अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०३ | Colorodo: 04:18

मुख्यमन्त्री गुरुङद्वारा पोखरामा कोरोना विरुद्धको खोप शुभारम्भ

बिआरटीनेपाल २०७७ माघ १४ गते ६:५८ मा प्रकाशित

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा कोभिड १९ विरुद्धको कोभिशिल्ड खोप कार्यक्रम शुभारम्भ गर्नुभएको छ । केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले खोप कार्यक्रम शुरु गर्नुभपछि गण्डकी प्रदेशमा मुुख्यमन्त्री गुरुङले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट खोप कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

मुख्यमन्त्रीले स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यलाई खोप सामग्री हस्तान्तरण गर्नुभएपछि प्रदेशका ११ वटै जिल्लामा खोप अभियान शुरुवात भएको घोषणा गरिएको थियो । सरकारले पहिलो चरणमा कोरोना खोप स्वास्थ्यकर्मी तथा सरसफाइकर्मीलगायत कोभिड १९ महामारीविरुद्धको लडाइँमा अग्रभागमा खटिएकाहरुलाई लगाउने निर्णय गरेपछि गण्डकी प्रदेशमा पहिलो खोप पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रहनुभएका फिजिसियन प्रा डा बुद्धिबहादुर थापालाई लगाइएको छ ।

खोप लिएपछि प्राध्यापक थापाले संसारलाई हायलकायल बनाएको कोरोनाविरुद्धको खोपको प्रतीक्षामा सबै स्वास्थ्यकर्मी रहेकामा महामारी शुरु भएको एक वर्षभित्रमा खोप प्राप्त भएपछि गण्डकी प्रदेशभर सकारात्मक सन्देश जाने विश्वास आफूले लिएको बताउनुभयो । कार्यक्रममा मुख्यमन्त्री गुरुङले कोरोना महामारीविरुद्ध शुरुवाती शून्यताको अवस्थाबाट छोटो समयमा सुविधासम्पन्न प्रयोगशाला, स्वास्थ्य उपकरण तथा जनशक्तिका क्षेत्रमा महत्वपूर्ण सफलता हासिल भएको बताउनुभयो ।

गण्डकी प्रदेशका ११ वटै जिल्लास्थित जिल्ला अस्पतालमा माघ १८ गतेसम्म पाँच दिन पहिलो चरणको खोप कार्यक्रम सञ्चालन हुने स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । प्रदेशका सबै जिल्ला अस्पतालमा खोप लगाउने व्यवस्था मिलाइएको र पहिलो चरणमा सम्पूर्ण सरकारी, गैरसरकारी, निजी अस्पताल र मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयंसेविका र अस्पतालको फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारी गरी १७ हजार ६३० जनालाई खोप दिइने निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशका ११ वटै जिल्लामा खोप कार्यक्रम शुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू