएको थियो । त्यस्तै पूर्वसभामुख ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरेले मुद्दा दर्ता गराउनुभएको थियो । ४ पूर्वप्रधानन्यायाधीशले संसद विघटन असंवैधानिक भन्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए ।

त्यस्तै पूर्वसभामुख ढुंगानाले सडकबाट न्यायाधीश तान्ने दिन नआओस् भनी टिप्पणी गर्नुभएको थियो । पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखको टिप्पणीले अदालतमा विचाराधीन संसद विघटनसम्बन्धी मुद्दा प्रभावित गर्न खोजेको निवेदकको जिकिर थियो ।

यसैबीच संसद विघटनको विषयमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको विषयमा आफ्नो धारणा राखेको भन्दै दर्ता भएको अदालतको अवहेलनासम्बन्धी निवेदनको विरोधमा सर्वोच्च अदालतमा अर्को निवेदन दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अधिवक्ता राजाराम घिमिरे, धनजीत बस्नेत र लोचन भट्टराईको विरोधमा निवेदन दिनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू