अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०१ | Colorodo: 15:16

श्रीमतीले छोडेपछि स्त्री जातिमाथि नै घृणा, १८ महिलाको हत्या

बिआरटीनेपाल २०७७ माघ १४ गते ७:१९ मा प्रकाशित

भर्खर विवाह भएकी श्रीमतीले छोडेर गएपछि एक व्यक्तिले १८ महिलाको हत्या गरेको खबर सार्वजनिक भएको छ । श्रीमतीले छोडेपछि सम्पूर्ण महिलाहरूसँग नै घृणा पैदा भएपछि ती व्यक्तिले १७ वर्षमा १८ महिलाको हत्या गरेको खुलासा भएको छ ।

भारतको हैदरावादस्थित जुबली हिल्समा एक महिलाको हत्याको अनुसन्धान गरिरहेको स्थानीय प्रहरीले सिरियल किलर रमुलुलाई पक्राउ गरेको हो । सिरियल किलरले पछिल्लो समय वेंकटम्मा नामकी युवतीको हत्या गरेका थिए । हत्यापछि उनले महिलाको अनुहारमा पेट्रोल हालेर आगो लगाइदिएका थिए । स्थानीय प्रहरीले २० दिनको अनुसन्धानपछि रमुलुलाई पक्राउ गरेको हो ।

४५ वर्षीय रमुलु शहरमा ढुङ्गा काट्ने काम गर्दै आएका थिए । अहिलेसम्म उनलाई २१ पटक प्रहरीले पक्राउ गरिसकेको छ, जसमध्ये १६ पटक हत्याको आरोपमा पक्राउ गरेको हो । रमुलुले अहिलेसम्म १८ महिलाको हत्या गरिसकेको खुलासा भएको छ ।

२१ वर्षको उमेरमा रमुलुको विवाह भएको थियो । विवाह भएको केही समयपछि उनकी श्रीमती अर्को पुरुषसँग भागेकी थिइन् । त्यसपछि उनले महिलाहरूको हत्या गर्न थालेको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय मिडियाले समाचार लेखेको छ । प्रहरीका अनुसार उनले सन् २००३ देखि नै हत्या गर्दै आएका थिए ।

रमुलुले एक्ला महिलाहरूलाई यौनसम्बन्धका लागि पैसाको लोभ देखाएर एकान्तमा लैजाने र उनीहरूको हत्या गर्दै आएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेर महिलाको हत्या गर्ने र बहुमूल्य सामानहरू चोरेर भाग्ने उनको शैली नै बनिसकेको थियो ।

२०११ मा केन्द्रीय कारागार चेरलापल्लीमा सजाय भोगिरहेका उनलाई स्थानीय मानसिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालबाटै उनीसहित ५ जना भागेका उनलाई ०१३ मा पुनः नियन्त्रणमा लिएर जेल हालिएको थियो ।

२०१८ मा उच्च अदालतले उनलाई छोड्न आदेश दिएको थियो । जेलबाट छुटेपछि उनले दुईवटा हत्या गरे र पुनः २ वर्ष जेल बसे । २०२० मा जेलबाट छुट्नेबित्तिकै उनले पुनः दुई महिलाको हत्या गरे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू